माई नगरपालिका-४ की ८० वर्षीया सरस्वती पुलामी मगरले लगाएको सुनका गरगहना लुटपाट गर्ने तीन जना पक्राउ परेका छन् । प्रहरी चौकी दानावारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई आइतबार पक्राउ गरेको हो । आइतबारै बिहान ६ बजे वृद्धाले कान तथा घाँटीमा लगाएका विभिन्न प्रकारका सुनका गहनाहरू र नगद समेत लुटपाट भएको थियो । सूचना पाएपछि प्रहरी चौकी दानावारीबाट खटिएको टोलीले मेचीनगर-३ झापाका २५ वर्षीय कुमार मगर, ३१ वर्षीय मनोराज राई र अर्जुनधारा नगरपालिका-३ का ३४ वर्षीय सन्तोष मगरलाई पक्राउ गरेको हो ।
उनीहरूका साथबाट लुटपाट भएका सुनका गहना र नगद ४४ हजार ३१३ रुपैयाँ बरामद भएको छ । पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।