मोरङ । मोरङको बेलबारी नगरपालिका—४ बुधबारेमा एक युवाले बिहीबार आमाको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । इँटाले हानेर घर भित्रै ६१ वर्षीय आमा देवीकुमारी लिम्बूको हत्या गरेपछि तरकारी काट्ने चक्कुले घाँटी रेटेर ३१ वर्षीय काले भनिने जीवन लिम्बूले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालकाअनुसार इँटाले टाउकोमा प्रहार गरेर जीवनले आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले घर भित्रै लडिरहेको र भूइँमा रगत लतपतिएको अवस्थामा बिहान ११ बजे देवीमायाको शव भेटेको थियो । घरमा आमा छोरा मात्रै बस्दै आएका थिए । उनीहरुबीचमा कस्तो खालको विवाद भएर घटना भएको हो भन्ने खुल्न बाँकी रहेको प्रहरी निरीक्षक ढकालले बताए ।
प्रहरीले घटनास्थलबाट आमाको हत्यामा प्रयोग गरेको इँटा र जीवन आफूले पनि आत्महत्याका क्रममा घाँटी रेट्न प्रयोग गरेको चक्कु फेला पारेको छ । चक्कुले काटेर घाँटीको अगाडिको भागमा गहिरो चोट लागेर घाइते भएको अवस्थामा भेटिएका जीवनलाई प्रहरीले उपचारका लागि बेलबारीकै नोबेल सामुदायिक अस्पतालमा लगेको थियो । उपचारकै क्रममा १२ बजे उनलाई चिकित्सकले मृत घोषित गरेका हुन् ।
अविवाहित रहेका उनी लागुऔषध र मादक पदार्थ सेवनकर्ता रहेको र त्यसकै नसाको सुरमा आमाको हत्या गरेर आफूले पनि आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले आमा र छोरा दुवै जनाको शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पताल लगेको छ ।