21 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
HomeUncategorizedकोरोना भाइरस बाट बच्ने उपाय

कोरोना भाइरस बाट बच्ने उपाय

हालसम्म चिकित्सा विज्ञानका क्षेत्रमा भएका आविष्कार र प्रगतिहरुलाई ठाडो चुनौती दिंदै विश्वभर फैलिरहेको कोरोना भाइरसलाई सुरक्षित तरिकाले मार्न सक्ने औषधी ( Antedote ) बनाउन सकिएको छैन ! कोही भन्छन् यो अखाद्य चीज खाएर फैलिएको हो त कोही चाहिं यो भाइरसलाई जैविक हतियार भन्दै नियतवश या भूलवश फैलिन पुगेको मान्दछन् ! जे भए पनि र जसरी फैलिए पनि अब यसले विश्वमा महामारीको रुप लिइसकेको छ ।ठुला ठुला व्यापारिक केन्द्रहरु, सरकारी कार्यालयहरु, सार्वजानिक सेवा सुविधाहरु सबै Lock Down गरिएको छ । विश्वको अर्थ तन्त्र डामाडोल बन्दैछ । विश्वभर सात हजार मानिसले यस महामारीका कारण ज्यान गुमाइसकेका छन् र मर्नेहरुको संख्या बढ्दो छ ।

बिकसित देशहरुमा अनेक सावधानी अपनाइएको छ तर पनि यसको संक्रमण फैलिरहेकै छ ।बिकसित र स्रोत साधनले सम्पन्न मानिने देशहरुले त कोरोनाको संक्रमण रोक्न सकेका छैनन् भने हाम्रो जस्तो गरीब र स्रोत साधनको अभाव रहेको देशमा यसको संक्रमण देखा परे के दशा होला भन्दै देश भर गहिरो चिन्ता फैलिएको छ ।तथापी, जति नै चिन्ता लिए पनि केही हुनेछैन बरु अरुलाई जलाउने आगोले आफुलाई पनि जलाउन सक्छ भन्ने सत्यलाई बुझेर बचाव र रोकथामका उपायहरु अपनाउनु उचित हुन्छ ।नेपालमा कुनै प्रकारको आविष्कारमूलक खोज अनुसन्धान केन्द्रहरु नभएका कारण देशमै कोरोनाको Antedote बनाउन सकिन्छ भन्ने कुराको त गुन्जाइस नै छैन तर यो भाइरसको संक्रमणबाट बच्न घरेलु उपायहरु भने अवश्य अपनाउन सकिन्छ ।

१. मानिसको शरीरमा रहने प्रतिरोधात्मक क्षमता ( immunity ) लाई बढाउन सके बाहिरी विषाणु या जीवाणुलाई शरीरले मार्न सक्छ । Immunity बढाउन हरियो साग सब्जी, फलफुल, बेसार, अदुवा, कागती, लसुन, अमला, मह र ग्रीन टी मिलाएर खानुका साथै प्रशस्त पानी पिउने गर्नु पर्दछ ! यसरी शरीरमा रोगका किटाणुसँग लड्ने क्षमता धेरै भएको खण्डमा कथंकदाचित् कोरना भाइरस शरीरमा छिरे पनि हाम्रो शरीरको प्रतिरोधात्मक शक्तिले त्यसलाई नष्ट गर्दछ र संक्रमण फैलन पाउँदैन ।

२. शारीरिक व्यायम गरेर दैनिक पसिना निकाल्न सके अनावश्यक हानिकारक Toxins शरीरबाट बाहिर निकाल्न सक्नुका साथै रोगका कारक विषाणु या जीवाणुले शरीरमा हमला गर्न सक्दैन । शारीरिक व्यायम गर्नाले immunity बढ्नुका साथै शरीर बलियो पनि हुने गर्दछ । शरीरको कोषहरु बलियो भएर नै शरीर बलियो हुने भएकोले शारीरिक व्यायम गर्नेहरुलाई सरुवा रोग लाग्ने सम्भावना निकै कम रहन्छ ।

३. मानिसको भीड भाड देखि जति सक्दो टाढै बस्नु पर्दछ ! मानिसहरुको भीडभाडमा जानै पर्ने भएमा मास्क लगाएर जानु पर्दछ ! साबुन पानीले हात राम्ररी धुने, खोक्दा या छ्यूं गर्दा मुख छोप्ने गर्नु पर्दछ ।

४. हात मिलाएर या अँगालेर गरिने शिष्टाचारलाई छोडेर नमस्कार सम्ममा मात्रै सिमित राख्नु पर्दछ !

५. विदेशबाट आएकाहरुलाई संक्रमण नभएको पक्का नभइन्जेल सम्म बेग्लै बस्ने व्यवस्था गर्नु पर्दछ साथै यो महामारी मत्थर नभइन्जेल विदेश या टाढाको यात्रामा जानु हुँदैन ।

६. अनेकौ सावधानी अपनाउँदा अपनाउँदै पनि कोरोनाको संक्रमणमा परे आत्तिनु हुँदैन ।कोरोनाबाट संक्रमण हुने बित्तिकै मरिन्छ भन्ने हुँदैन । संक्रमण भएको थाहा हुने बित्तिकै अस्पताल गएर भने अनुसारको उपचार गराउनु पर्दछ । संक्रमित बिरामीलाई बेग्लै राखेर सावधानीका साथ विशेष उपचारको प्रबन्ध मिलाउनु पर्दछ । बिरामीले डाक्टरले भने अनुसारको उपचार गराउनु पर्दछ ।

७. संक्रमित बिरामीलाई निको हुने हौसला दिनु पर्दछ, सकारात्मक सोच्ने वातावरण बनाउनु पर्दछ ! अनावश्यक तनाव लिनु या दिनु हुँदैन ।

८. यस बारे अफवाह फैलाउनु या फैलाउन दिनु हुँदैन ! यो महामारीको हल्ला सँग सँगै दैनिक उपभोग्य साम्रागी तथा सेवा सुबिधाहरुको कालाबजारी बढेकोछ । विपदको घडीमा मौका छोपेर अवैध रुपमा पैसा कमाउन चाहनेहरु उपर सरकार र नागरीक दुवै मिलेर कारवाही चलाउनु पर्दछ ताकी दैनिक उपभोग्य सामाग्री तथा औषधीहरुको आपूर्ती नियमित हुन सकोस् ।

९. नेपाल सरकारले पनि अन्तर्राष्ट्रिय स्तरका रोकथाम तथा निदानका उपायहरु अपनाउनु पर्दछ ।सरकारले विश्व स्वास्थ्य संगठन लगायतका अन्तर्राष्ट्रिय समुदायसँग यस महामारीको रोकथाम तथा निराकरणको बिषयमा भए गरेका काम र उपलब्धीहरुको आलो तातो खबर लिएर जनहितमा सोही अनुसारले कार्यक्रम बढाउने व्यवस्था मिलाउनु पर्दछ ।

यसरी व्यक्ति, समुदाय तथा सरकारको स्तरबाट उपर्युक्त व्यवस्था मिलाउन सके संक्रमण रोकथाम तथा निदानका काम गर्न सकिन्छ ! विश्व समुदाय सँग हातेमालो गरेर कोरोना-महामारी विरुद्ध लड्न सकिन्छ, परास्त गर्न सकिन्छ ! अन्त्यमा, नआत्तिन र धैर्य रहेर कोरना सँग लड्न सबैलाई हार्दिक अनुरोध गर्दछु !

– हर्क साम्पाङ्

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments