कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ को पर्सियास्थित स्वतन्त्र मावि क्वारेन्टाइनमा जेठ २२ मा २२ जनाको स्वाब संकलन गरिएको थियो । आठ दिनसम्म पनि परीक्षण रिपोर्ट नआएपछि उनीहरू सबैलाई शुक्रबार घर पठाइयो । तिनैमध्ये १४ जनामा कोरोना संक्रमण देखिएको छ । क्वारेन्टाइनबाट घर गएको दोस्रो दिन आएको रिपोर्टमा संक्रमण पुष्टि भएको हो ।
हामीले चार सातासम्म क्वारेन्टाइनमा राखिसकेका थियौं । स्वाब जाँच्न पठाएको पनि एक साताभन्दा बढी भएको थियो लालझाडी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश साहुले भने क्वारेन्टाइनमै कति दिन राख्ने रु फेरि रिपोर्ट पनि निकै ढिला आइरहेको छ । लालझाडीमा शनिबार संक्रमण पुष्टि भएका १५ मध्ये १४ जना एकै क्वारेन्टाइनबाट घर गएका हुन् । उनीहरूको आइतबार साँझसम्म पनि खोजी हुन सकेको छैन ।
महाकाली नगरपालिका–९ मा पनि क्वारेन्टाइनबाट घर पठाएको दोस्रो दिन आएको रिपोर्टमा तीन जनामा संक्रमण पुष्टि भएको छ । रिपोर्ट ढिलो आउँदा क्वारेन्टाइनमा रोक्नै सकिएन, महाकाली नगरका स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराले भने १० र १२ दिनसम्म पनि रिपोर्ट नआएपछि कति दिन थुनिराख्नु।
शनिबार कञ्चनपुरमा विभिन्न स्थानीय तहका २१ जनामा संक्रमण पुष्टि भएको थियो । तीमध्ये १५ जना लालझाडीका हुन् । लालझाडीको शंकरपुर स्वास्थ्य चौकीका एक स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएको साहुले जानकारी दिए । लालझाडीमा यसअघि पनि एक जनामा संक्रमण देखिएको थियो । स्वास्थ्यकर्मीबाहेक सबै संक्रमित भारतबाट घर आएकाहरू हुन् ।कान्तिपुर दैनिकबाट