कोरोनाभाइरस दिनप्रतिदिन कमजोर हुँदै गएको भनी कुरा उठेको भए पनि विश्व स्वास्थ्य संगठनले सोमवार पत्रकार सम्मेलन गरेर भाइरस बलियै रहेको जनाएको छ ।
यो भाइरस अहिले पनि ज्यानमारा छ र यसले दिनदिनै हजारौं मानिसको ज्यान लिइरहेको छ ।
संगठनको इमर्जेन्सी प्रोग्रामका कार्यकारी निर्देशक डा माइक रेयानले जेनेभामा आयोजित एक पत्रकार सम्मेलनमा भने, ‘हामीले अत्यन्तै सतर्क हुनुपर्छ । भाइरसले क्षमता गुमाएको भनी हामीले सोच्नुहुँदैन।
इटलीका एक चिकित्सकले कोरोनाभाइरस कमजोर बन्दै गएको बताएका थिए । उनको भनाइ कत्तिको साँचो हो भनी पत्रकार सम्मेलनमा सोधिँदा रेयानको जवाफ आएको हो ।
लोम्बार्डीको सान राफेल अस्पतालका प्रमुख अल्बर्टो जांग्रिलोले इटलीको एक प्रसारण संस्थासँग भनेका थिए,यो भाइरस क्लिनिकल रूपमा इटलीमा छैन । यो पहिलेभन्दा कमजोर बनिसकेको छ । विगत १० दिनमा लिइएका स्वाब स्याम्पल हेर्दा तिनमा एक वा दुई महिनाअघिको तुलनामा भाइरल लोडको मात्रामा एकदमै कम छ ।
विश्व स्वास्थ्य संगठनको इमर्जिङ डिजीज यान्ड जूनोसिस युनिटकी प्रमुख मारिया भान कार्खोभले भनिन्,भाइरसलाई त्यत्तिकै छोडेमा अझै फैलिन्छ र थप मानिसहरूलाई संक्रमित पार्छ । अनि संक्रमितमध्ये २० प्रतिशतमा यो रोग बनेर बस्छ ।
रोग निर्मूल भएको भनिएको देशमा फेरि देखिएकोले सतर्क हुनुपर्ने विश्व स्वास्थ्य संगठनको भनाइ छ ।