लमजुङको घलेगाउँकी ७० वर्षे प्रिति घलेको फुर्तिफार्ती कम भएको छैन । उनी अहिले पनि कस्सिएर बख्खु, राडीपाखी बुन्छिन् । स्मार्ट भिलेजका रुपमा परिचित घलेगाउँ निवासी प्रिति घलेले भेडीगोठमा ६० वटा भेडा पाल्न दिएकी छन् । त्यही भेडाको ऊन काटेर त्यसबाट धागो निकाली परम्परागत तरिकाले कपडा बनाउँदै आएकी छन् उनले । ‘पहिले जस्तो धेरै बुन्न सक्दिन, होमस्टे पनि छ, फुर्सद नै हुँदैन, ६ महिनामा पनि एउटा सक्न मुश्किल पर्छ’, आफ्नो व्यस्तता सुनाउँदै थिइन् उनी । तर, तान चलाउन बिर्सेकी भने छैनन् उनले ।
नेपालचित्रको टीम घलेगाउँस्थित उनको घरमा पुग्दा उनी तान थाप्ने सुरसार गर्दैथिइन् । मौका छोपेर हामीले भेडाको ऊनबाट कसरी धागो बनाइन्छ ? र त्यो धागोबाट कसरी बख्खु, राडीपाखी लगायतका लत्ताकपडा बुनिन्छ भनेर कुराकानी गरेका छौं । >बक्खु, राडीपाखी तयार पार्न सके मनग्य आम्दानी हुन्छ । तर, परम्परागत तरिकाले भेडाको ऊनबाट यस्ता सामग्री बुन्दा निकै समय लाग्ने र कष्ट पनि उति नै हुने गरेको घलेको अनुभव छ । ‘एउटा धागो तल माथि भए सबै बिग्रिन्छ, फेरि खोलेर शुरुबाटै थाल्नुपर्छ, आँखा देख्न कम हुँदै गयो, छोरीबुहारीको यसमा ध्यान नै छैन’, उनले भनिन् ।परम्परागत रूपमा बनाइएको राडी घर कोठ सजाउन प्रयोग गरिन्छ । घरमा आएका पाहुनालाई राडी ओछ्याउन दिए ठूलो सत्कार गरेको मानिन्छ । तर, भेडीगोठ मासिएर ऊन पाउनै छाडेपछि राडीपाखी पेसा पनि लोप हुँदै गएको घले बताउँछिन् ।बाकी हेर्नुहोस भिडियोमा: