काठमाडाै । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि पाउने गरी नागरिकता ऐनमा संशोधन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको नेकपा सचिवालय बैठकले वैवाहिक अंगीकृत नागरिकता विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्ष पूरा भएपछि दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
अहिलेको नागरिकता ऐनमा नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलाले सहजै नागरिकता पाउने व्यवस्था छ । भारतमा विदेशी महिलाले अंगीकृत नागरिकता पाउन ७ वर्ष कुर्नुपर्ने व्यवस्था छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न विवाह भएको ७ वर्ष पूरा भएको र सम्बन्धित देशको नागरिकता परित्यागको प्रक्रिया आरम्भ गरेको प्रमाण प्रस्तुत गर्नुपर्ने व्यवस्था गरी अघि बढाउने निर्णय भएको जानकारी दिए ।