30.5 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
Homeराष्ट्रियकिट अभाव हुँदा भारतबाट आएका नागरिक परीक्षणबिनै नेपाल प्रवेश

किट अभाव हुँदा भारतबाट आएका नागरिक परीक्षणबिनै नेपाल प्रवेश


कैलालीमा कोरोना परीक्षण गर्ने किटको अभाव हुँदा भारतबाट आएका नागरिकलाई स्वास्थ्य जाँचबिनै नेपाल प्रवेश गराउन थालिएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीको तथ्यांकअनुसार यो सातामात्रै कैलालीको गौरीफण्टा नाकाबाट पाँच हजार दुई ६७ जना नेपाली भित्रिएका छन्। उनीहरु भारतका विभिन्न सहरबाट नाकासम्म आएका हुन्।

‘कोरोना परीक्षण गर्न आरडिटी किटको अभाव छ,’ प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भने, ‘यही बेला भारतबाट फर्किएका नेपालीको सीमा क्षेत्रमा ओइरो लाग्न थालेपछि बिना जाँच नै स्थानीय तहमा पठाउन थालेका छौँ।’

यो नाका भएर बिहीबार मात्रै दुई हजार चार सय ९५ र शुक्रबार दुई हजार १४ जना भित्रिएका छन्। उनीहरुमध्ये ६ सय ७० जनाको मात्रै आरडिटी जाँच गरिएको छ। भारतबाट फर्केकाहरुलाई सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर पठाउने गरिएको प्रजिअ बोहराले बताए।

कैलाली जिल्लाका अन्य नाकाबाट पनि नेपालीहरु घर फर्कन थालेका छन्। उनीहरुलाई स्वास्थ्य जाँचबिनै पठाउँदा गाउँगाउँ कोरोना संक्रमण फैलने जोखिम बढ्दै गएको छ। सयौँको संख्यामा फर्किरहेकाले सामाजिक दूरीसमेत कामय गरेका छैनन्।

भारतमा कोरोनाबाट अत्यधिक प्रभावित सहरहरुबाट समेत नेपालीहरु फर्किरहेकाले संक्रमण भित्रिनसक्ने जोखिम उच्च रहेको चिकित्सकहरुले बताएका छन्।

‘भारतबाट सयौँको संख्यामा फर्केका नेपालीहरु गाउँगाउँ पुगेका छन्। यसले जोखिम बढाएको छ,’ सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा.गुणराज अवस्थीले भने, ‘अहिले ध्यान दिइएन भने प्रदेशमा कोरोना संक्रमण महामारीको रुपमा फैलिने जोखिम छ।’

क्वारेन्टाइनमा राखिएकाहरुसँग सामाजिक दुरी कायम गर्नु अत्यन्तै आवश्यक रहेको उनले बताए। नेपालमा हालसम्म देखिएका संक्रमितमध्ये अधिकांश भारतबाट फर्केका र भारतबाट फर्केकाहरुसँग को को सम्पर्कमा आएका छन्।

प्रदेश सरकारले आरडिटी किट र जनशक्ति अभावले सिमा नाकामै सबैको परीक्षण संभव नभएको जनाएको छ। सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले प्रदेशमा आरडिटी किटको अभाव रहेको बताए। ‘आरडीटी छैन, सबैलाई क्वारेन्टाइनमा राखेर १४ दिनभित्र जाँच गर्ने भनेका छौँ,’ उनले भने, ‘स्थानीय तहको समन्वयमा फर्केकाहरुलाई सम्बन्धित पालिकामै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ।’

आरडिटी किटका लागि संघीय सरकारलाई आग्रह गरिएको र प्रदेशले पनि आफैँ खरिद गर्न लागेको मन्त्री सुवेदीले बताए। तीस हजार किट आरडिटी र पिसीआर जाँचका लागि दुई हजार भिटिएम खरिद प्रकृया अगाडि बढाइएको उनले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशमा हालसम्म १० जनामा कोरोना संक्रमण भेटिएको छ। संक्रमित पाँच जना निको भएर घर फर्किसकेका छन्। शुक्रबारमात्रै पाँच जना संक्रमित भेटिएका छन्।

प्रदेशमा हालसम्म २३ हजार ९ सय ७० जनामा कोरोना जाँच गरिएको छ। यीमध्ये १९ हजार ८३२ जनाको आरडिटी प्रविधिबाट जाँच गरिएको हो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments