विराटनगर । असार १ गतेदेखि रेडियो र टेलिभिजनबाट कक्षा दशसम्मका विद्यार्थीहरुले घरमै बसेर आफ्नो पाठ्यक्रम अनुसार पढ्न पाउने भएका छन् ।
लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि एफएम रेडियो, टेलिभिजन र इन्टरनेट सेवा मार्फत सरकारले पढाउन सुरु गर्ने भएको हो । शिक्षा मन्त्रालयअन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको श्रव्यदृश्य शाखाले कक्षा एकदेखि आठ कक्षासम्मको असार १ गते देखि सुरु हुने पढाइ तालिका सार्वजनिक गरेको छ ।
असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटिभी प्लसबाट पढाइ हुनेछ । यस्तै कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने शिक्षा तथा मानव विकास स्रोत केन्द्र श्रव्यदृश्य शाखाले जानकारी दिएको छ।