बाङ्लादेशमा कोरोनाभाइरसबाट संक्रमण हुनेको संख्या १२ हजार ४ सय नाघिसकेको छ। संक्रमितमध्ये २ सय जनाको मृत्यु भएको छ भने १ हजार ९ सयभन्दा बढी उपचारपछि घर फर्किसकेका छन्।

नयाँ संक्रमितहरु थपिने क्रम जारी नै रहे पनि बाङ्लादेशको सरकारले बन्दाबन्दी केही खुकुलो पार्ने घोषणा गरेको छ। जस अनुसार, एक महीनापछि बिहीबारदेखि देशभरका मस्जिदहरु खोलिएको छ। यसले संक्रमणको जोखिम बढाएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।
द ढाका ट्रिब्यून का अनुसार, सरकारले संक्रमण रोकथामका लागि बाध्यकारी बनाएको प्रावधानलाई राजधानी ढाकाको मस्जिदमा समेत पालना नगरेको पाइएको छ। ट्रिब्यूनको रिपोर्टमा मस्जिद खुलेको पहिलो दिन बिहीबारको अवस्था विश्लेषण गर्दै लेखिएको छ, “अधिकांश मस्जिदले ह्यान्ड स्यानिटाइजर राखेका छैनन्, र मस्जिदमा मास्क नलगाई मानिसहरु आउने गरेका छन्। यस्तै अवस्था रहे संक्रमण तीव्र रुपमा फैलिन सक्छ।”
रिपोर्टमा ढाकाको एक मस्जिदका प्रमुख फज्लुल हकले ‘केही विषयमा सरकारले तोकेको मापदण्ड पालना हुन नसकेको’ स्वीकारेका छन्।
गएको अप्रिल महीनामा बाङ्लादेशको एक स्थानीय सञ्चारमाध्यमले दुई दर्जनभन्दा बढी व्यक्तिलाई सामूहिक रुपमा नमाज पढाइरहेका एक मौलवीलाई कोरोना संक्रमण भएको लेखेपछि त्यहाँको सरकारले मस्जिदहरु बन्द गराएको थियो। त्यससँगै बन्दाबन्दी गरेर मानिसहरुलाई घरैमा बस्न आह्वान गरिएको थियो।
बाङ्लादेशभन्दा अगाडि पाकिस्तानले पनि संक्रमण जोखिमको चिन्ताबीच मस्जिदहरु खोल्ने निर्णय गरिसकेको छ। – एजेन्सी