सरकारले कोभिड–१९ को संक्रमण फैलिन नदिन अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध जारी राखेको छ । नेपालमा संक्रमण नियन्त्रणबाहिर नगएमा जेठ १९ पछि सरकारले पहिलो चरणमा चीनबाट अन्तर्राष्ट्रिय उडान खुला गर्ने तयारी गरेको छ । त्यस्तै, विदेशी पर्यटकमाथिको प्रतिबन्ध पनि पहिलो चरणमा चिनियाँ पर्यटकलाई खुला गर्ने तयारी गरिएको छ ।

सरकारले बन्द भएको अन्तर्राष्ट्रिय उडान र विदेशी पर्यटकमाथिको प्रतिबन्ध चीनबाट खोल्ने तयारी गरेको छ । कोभिड–१९ को संक्रमण फैलिन सक्ने भन्दै ४७ दिनअघि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लागेको थियो । सरकारले जेठ १९ पछि अन्तर्राष्ट्रिय उडान आंशिक खोल्दै जाने र पहिलो चरणमा चीनमा अन्तर्राष्ट्रिय उडान खोेल्ने तयारी थालेको छ ।
चीनले कोरोना भाइरस नियन्त्रणमा आएको घोषणा गरिसकेको छ । भाइरस फैलिएको मुख्य सहर वुहानसमेत चीनले खुला गरेर आर्थिक गतिविधि सुचारु गर्न थालेको छ । सोही कारण नेपालमा संक्रमण नियन्त्रणबाहिर नगए पहिलो चरणमा चीनमा उडान सुरु गर्ने गरी प्रक्रिया अगाडि बढाएको हो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई कहाँबाट कसरी सुचारु गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न निर्देशन दिएको छ । सोहीअनुसार मन्त्रालय र नागरिक उड्डयन प्राधिकरण नेतृत्वको टोलीले स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग छलफल जारी राखेको छ ।
‘प्राधिकरण, पर्यटन मन्त्रालय र स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको छलफलमा जेठ १९ यता अन्तर्राष्ट्रिय उडान नखोल्ने र त्यसपछि चीनबाट उडान खोल्ने गरी काम अगाडि बढाइएको छ,’ मन्त्रालय स्रोतले भन्यो । भारतमा तत्काल उडान नखोल्ने, तर चीनबाट उडान सुचारु गर्ने गरी काम अगाडि बढाइएको मन्त्रालय स्रोतको भनाइ छ । चीनपछि अवस्था हेरेर दक्षिण कोरिया उडान सुचारु गर्ने तयारी सरकारको छ ।
खाडी मुलुकमा संक्रमण फैलिएकाले तत्काल उडान सुचारु नगर्ने सरकारले योजना बनाएको छ । खाडी मुलुकमा नेपाली अलपत्र परेमा भने चार्टर्ड उडान गर्नेछ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुुसार जेठ १९ यता अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध भएको, तर त्यसपछि प्राथमिकता र संक्रमण हेरेर खोल्दै जान छलफल भइरहेको छ । चीनमा नियन्त्रणमा आएकाले त्यहीँबाटै उडान सुरु हुन सक्नेसमेत पोखरेलले बताए ।
चीनका विभिन्न सहरबाट नेपालमा सातामा ५६ वटा उडान हुने गरेका थिए । चीनबाट चाइना इस्टर्नको सातामा ११, त्यस्तै चाइना साउदनको साताको १४ वटा उडान हुने गरेको थियो । चीनका तिब्बती एयरलाइन्स, सिचुवान एयरलाइन्स, चाइना इस्टर्न, चाइना साउदन, एयर चाइनाले नेपालमा उडान गर्ने गरेका छन् । यता नेपालबाट हिमालय एयरलाइन्सले उडान गर्दै आएको छ ।
पहिलो चरणमा चिनियाँ पर्यटकलाई खुला गरिने
सरकारले विदेशी पर्यटकमाथि लगाएको प्रतिबन्ध पनि पहिलो चरणमा चिनियाँ पर्यटकलाई खुला गर्ने तयारी गरेको छ । चीनले पनि नेपालले संक्रमण नियन्त्रणमा राख्न सकेमा नेपालमा घुम्नका लागि फुकुवा गर्ने वचन नेपाली अधिकारीहरूलाई दिएको छ । चिनियाँ नागरिकलाई कोभिड–१९ पछि घुम्न नेपालबाट सुरु गराउन सकिएमा नेपालको पर्यटनमा सकारात्मक प्रभाव पर्ने देखिन्छ । विश्वभर सबैभन्दा धेरै चिनियाँ पर्यटकहरू घुम्न निस्किन्छन् ।
संक्रमण नियन्त्रणको अवस्था र छिमेकी देश भएकाले पनि लकडाउनपछि चीनबाट पर्यटक ल्याउन छलफल सुरु गर्ने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीले बताए । तत्काल अमेरिका, युरोपबाट पर्यटक ल्याउन समस्या हुने भएकाले चीन र भारत नै नेपाल केन्द्रित हुने उनी बताउँछन् । ‘भारतमा संक्रमण नियन्त्रणमा नआएकाले चीनका पर्यटक आगामी सिजनदेखि नै ल्याउने गरी प्रवद्र्धनका काम अगाडि बढाउँछौँ,’ सिइओ रेग्मीले भने । त्यसका लागि एयरलाइन्स, होटेल, ट्राभल कम्पनी, गाइडलगायतले अपनाउनुपर्ने निर्देशिका तयार पर्नेसमेत सिइओ रेग्मीले जानकारी दिए । ‘सबै पर्यटकको ध्यान स्वास्थ्यमा केन्द्रित हुन्छ, कोभिड–१९ पछि सबैले त्यो विधि अपनाएर पर्यटक ल्याउनका लागि प्रवद्र्धनमा जानुपर्छ,’ रेग्मीले भने । रेग्मीले आन्तरिक पर्यटन प्रवद्र्धनमा पहिलो चरणमा ध्यान दिने र त्यसपछि छिमेकी मुलुकतर्फ प्रवद्र्धन गरिने बताए । सन् २०१९ को पहिलो चार महिनामा चीनबाट ६५ हजार चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २०१९ मा झन्डै २ लाख चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
प्रतिबन्धमै चार दर्जन अन्तर्राष्ट्रिय उडान निगमको अस्ट्रेलियामा दोस्रो उडान
सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्धका बाबजुद चार दर्जन अन्तर्राष्ट्रिय उडान भएका छन् । गत चैत १० देखि उडानमा लागेको प्रतिबन्धमा पनि ५ हजार हवाई यात्रुले रेस्क्यु उडानमार्फत नेपाल छाडेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । जसमा ७ वटा कार्गो उडानमार्फत स्वास्थ्य सामग्रीसमेत ल्याइएको छ ।
लकडाउनको समयको सकारात्मक पक्ष भनेको नेपालमा संयुक्त राज्य अमेरिका, जर्मनी, अस्ट्रेलिया, रुस, बेलायत, दक्षिण कोरियासहित सुडानबाट समेत उडान भएको छ । जुन देशहरूबाट नेपालमा हालसम्म उडान नै भएको थिएन । यता राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पनि नयाँ गन्तव्यमा उडान गर्ने अवसर पाएको छ । निगमले प्रतिबन्धमा अस्ट्रेलिया, चीन, बंगलादेश र केही दिनपछाडि दक्षिण कोरियामा उडान गर्ने तयारी गरेको छ ।
निगमलाई ती गन्तव्यमा उडान गर्न भने कोभिड–१९ ले जुराइदिएको छ । निगमले अस्ट्रेलियाको ब्रिसबेन चार्टर्ड उडान गरेको थियो । यता निजी एयरलाइन्स कम्पनी बुद्ध एयरले बंगलादेशमा दुईवटा चार्टर्ड उडान गरेको छ । उता श्री एयरलाइन्सले पनि सुडान र सिंगापुरमा चार्टर्ड उडान गरेको छ । हिमालय एयरलाइन्सले चीनमा मात्रै दुईवटा चार्टर्ड उडान गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लन्डनको टाइटान एयर, रुसको रोयल फ्लाइट र चेक रिपब्लिकको चेक एयरले समेत काठमाडौंमा उडान गरेको छ । नेपालमा लकडाउनमा नयाँ–नयाँ गन्तव्यबाट उडान भएकाले भविष्यमा सकारात्मक प्रभाव पर्ने प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्री बताउँछन् ।नयाँ पत्रीकाबाट