रिसभ खतिवडा २६ चैत, काठमाडौँ ।बिश्वको धेरै देशहरुमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको नियनत्रण तथा रोकथामको लागि नेपाल सरकारले लकडाउनको सयम अवधिभर यसअघि नै जारी गरिएका पुरानै ७ दिने सवारी पासलाई नै निरन्तरता दिएको छ । नेपाल सरकार गृह मन्त्रालयले सवै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै सवारी पास लिन आउँदा उत्पन्न भिडभाड नियन्त्रण गर्न सम्सया उत्पन्न हुन सक्ने हुनाले यसअघि जारी भएका पासबाटै आवागमनको व्यवस्था मिलाउन निर्देशन जारी गरेको हो ।
नेपाल सरकारले सोमबार देखि दोस्रो पटक वैशाख ३ गतेसम्मका लागि लकडाउनको अवधि थपेको छ । यसअघि चैत ११ गतेदेखि गरिएको लकडाउन १७ गतेको मन्त्रिपरिषद् बैठकले आजसम्मका लागि थपेको थियो । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले अत्यावश्यक सेवाका लागि यसअघि नै जारी भएका सवारी साधन पासलाई नै निरन्तरता दिने गरी व्यवस्था मिलाउन स्थानीय प्रशासनहरुलाई निर्देशन दिइएको जानकारी दिएका छ्न ।
सकेसम्म भिडभाड हुनै नदिन र अत्यावश्यक सेवा प्रवाहमा हुने मानिसको चापलाई पनि व्यवस्थित बनाउन पुरानै पासलाई निरन्तरता दिइएको बताए । गृहको परिपत्र पछि सोमबार नै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति बैठकले पुरानै पासलाई निरन्तरता दिने निर्णय गरिसकेको छ ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले अत्यावश्यक सेवालाई मध्य नजर गर्दै पास वैशाख ३ गतेसम्मको लागी यथावत राख्ने जानकारी गराए !