22.1 C
Kathmandu
Monday, May 29, 2023
E Sewa
Homeअन्तरराष्ट्रियकुवेत सरकारले आफ्नै खर्चमा नेपाली नागरिकलाइ स्वदेश पठाइदिने

कुवेत सरकारले आफ्नै खर्चमा नेपाली नागरिकलाइ स्वदेश पठाइदिने


काठमाडौँ । विदेशमा समस्यामा परेर फर्कने नेपालीको कोरोना जाँच गन्तव्य देशमा कसरी हुन्छ भन्ने अन्यौल भइरहेका बेला कुवेतमा आममाफी पाएर फर्कने दिन कुरिरहेका नेपालीको कोरोना जाँच पनि कुवेत सरकारले नै गरिदिने भएको छ ।

कुवेतमा भिसाको म्याद सकिएका र रोजगारदाता परिवर्तन गरेर गैरकानुनी भएका झण्डै तीन हजार नेपाली कुवेत सरकारले दिएको आममाफीमा सहभागी भएर स्वदेश फर्कने दिन कुरिरहेका छन् ।

नेपाल सरकारले स्वदेश फर्कने नेपालीसँग कोरोना जाँचको प्रमाण हुनुपर्ने मापदण्ड बनाएको छ । आममाफीमा सहभागी भएकाको कोरोना जाँचसहित कुवेत सरकारले आफ्नै जहाजमा नेपालसम्म पुर्‍याइदिने कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जनाकारी दिनुभयो । अन्यको हकमा भने कतिपय कम्पनीले पनि गरिदिन सक्छन् भने कतिले व्यक्ति स्वयंले नै पनि गर्नुपर्ने हुन्छ । तर यसबारे अझैं के प्रावधान हुन्छ भन्नेबारे टुङ्गो नलागेको राजदूत भण्डारीको भनाइ छ ।

कुवेतमा मात्र होइन अरु देशबाट स्वदेश फर्कने नेपालीको पनि कोरोना जाँच गरेको प्रमाण हुनुपर्ने भनिए पनि कसरी र कसले गर्न पर्ने भन्ने यकिन भइसकेको छैन। कतारमा रहेको नेपाली दूतावासले भने छलफल यसबारे भइरहेको र छिट्टै कुनै उपाय बताउने बताएको छ ।

पाँचदेखि ८ हजारसम्म फर्कने अनुमान

कुवेतमा पहिलो प्राथमिकतामा आममाफीमा सहभागी भएर स्वदेश फर्कने दिन कुरिरहेका झण्डै तीन हजार नेपाली छन् । तर कुवेतले अहिले उडानको प्रस्ताव मागेको छैन । कुवेतले उडानको प्रस्ताव पठाएपछि उनीहरुको स्वदेश फिर्ती सुरु हुनेछ ।

त्यसपछि घर फिर्ती केन्द्रमा रहेका, रोजगारी गुमाएका, महिला, गर्भवती, बिरामी लगायत सरकारले तोकेको प्राथमिकतामा परेका नेपाली स्वदेश फर्कनेछन् । उनीहरुको सङ्ख्या पाँच हजारदेखि ८ हजारसम्म हुनसक्ने राजदूत भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो आममाफीमा सहभागी झण्डै तीन हजार र अरु चारदेखि पाँच हजारसम्म हुनसक्ने अनुमान छ तर यो सङ्ख्या बढ्न सक्छ हामी अझै पनि तथ्याँक सङ्कलन गरिरहेकै छौं ।’

आममाफीमा सहभागी भएकाको हकमा कुवेत सरकारले नै विमानस्थलसम्म ल्याइदिने हुँदा यहाँको व्यवस्थापनमा मात्र सरकारले गर्दा हुन्छ । तर अन्य विभिन्न समस्यामा परेकाको हकमा भने व्यक्ति स्वयंले नै टिकट काट्न पर्ने अवस्था पनि रहेको छ ।

दूतावासले कति जना त्यस्ता व्यक्ति हुन्छन् भन्ने विवरण सङ्कलन गरिरहेको छ र त्यसबारे परराष्ट्रलाई जानकारी गराउनेछ । कुवेतका दुई कम्पनीले दूतावासलाई आफ्नै खर्चमा चार्टर्ड जहाजमार्फत पठाइदिने प्रस्ताव गरेका छन् । यी कुवेतका ठूला कम्पनी हुन् र श्रमिकको सङ्ख्या पनि धेरै छ । तर कतिपय श्रमिक थोरै भएका कम्पनीले भने मिलेर पठाउने खालको प्रस्ताव पनि आउन सक्ने राजदूत भण्डारीको भनाइ छ ।

अरु देशबाट फर्कने कति ?

तथ्याँक अनुसार मध्यपूर्वका देशबाट मात्रै स्वदेश फर्कन खोज्ने नेपालीको सङ्ख्या ४० हजारभन्दा धेरै रहेको छ । यूएईमा १८ हजार, कतारमा ८ हजार ४ सय, मलेसियामा ६ हजार २ सय, साउदी अरेबियामा ६ हजार ५ सय, बहराइनमा ९ सय र ओमनमा ७ सयजनाको प्रारम्भिक सूची छ ।

शुक्रबार यूएई र म्यानमारमा समस्यामा परेकामध्ये केही नेपाली आज स्वदेश फर्कने भएका छन् । यूएईबाट एअर अरेबियाको चार्टर्ड जहाजमार्फत १६८ जना यात्रु तथा एक शवसहित जहाज आउने निश्चित भएको नेपाल नागरिक उड्डयनका प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री जानकारी दिनुभयो । शुक्रबार नै म्यानमारमा रहेका २६ जना नेपालीलाई स्वदेश फर्कनेछन् ।

काम नभएर त्यहाँ अलपत्र अवस्थामा रहेका नेपाली श्रमिकलाई नेपाली दूतावासको पहल र म्यानमार सरकारको सहयोगमा नेपाल फर्काउन लागिएको हो । विभिन्न कारणले स्वदेश फर्कन खोज्ने नेपालीको सङ्ख्या धेरै भए पनि सरकारले प्राथमिकताको आधारमा ल्याइने बताएको छ । नेपालीको उद्दारका लागि दिनमा १० वटासम्म उडान अनुमति दिने निर्णय भइसकेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments