20.1 C
Kathmandu
Wednesday, November 29, 2023
Homeराष्ट्रियकर्णाली प्रदेशका मुख्यमन्त्रीसहित १६५ को कोरोना रिपोर्ट नेगेटिभ

कर्णाली प्रदेशका मुख्यमन्त्रीसहित १६५ को कोरोना रिपोर्ट नेगेटिभ

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्री तथा प्रदेशसभा सदस्यसहित १६५ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बिहीबार प्रदेशसभा सदस्य, कर्मचारी र सुरक्षाकर्मी गरी १६५ जनाको ‘नोजल स्वाब’ सङ्कलन गरिएको थियो । जेठ ११ गते प्रदेशसभाको आह्वान गरिइएको छ । मुख्यमन्त्री शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले ‘नोजल स्वाब’ दिनुभएको थियो ।

त्यसैगरी कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाही, उपसभामुख पुष्पा घर्तीलगायत ४० प्रदेशसभा सदस्य, सुरक्षाकर्मी, मर्यादापालक कर्मचारी, सवारी चालक र केही पत्रकारसहित १६५ जनाको ‘नोजल स्वाब’ आरटी पिसिआर विधिबाट परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा चेतनारायण अधिकारीले जानकारी दिनुभयो ।

प्रदेशसभा सचिव जीवराज बुढाथोकीले सबैको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको र यसले निर्धारित मितिमा बैठक शुरु हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रदेशसभाभित्र प्रवेश गर्ने सबैले अनिवार्य मास्क, पञ्जा लगाउनुपर्नेछ । सामाजिक दूरी कायम गरेर सदस्यहरुलाई आशनग्रहण गराउने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो । सामाजिक विकासमन्त्री दल रावलले प्रदेशसभा सचिवालयलाई कोभिड–१९ विरुद्ध अपनाउनुपर्ने सबै सावधानीमा सरकारले सहयोग गर्ने बताउनुभयो ।

बबईमा ४५० को आरडिटी, पाँच जनामा पोजेटिभ

कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वार बबई सीमानाकामा बिहीबार बेलुकासम्म आइपुगेका कर्णालीवासीको आरडिटी विधिवाट कोरोना परीक्षण गरिएको छ । चारसय ५० जनामा आरडिटी परीक्षण गरिएकोमा पाँच जनाको रिपोर्ट पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो । “आरडिटीको क्रममा पाँच जनाको शङ्कास्पद देखिएपछि हामीले उनीहरुलाई पिसीआर परीक्षणका लागि सुर्खेतमा ल्याएका छौँ”, उहाँले भन्नुभयो, “पिसीआर रिपोर्टपछि ती पाँच जनाको व्यवस्थापन गरिनेछ ।”

यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले बबई नाकामा पुगेका कर्णालीवासी नागरिकलाई सम्बन्धित जिल्लामा पठाइएको बताउनुभयो । सूचना अधिकारी रायमाझीका अनुसार जुम्लाका लागि एक, जाजरकोट दुई, कालिकोट दुई, अछाम दुई, सल्यान नौ, सुर्खेत ११ र दैलेखका लागि २४ गाडी गरेर उनीहरुलाई पठाइएको छ । उहाँका अनुसार सबै गरेर ४१ गाडीमा नागरिकको उद्धार गरी सम्बन्धित जिल्लामा पठाइएको हो ।

पछिल्लो समय भारतबाट नेपाल भित्रिने कर्णालीवासीको सङ्ख्यामा वृद्धि भएको छ । हजारौँको सङ्ख्यामा कर्णालीवासी घर फर्कन थालेपछि प्रदेश सरकारलाई व्यवस्थापन गर्न चुनौती थपेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले जानकारी दिनुभयो ।“सीमानाकामा रहेको भेरीगङ्गा नगरपालिकाले स्क्रिनिङ सेन्टर स्थापनामा असहयोग गरेपछि बबईमा आइपुग्नेको आरडिटी जाँच, खान बस्नलगायतका समस्या बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “यसमा स्थानीय सरकार पनि संवेदनशील र सहयोगी बन्न जरुरी छ ।” यो सङ्कटको बेला बबई सीमानाकासँग जोडिएका स्थानीय तहको बेवास्ताले गर्दा कर्णालीका गाउँगाउँमा सङ्क्रमित जाने खतरा बढेको उहाँको भनाइ छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments