तत्कालीन माओवादी जनयुद्धका नायक, सर्वाेच्च कमान्डर र अहिलेका डब्बल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि केही समयअघि जुत्ता प्रहार भयो । पार्टीका नेता कार्यकर्ताहरू अाक्राेशित हुनु स्वाभाविक थियाे । त्यस्तै, विपक्षी दल या पक्षका मानिसहरू राैसिनु अन्यथा थिएन । अझ, जनयुद्धप्रति असहमत हुने, सङ्घीय लाेकतान्त्रिक गणतन्त्र नेपालका विराेधीहरू प्रफुल्लित देखिनु अनाश्चर्यकाे विषय भएन ।
जुम्ला सिञ्जाका २१ वर्षिया ठिटो रतन तिरुवाले राजधानीकाे एक कार्यक्रममा प्रचण्डलाई जुत्ता प्रहार गरे । उनी जनयुद्धमा ज्यान गुमाएका सञ्जय तिरुवाका सुपुत्र हुन् । जुत्ता प्रहार सम्भवत: नेपालमा पहिलोपटक हाे । यसअघि, तत्कालीन एनेकपा माअाेवादीका सांसद झक्कुप्रसाद सुवेदी, तत्कालीन नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, नेपाली काङ्ग्रेसका सभापति स्व. सुशील काेइरालाले ‘जनता’ बाट झापड र मुक्का भेटिसकेका छन् । कानूनी र सामाजिक हिसाबले सार्वजनिक स्थानमा झापड हान्नू वर्जित देखिन्छ । जुत्ता हान्नुचाहिँ बहिष्कार, घृणा र अाक्राेशकाे चरम रूप मानिन्छ ।
*** *** ***
जुत्ता प्रहारकाे सबैभन्दा बिर्सन लायक घटनाचाहिँ सन् २००८ डिसेम्बर १४ काे हाे । कार्यकाल सकिन ठीक ३७ दिनअघि इराकी पत्रकार मुन्ताएर-अल-जायेदीले अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसलाई इराकी जनता र देशकाे सार्वभौमिकतामाथि खेलबाड गरेको भन्दै गालीसहित जुत्ता प्रहार गरे । मुस्लिम समुदायमा जुत्ता प्रहार सबैभन्दा अपमानजनक काम मानिन्छ । पचासौं लाख इराकी जनताकाे ज्यान जाने इराक युद्धका पीडितहरूले यस घटनालाई ‘स्वागत’ गरे ।
जुत्ता प्रहार पूँजीवादी मुलुकमा मात्रै हाेइन । कम्युनिज्ममा विश्वास राख्ने देशहरूमा पनि भएको छ । सन् २००९ मा चिनियाँ प्रधानमन्त्री वेन जिया बाओलाई पनि बेलायतको क्याम्ब्रिज विश्वविद्यालयकाे एक कार्यक्रममा जुत्ता प्रहार गरियाे । उनलाई ‘तानाशाही’ काे अाराेप लाग्दै जुत्ता प्रहार गरियाे । जुत्ता प्रहारकाे शिकार पूर्व अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन, पूर्व अष्ट्रेलियाली प्रधानमन्त्री जाेन हाेवार्ड, पूर्व इरानी राष्ट्रपति मेहेमुद अहमदिनेजाद, आईएमफका पूर्व प्रमुख डाेमाेनिक स्ट्रस क्हान, पूर्व पाकिस्तानी राष्ट्रपति जनरल पर्वेज मुसर्रफ, पूर्व भारतीय अर्थमन्त्री पी चिदम्बरम आदि भएका छन् । बर्माकी प्रधानमन्त्री आङ साङ सुकीलाई समेत राेहिङ्गिया मुस्लिमहरूले टीभीमा जुत्ता प्रहार गरेका दृश्यहरू भाइरल भए ।
*** *** ***
जनयुद्ध नेपाली राजनीतिक परिवर्तन मात्रै नभएर चेतनाको पनि प्रतीक हाे । रक्तपातपूर्ण युद्धमा जहाँ पनि नागरिक अधिकार हननकाे प्रश्न उठ्छ । युद्ध उत्तरकाे अवस्थामा त्यस मुद्दालाई मानवअधिकारकर्मी र पीडित पक्षले उठाउने गर्छन् । नेपालमा बेलाबखत अन्तर्राष्ट्रिय अदालत(क्रिमिनल काेर्ट र काेर्ट अफ जस्टिस, हेग)काे कुरा पनि उठ्छ । युद्ध अपराधका कारक तत्व र जिम्मेवार व्यक्तिहरूलाई लगेर ठेगान लाइदिने अभिव्यक्तिहरू सुनिन्छ । युद्धसँग सम्बन्धित विषयहरू कानूनी र राजनीतिक दुवै हुन्छन् । नेपालकाे सवालमा चाहिँ सामाजिक साँस्कृतिक पनि देखिएको छ । समान युद्ध या द्वन्द्वमा ‘दाेषी’ करार भएकाहरू काेही शक्तिशाली पदमा नियुक्त हुने काेही जेलनेल भाेगेर सडिनुपर्नेले खराब राजनीतिकाे द्वैध चरित्र देखाएको छ ।
जनयुद्धदेखि, १२ बुँदे समझदारी, दाेस्राे जनान्दाेलन, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झाैता, पहिलाे र दाेस्राे संविधानसभा, ०७२ मा जारी संविधान, तीन तहको निर्वाचन र अप्रत्याशित दुई कम्युनिस्ट पार्टीको एकताका बीच प्रचण्डकाे छवि बद्लिएकाे भुइँ तहको मानिसहरूले अनुभव गरिरहेका छन् । विलासिता, भ्रष्टाचार, व्यभिचार, बेथिति, चारित्रिक पतनका बीच जनयुद्धका नेताहरू काम गरि खाने वर्गहरूका सामु नाङ्गिएका छन् । समाजवादउन्मुख राष्ट्र भनेर संविधानमै किटिएकाे छ । तर, देश दिनप्रतिदिन दलाल अर्थतन्त्र, कर्पाेरेटमुखी वितरण प्रणाली, विषम सामाजिक व्यवस्थाकाे भाषमा फसिरहेकाे छ ।यस्तोमा दक्षिणपन्थी शक्तिहरू बाैरिने र खुइलिएका गाेटीहरू निकालेर दाउ हान्ने यत्नमा छन् । जनयुद्धकाे अाैचित्यलाई अगाध माया गर्नेहरूमा राेष प्रकट हुनु र सही समयमा प्रतिक्रिया दिनु अनाैठाे हाेइन ।
बिन्तिपत्र, वक्तव्यबाजी, भाषणकलाबाट पनि सुधार नअाउने भएपछि मान्छे चरम नैराश्यतामा फस्छ । मानसिक द्वन्द्वकाे चक्रव्यूहमा घुमिरहन्छ । अनि, अराजक प्रस्तुति उसको बाध्यता बन्छ । सबै गान्धी, अन्ना हजारे या डा. गाेविन्द केसी नबन्न सक्छन् । युद्धको नियममा त सबैले एकै किसिमले लड्दैनन् । जनयुद्ध लडेका र क्यान्टाेनमेन्टका ‘अयाेग्य’ करार गरिएका जनसेनाहरूकाे चेक प्रकरण र अर्बौं घाेटाला भएको विषयमा माअाेवादी बैठकमा कार्यकर्ताले कुर्सी प्रहार गर्न खाेजेकाे घटना अझै विस्मृतिमा पुगेको छैन । नेपाली माटाेमै उत्पादित गाेल्डस्टार जुत्ता लाएर नेपालकाे कुना कन्दरा, पहाड मधेश, हिमाली देउराली सबै भागमा परेड खेलेका र युद्धकाे माेर्चामा लडेका ती खाट्टी लाल कम्रेडहरूकाे मन कति दुख्दाे हाे ।
*** *** ***
जुत्ता प्रहार नागार्जुनमा थन्किएको राजतन्त्र फर्काउन हाेइन, जनतामाझ गणतन्त्रलाई अझै बलियो बनाउनु हाे । सीमित घेराका लागि हुने लाभको राजनीति हाेइन । सिमान्तकृत जनताकाे जीवन उकास्नमा प्रयाेग गर भन्ने सन्देश दिन खातिर हाे । जनयुद्ध लड्नेहरू सबै नेपाली सेनामा छैनन् । सक्रिय राजनीतिमा छैनन् । छन् त काेही खाडीका गर्मीमा जीवनको जाेहाे गरिरहेका । अाफ्नै देशमा ऋृणसम्म नपत्याएर मजदुरी गरिरहेका । काेही भने गुमनाम जिन्दगी बिताएर अाफ्ना सर्वहारा वर्गका नेताका चटकहरू समाचारका शीर्षकमा पढिरहेका ।
*** *** ***
५ मार्च २०२०
मुकाम : बेलायत ।