नेपालगन्ज । बाँकेमा शुक्रबार १३ जना कोरोना भाइरस पोजेटिभ देखिएका नागरिकलाई स्थानीयले भगाएका छन् । कोरोना संक्रमित नागरिकलाई लिन गएकाे एम्बुलेन्सलाई घेरेर स्थानीयले संक्रमित व्यक्तिहरूलाई भगाएका थिए ।
शुक्रवार बाँकेमा १४ जना थप कोरोना संक्रमित फेला परेका थिए । फेला परेका १३ जना नरैनापुरका थिए भने १ जना राप्तीसोनारी गाउँपालिकाका नागरिक थिए । नरैनापुर क्वारेन्टाइनमा रहेका १३ जना कोरोना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गर्न ल्याउन पुगेका एम्बुलेन्सलाइ घेरेर स्थानीयले भगाएको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।
एम्बुलेन्सलाई अगाडि जान नदिएर उनीहरुले संक्रमित व्यक्तिलाई भगाएका थिए, जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी शिव सिंहले भन्नुभयो । गाउँलेले यतिसम्म गर्न नहुने उहाँले बताउनुभयो । शुक्रबार नै थप जनशक्ति प्रयोग गरेर उनीहरूको खोजी गरी नियन्त्रणमा लिएको समेत उहाँले जानकारी गराउनुभयो ।
भागेकामध्ये १२ जनालाई शुक्रबारै स्थानीयकै आपबयिया, खेतबारी लगायतका ठाउँमा लुकिछुपी रहेकाे अवस्थामा पक्राउ गरिएको डिएसपी सिंहले जानकारी गराउनुभयो । एक जनालाई भने शनिबार बिहान पक्राउ गरी अहिले नेपालगन्ज आइसाेलेलेसनमा ल्याइएको उहाँले जानकारी गराउनुभयो ।
अहिले फरार रहेका सबै कोरोना संक्रमितलाई नेपालगन्जको लायन्स डेन्टल अस्पतालको आइसोलेसनमा राखिएको डिएसपी सिंहले बताउनुभयो । हाल नरैनापुर क्षेत्रमा मात्र करिव ३-४ सयको हाराहारीमा प्रहरी परिचालन गरिएको उहाँकाे भनाइ छ ।