
काठमाडौ । आइतबार १० जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालगञ्ज ९ र वीरगन्जमा एक गरेर १० जनामा कोरोना पोजिटिभ देखिएको हो।
वीरगञ्जका ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। अन्य ९ जना नेपालगञ्जका हुन्। नेपालगञ्जमा कोरोना पुष्टि हुनेमा पाँच पुरुष र चार महिला छन्।
योसँगै संक्रमितको संख्या ६९ पुगेको छ। १६ जना डिस्चार्ज भएका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइराखेको छ।
मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १३ हजार चार सय १४ र आरडीटी विधिबाट ५९ हजार ६ सय ८९ नमुना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा एक हजार ८ सय ७९ जनाको नमुना परीक्षण भएको छ।
प्रवक्ता देवकोटाका अनुसार अहिले २१ हजार ९ सय बढी क्वारेन्टाइनमा छन्। आइसोलेसनमा उपत्यकामा ४ र बाहिर ७३ गरेर ७७ जनाको उपचार भइराखेको छ।