काठमाडाैं । मनसुन शुुरु भएसँगै वर्षा हुन थालेपछि आगामी दुई दिन देशभरका ठूला तथा मझौला नदीको बहाव बढ्ने भएको छ । कर्णाली र सुदूरप्रदेशका नदी तथा खोलाको बहाव भने सामान्य मात्र बढ्ने छ । तर सबै नदी तथा खोलाको बहाव सतर्कता तहभन्दा तलै हुने जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
अबको दुई दिन प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का नदी तथा खहरे खोलामा पनि बहाव बढ्ने छ । केही खोलामा आकस्मिक बहाव बढ्न सक्ने भन्दै महाशाखाले सचेत गराएको छ ।
पूर्वानुमान महाशाखाले प्रकाशित गरेको बुलेटिनमा आज कोसी, कन्काई, कमला, बागमती, नारायणी, पश्चितम सेती बबई लगायत नदीमा बहाव बढ्ने जनाइएको छ । यी नदीका सहायक नदी तथा खोलामा पनि बहाव बढ्ने छ ।
बिहीबार प्रदेश १ का इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा र उदयपुर तथा प्रदेश २ को सप्तरीका नदी तथा खोलामा बाढीको बहाव बढ्ने छ । त्यस्तै प्रदेश ३ का सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन र काठमाडौँ उपत्यकाका खोला तथा नदीमा पनि बहाव बढ्ने छ ।
गण्डकी प्रदेशका तनहूँ, गोरखा, लमजुङ, कास्की, म्गाग्दी, पर्वत, बागलुङ, स्याङ्जा र प्रदेश ५ का नवलपुरासी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ, रोल्पा लगायत जिल्लाका नदी र खोलामा बिहीबार बहाव बढ्ने छ । कर्णाली र सुदूरपश्चिमका सल्यान, सुर्खेत, जाजरकोट, पश्चिम रुकुम, बाँकी, बर्दिया र डोटीका नदी र खोलमा पनि बहाव सामान्य बढ्नेछ ।