नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिशृंखला‘दोबाटे’मा म ‘थसुल्ली’को भूमिकामा छु। मलाई सानैदेखि कलाकारभन्दा पनि गीतकार बन्ने रहर थियो। एनटीभीबाट ‘दोबाटे’ प्रसारण हुने भएपछि गोपाल काफ्ले दाइले ‘काम गर्छौ’ भनेर सोध्नुभयो। सुरुमा काम गर्न मन लागेन। भर्खरै एसएलसी दिएर बसेकी थिएँ। दाइले ‘तिमी सक्छौ’ भनेर कर गर्नुभयो। ममीले पनि सम्झाउनुभयो, गर भन्नुभयो। त्यसपछि टेलिसिरियलमा काम गर्न तयार भएँ।
त्यसअघि क्यामरा फेस गरेकी थिइनँ। कहिल्यै स्टेज कार्यक्रममा सहभागी भएकी थिइनँ। स्कुल पढ्दाताका सानातिना कार्यक्रममा सहभागी भए पनि क्यामरा फेस गर्ने गरी कुनै कार्यक्रममा भाग लिएकी थिइनँ। पहिलो दिन क्यामरा फेस गर्दा एकदमै डर लाग्यो। मेरो भूमिका एकदमै छुच्ची, ज्वाइँसँग माइतै बसेकी छोरीको छ। सुरुको दिन बिग्रने हो कि, म गर्न सक्दिनँ कि भन्ने डर लागिरहेको थियो। स्क्रिप्ट हेरेँ, त्यसपछि अभिनय गरेँ। सिन दुई टेकमै ओके भयो। सुटिङ सकिएपछि सबैले राम्रो प्रतिक्रिया दिनुभयो। लाजले घरमा कसैलाई केही भनेकी थिइनँ। टेलिभिजनमा कार्यक्रम प्रसारण भएपछि साथीभाइ, आफन्त सबैले राम्रो भन्नुभयो। आफूलाई पनि राम्रो गरेछुजस्तो लाग्यो।
मलाई सेटमा तयार हुन १० मिनेट लाग्छ। धोतीचोलो, टाउकोमा नातो बानेपछि म थसुल्ली बन्छु। मेकअप गरेर बूढी बन्नुपर्छ। थसुल्ली बन्दा बोलीमा एकदमै ध्यान दिनुपर्छ। रियलमा जति नरम बोल्छु, सेटमा त्यति नै छुच्ची बनेर बोल्नुपर्छ। कहिलेकाहीँ स्क्रिप्ट हेर्दाहेर्दै बोल्नै बिर्सिन्छु। टिमका सबै सदस्य सहयोगी हुनुहुन्छ। सुटिङमा सबैले सहयोग गर्नुहुन्छ। अहिले कतै कार्यक्रममा जाँदा सबैले ‘थसुल्ली दिदी’ भनेर बोलाउँछन्। कलेजमा साथीहरू, घरपरिवार सबैतिर थसुल्ली नै भन्छन्। बाटोमा हिँड्दा पनि धेरैले चिन्ने गर्छन्। ‘ऊ थुसुल्ली’ भन्छन्। रमाइलो लाग्छ। सेटमा ठूलो स्वरले बोल्ने छुच्ची महिलाको भूमिकामा भएकाले कतिपयले म वास्तविक जीवनमा पनि त्यस्तै छु भनिठान्छन्। कार्यक्रममा जाँदा प्रशंसकसँग कुरा गर्दा मैले त्यो कुरा महसुस गरेकी छु। तर, म त्यस्तो छैन।भिडियो: