चीनको गोन्जाउबाट आपत्कालीन संयन्त्रमार्फत १० हजार थान किट ल्याइएपछि तरकारीको विषादी परीक्षण सुरु हुने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार बिहीबार साँझ किट ल्याइपुर्याइएको हो । अब विभिन्न जिल्ला पठाइनेछ र त्यसपछि परीक्षण सुरु हुनेछ ।

किट अभावमा तरकारीको विषादी परीक्षणविनै आयात भई उपभोक्ताको चुलोसम्म पुग्ने गरेको थियो । यसबारे नयाँ पत्रिकामा समाचार छापिएपछि सरकारले आपत्कालीन संयन्त्र प्रयोग गरी किट ल्याएको हो ।
अब यी किटहरू तरकारी धेरै आयात हुने झापाको काँकडभिट्टा, सर्लाहीको नवलपुर, रुपन्देहीको बुटवल, कैलालीको अत्तरियामा रहेको विषादी अवशेष द्रुत विश्लेषण एकाइमा पठाइने केन्द्रीय कृषि प्रयोगशालाकी प्रमुख सावित्री बरालले जानकारी दिइन् ।
‘बिहीबार साँझ आएको किट पूर्व–पश्चिमका नाकामा पठाउँछौँ र तत्कालै आयातीत तरकारीको विषादी परीक्षण गर्नेछौँ,’ उनले भनिन् । उनका अनुसार यो किटले करिब २० दिन धान्नेछ । १० हजार थान किट थोरै भएकाले सबै प्रयोगशालामा पठाउन नसकिएको बरालले बताइन् । मन्त्रालयले कास्कीको पोखरा, बाँकेको नेपालगन्ज र काठमाडौंको कालिमाटी तरकारी बजारमा पनि एकाइ राखेर विषादी परीक्षण गर्ने पूर्वाधार तयार गरको छ । तर, किट अभावका कारण यी सबै एकाइ अहिले बन्द छन् ।
अहिले एउटा कार्टुनमा ७ किलो तौल भएको किट आइपुगेको हो । यसको मूल्य १ सय १० रुपैयाँ लागत परेको छ । यो किट पुरानै टेन्डर मूल्यमा समाहित हुने गरी ल्याइएको बरालले बताइन् । केन्द्रीय प्रयोगशालाले २ करोड २५ लाख मूल्यको दुई लाख थान किट खरिदका लागि टेन्डर गरेको थियो ।
लकडाउनका कारण टेन्डर भएर आउँदै गरेको किट सिंगापुरमै रोकिएपछि पछिल्लो एक सातादेखि परीक्षणविनै तरकारी आयात भइरहेको थियो । सोही आपूर्तिकर्ताले चिनियाँ कम्पनीसँग समन्वय गरी थोरै परिमाणको किट भए पनि ल्याएर आपत्मा सहयोग गरेको बरालले बताइन् ।
सिंगापुर विमानस्थलमा रोकिएको २ लाख थान किट ल्याउन शुक्रबारबाट पहल थालिएको छ । सिंगापुरस्थित विमानस्थलले सो किट विमानमा हालेर कार्गो गर्नका लागि ‘इन्ट्री’ गरिसकेकाले आपूर्तिकर्ताले विमानस्थलबाट सो सामान फिर्ता लिन सकेका छैनन् ।आपूर्तिकर्ताको अनुरोधमा सिंगापुर विमानस्थलले इन्ट्री गरेर राखेको सो किट सम्बन्धित व्यक्ति वा कम्पनीलाई फिर्ता दिन आग्रह गरेको व्यहोरा खुल्ने पत्र कृषि तथा पशुपक्षी विकास मन्त्रालयले लेख्ने भएको छ ।नयाँ पत्रीकाबाट