काठमाडाैं। नेपालमा एकै दिन सबैभन्दा बढी ५७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। मङ्गलवार दिउँसो स्वास्थ्य मन्त्रालयले जारी गरेको वक्तव्य अनुसार काठमाडौंमा गरिएको परीक्षणमा ती सङ्क्रमण पुष्टि भएको हो। हालसम्म नेपालमा सङ्क्रमितको सङ्ख्या १९१ पुगेको छ।

मन्त्रालयका अनुसार त्यसमध्ये पर्सा जिल्लाका ३९ जना, रुपन्देही जिल्लाका ९ जना, कपिलवस्तु जिल्लाका ८ जना र बाराका १ जना रहेका छन्। सोमवार बिहान १० जना नयाँ सङ्क्रमित देखिएका थिए। ती सबै कपिलवस्तुका थिए।
त्यसपछि सोमबारै दिउँसो सप्तरीका थप एक १८ वर्षीय पुरुषमा कोरोनाभाइरसको सङ्क्रमण पाइएको थियो।
सोमवार थपिएका २४ जना मध्ये १६ जना कपिलवस्तु, ६ जना रुपन्देही, १ जना बर्दिया र १ जना सप्तरी जिल्लाका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
खासगरी भारतबाट लुकीछिपी सीमावर्ती क्षेत्रमा मानिस भित्रिएका विवरणमाझ कतिपय सीमाक्षेत्रस्थित जिल्लाहरूमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ।