नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सरकारी दुर्व्यवहारको शिकार
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सरकारी दुर्व्यवहारको शिकार भएका छन् । संवादको माध्यमबाट सुलह हुनसक्ने बिषयलाई चर्काएर नेता पौडेललाई बलपूर्वक गिरफ्तार गरेर सरकारले अप्रिय र निन्दनीय व्यवहार प्रदर्शन गरेको छ । सरकारको यो व्यवहारलाई ज्यादतिको संज्ञा दिँदै सर्वत्र निन्दा गरिएको छ । पौडेलमाथि दुर्व्यवहार गरेर सरकारले सर्वसत्तावाद लाद्न खोजेको भन्दै नागरिक तहमा समेत तिखो आलोचना भैरहेको छ ।
बुधबार दिउँसो तनहुँ जिल्ला व्यास नगरपालिकाको वडा नम्बर १ र ११ जोड्ने बुल्दी खोलाको पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएपछि परिस्थिति तनावपूर्ण बनेको थियो ।
नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल बुधबार स्थानीय उपभोक्ता समितिले सर्वसम्मत रुपमा निर्णय गरेर उद्घाटनका लागि पौडेललाई निमन्त्रणा गरेका थिए ।
स्थानीय उपभोक्ता समितिले सर्वसम्मतिबाट पौडेललाई निमन्त्रणा गरेको थाहा हुँदाहुँदै बल प्रयोग गरेर उनलाई जान नदिनु र हिरासतमै लिनुको उदेश्य र कारण कहिँकतैबाट पनि पुष्टि हुने देखिँदैन । निरंकुश पञ्चायतकालमा प्रतिपक्षी दलका नेता विरुध्द हुने गरेको दुर्व्यवहारलाई सम्झाउने गरी नेकपा सरकारले पौडेलमाथि अपमानजनक दुर्व्यवहार गरेको छ ।
नेता पौडेल राजनीतिक करिअरको पहिलो दिनदेखि लोकतन्त्र र नागरिक अधिकारको पक्षमा लडेका नेता हुन् । जेल नेल र यातनाको तीतो अनुभव सँगालेका उनले शान्ति र सम्वादको बाटो कहिल्यै पनि त्यागेको देखिँदैन । नेपाली कांग्रेसको सरकार छँदा जिम्मेवारी सम्हाल्दाको अवधिमा पनि नेता पौडेल आफ्नो लोकतान्त्रिक छवि जोगाएरै बसेका नेता हुन् भन्नलाई कन्जुस्याईँ गर्नुपर्दैन ।
सांसद् र प्रधानमन्त्री पदको प्रतिष्पर्धामा पराजित हुँदा समेत नेता पौडेलले आफ्नो शालिन चरीत्रलाई भड्किन नदिएको उदाहरण समकालिन नेताहरुका लागि सम्झन लायक बिषय हुनुपर्छ । तनहुँ उनको गृह जिल्ला हो भन्ने सरकार त के सबै नेपालीलाई थाहा भएको कुरा हो । राजनीति गर्ने जो कसैलाई स्थानीय सम्बन्धको ठूलो महत्व हुन्छ नै । सरकारको गृह प्रशासनले यति कुरा थाहा हुँदाहुँदै पनि कुत्सित उदेश्य पूरा गर्न नेता पौडेलमाथि दुर्व्यवहार गरेको बुझ्न सकिन्छ । यो घटनाले नेता पौडेलको राजनीतिक यात्रामा त रत्तिभर नकारात्मक असर पर्ने देखिँदैन तर सरकारको भने लोकतान्त्रिक वस्त्र उत्रिएको छ ।
यस घटनालाई लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता पौडेलमाथि भएको दुव्र्यवहारको चर्को आलोचना गरेका छन् । उनले सरकारलाई विरोधमा उत्पन्न परिस्थितिको सामना गर्न चेतावनीसमेत दिएका छन् । सभापति देउवाले विज्ञप्ति सार्वजनिक गर्दै नेता पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भएको आरोप लगाएका छन् । उनले घटना आपत्तिजनक एवं निन्दनीय भएको भन्दै सरकारको यो प्रवृत्तिविरुद्ध देशव्यापी विरोध हुने चेतावनीसमेत दिएका छन् ।
प्रमुख प्रतिपक्षी दलका नेता देउवाले यो घटनालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर विरोध गर्नु आवश्यक देखिन्छ । त्यतिमात्र होइन सरकारले यसका लागि सार्वजनिक रुपमा क्षमा माग्नुपर्छ । प्रधानमन्त्रीसँग लसपसमा छन् भनी आलोचित सभापति देउवाले नेता पौडेलमाथि भएको दुर्व्यवहारलाई विज्ञप्तिको विरोधमै बिर्सिदिए भने भोलि यस्तै व्यवहार उनी स्वयंले पनि भोग्नुपर्ने छ । त्यसकारण यस घटनामा सरकारसँग स्पष्ट धारणा मागेर भविष्यमा यस्तो नहुने प्रत्याभूति माग्न सक्नुपर्छ । प्रधानमन्त्री ओलीले पनि यसमा आफ्नो धारणा सार्वजनिक गरेर राजनीतिको मर्यादा जोगाउँदा उनको समेत साख बढ्नै नै छ ।