काठमाडौं । उपत्यकाभित्र चल्ने पास भएका सवारी साधन पनि आइतबार (आज) देखि सर्त अनुसार मात्रै चलाउनुपर्ने भएको छ । बन्दाबन्दीका बेला सवारी चलाउन पास लिइएका सवारी साधनहरुले नै निश्चित समयमा मात्र चल्नुपर्ने भएको हो ।

सरकारले सरकारी कर्मचारी, बैंक तथा वित्तीय क्षेत्र, दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री बोकेका तथा मालबाहक ठूला सवारीका लागि समय तोकेको हो । कार्यालय जाने सरकारी तथा नीजि क्षेत्रका कर्मचारीहरु पनि तोकिएको समयमा जाने र फर्किनुपर्नेछ ।
उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको प्रशासन, सुरक्षा अधिकारी तथा नीजि क्षेत्रका प्रतिनिधिहरुको छलफलले अत्यावश्यक सेवाका लागि चल्दै आएका सवारी साधनलाई समय तोकेको हो ।
सरकारले बन्दाबन्दीका बेला निश्चित कार्यालय तथा उद्योगधन्दाहरु सञ्चालन गर्न भनेपछि कार्यालयको काम र अत्यावश्यकीय वस्तु अनुसार समय निर्धारण गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आइतबारदेखि सरकारी कार्यालयका कर्मचारीहरु बिहान ९ बजेदेखि १० बजेसम्म कार्यालय जानुपर्ने र साँझ ५ देखि ६ बजेसम्म फर्किने समय तोकिएको छ ।
त्यस्तै बैंक तथा बित्तिय संस्थाका कर्मचारीका लागि पनि कार्यालय जाने समय बिहान ९ देखि साढे १० र फर्किने समय दिउँसो साढे ३ बजेदेखि ५ बजेसम्म तोकिएको छ ।
खाद्यान्न, तरकारी तथा अत्यावश्यक खाद्यय सामग्री बोकेका सवारी साधन बिहान १० बजे अगाडि नै ढुवानी गरिसक्नुपर्छ ।
निर्माण सामग्री बोकेका ठूला सवारी साधन मालवाहक ट्रक र ट्रिपरलाई बेलुका ८ बजेदेखि बिहान ६ बजे अगाडि मात्रै उपत्यकामा आवातजावत गरिसक्नुपर्ने दिइने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
अत्यावश्यक खाद्यान्न सामग्री बोक्ने सवारी साधन बिहान ४ देखि १० बजेसम्म चल्नुपर्ने छ । औषधिजन्य सामाग्री बोकेका र पानी बोकेका सवारी जुनसुकै समय चल्न पाउनेछन् ।
सरकारले शनिबारदेखि खोल्न पाइने जुनजुन निकाय तोकेको छ, सुरक्षा मापदण्ड पुर्याएर सञ्चालन गरे नगरेको सम्बन्धित निकायले हेर्छ र ती कार्यालयका सडकमा गुड्ने सवारी साधनकाे अनुगमन ट्राफिक प्रहरीले गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए ।
तोकिएको समयभन्दा अन्य समयमा चल्नुपरेमा पूर्व जानकारी गराउनुपर्ने अन्यथा नियन्त्रणमा लिएर कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ ।