काठमाडौँ । लकडाउन सुरु भएयता उपत्यकामा ५७ हजार बढी सवारी साधन कारवाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउन सुरु भएपछि जेठ २६ गतेसम्ममा उपत्यकामा ५७ हजार दुई सय २९ वटा सवारी साधन कारवाहीमा परेको जनाएको हो ।
ट्राफिक प्रहरीका प्रवक्ता जीवन कुमार श्रेष्ठका अनुसार ति मध्ये ५१ हजार ६९ वटा दुईपाङ्ग्रे र छ हजार १६० वटा चार पाङ्ग्रे सवारी साधन रहेका छन् । लकडाउन अवधिमा बिना पास सवारी चलाएकोले ति सवारीसाधानलाई होल्ड गरिएको प्रबक्ता श्रेष्ठले बताए । यसरी होल्ड भएका सवारीसाधनलाई प्रहरीले सोहि दिन वा भोलिपल्ट कागजात सम्बन्धित गाडी धनीलाई जिम्मा लगाउने गरेको छ ।
प्रहरी प्रधान कार्यालयले यस अवधिमा देशभर १ लाख बढी सवारीसाधन नियन्त्रणमा लिइएको जनाएको छ । प्रहरी प्रबक्ता निरज बहादुर साहीले देशभर १ लाख ११ हजार ८ सय ८ सवारीसाधन नियन्त्रणमा लिइएको बताएका हुन् ।