धरान, ३० चैत्रः हरेक वर्ष जस्तै दोहोरिने धरानको समस्या मध्ये एउटा समस्या हो खानेपानी । खडेरी अर्थात चैत बैशाख महिनाको शुरु संगै धरानमा खानेपानीको अभाव शुरु हुन्छ। त्यो समस्या आईसकेको छ।धरानमा खानेपानी अभावलाई समाधान गर्नको लागि भनेर एशियाली बिकास बैंकको रिन सहयोगमा खानेपानी परियोजना सम्झौता भएका थिए । हाल परियोजना सम्पन्न भैसक्दा पनि समस्या उही भएको छ ।
एकिकिकृत शहरी विकास कार्यक्रमअन्तर्गत एशियाली विकास बैंक(एडिवी) को ३५% ऋण तथा २६% अनुदान, नेपाल सरकारको २४% अनुदान र धरान नगरपालिकाको १५% गरी २२.०७ मिलियन अमेरिकी डलर अर्थात करिव २ अरब १६ करोड लगानी भएको धरान खानेपानी आयोजना असफल बन्दै गएपछि धरानमा जताततै खानेपानीको हाहारकार भएको हो ।धरानको खानेपानी परियोजना जुलाई २०१७ मा सम्पन्न गर्ने गरी ठेकेदार टियानजीन तुन्दी जोइन्ट भेन्चरले जुलाई २०१५ बाट निर्माण कार्य शुरु गरेको भएतापनि पटक पटक म्याद थप्दै अन्तिम पटक थपिएको ३१ डिसेम्वर २०१९ सम्ममा पनि निर्माण कार्य पूरा नगरी धरान खानेपानी व्यवस्थापन बोर्डलाई अधुरै छोडेर परामर्शदाता गईसकेका छन् । आयोजना प्रमुख ई. राजु पोखरेललाई हाल बोर्डको कार्यकारी निर्देशक बनाइएको छ भने नौ महिना परीक्षण काल रहेका कारण ठेकेदार भने अझै रही रहेको छ ।
हालको खानेपानी अभाव बारे आयोजना अनुगमन समितिका संयोजक एवम् सर्वदलीय तथा सर्ववक्षीय खानेपानी संयुक्त संघर्ष समितिका संयोजक सुजेन्द्र गोलेले सामाजिक सञ्जाल मार्फत गरेको सर्वेमा उपभोक्ताहरुले खानेपानी नपाएको व्यापक गुनासो गरेका छन् । धरानको वडा नं. १, ७, ९, १०, ११, १२, १४, १५, १६, १७, र १९ वडाका उपभोक्ताहरुले खानेपानीको अभाव झेलिरहेको आफ्नो सर्वेमा पाइएको संयोजक गोलेले बताए । उपभोक्ताहरुले लामो समयदेखि खानेपानीको संकटमा जीवन विताइरहेको भएतापनि वोर्डका कार्यकारी निर्देशक राजु पोख्रेलसंग सम्पर्क गर्दा हिजोको हावाहुरीले लाइन विग्रिएर समस्या आएको हो त्यो मर्मत भईसक्यो अब सहज हुन्छ भनेको गालेले बताए । उनले आयोजनाको भूमिगत श्रोतवाट औसत ६० लाख लिटर मात्र उत्पादन हुनुनै समस्याको मुख्य जड भएकाले खानेपानीको दोहोरो स्वामित्वको अन्त्य र उत्पादन क्षमतामा विस्तार तथा वितरण प्रणालीमा सुधार नभएसम्म समस्या हल हुन कठिन रहेको बताए । कोरोना भाईरस (कोभिड–१९) का कारण लकडाउन भएपछि संस्थानको सम्पति र दायित्व हस्तान्तरणको कार्य रोकिएको भएतापनि आयोजना अझै अधुरो र अपुरो हुनुका साथै परीक्षणकालमा रहेको र असफलतातर्फ उन्मुख भएकाले आयोजना सफल हुने तथा बोर्डद्धारा खानेपानी व्यवस्थापन गर्न सक्ने अवस्थाको सुनिश्चितता नभएसम्म स्वामित्व र व्यवस्थापनमा एकल नेतृत्व सहित संस्थानलाई नै खानेपानी आपूर्तिको जिम्मेवारी सुम्पिनु उपयुक्त हुने पनि उनले बताए ।
खानेपानी आपूर्तिमा तत्काल केही सहजता ल्याउन दैनिक २५ लाख लिटर संस्थानको टंकीमा हाल्न भनिएको भएतापनि बोर्डले १५ लाख लिटर मात्र हाल्न सकिने बताएकोमा १० लाख लिटर मात्र हाल्न सकेको संस्थानका प्रमुख रामकुमार श्रेष्ठले बताएका छन् । संस्थानले आफ्नो ग्राहकहरुलाई आलोपालो गरेर र ट्याङकरबाट भएपनि पानी खुवाईरहेको उनले बताए ।
यस्तो छ सर्वेमा भनिएका कुरा :
जनप्रतिनिधि समेत रहेका विवेक प्रसाईले धरान १ मा पनि खानेपानीको समस्या रहेको बताएका छन् । त्यस्तै सुशिल कुमार चौधरीले वडा नं. १ को हालत पनि खराब रहेको बताएका छन् । डि.वि. मोक्तान तामाङले लक्ष्मी चौकमा दिन विराएर आउने गरेको बताएका छन् । त्यस्तै सुमन श्रेष्ठ भन्छन् धरान १ मा त १ दिन विराएर आइरहेको थियो अहिले २ दिन विराएर आइरहेको छ ।
उमेश खतिवडाले धरान ७ को गोविन्द रोडमा समस्या भएको बताएका छन् । त्यस्तै रमिता श्रेष्ठ र उमा पौडेलले पनि धरान ७ मा धेरै समस्या रहेको बताएकी छिन् ।
धरान ८ का केशव पोख्रेलले अटल पम्प र बरगाछीको विचमा राम्ररी पानी नआएको महिनौं भएको बताएका छन् । समिता जिम्बा र जोगन्द्र तामाङले धरान ८ को भोटेपुल तथा सिता टोलमा एकदम गाह्रो भएको बताएका छन् । धरान ८ शिद्धकाली चौक, स्विमिङ पुल लाईनमा पनि पानी आएको डुका घिसिङले बताएकी छिन् । सुधिर श्रेष्ठले धरान ८ बरगाछी मुनि धेरै गाह्रो रहेको बताएका छन् । धरान ८ धनकुटे रोडमा पनि समस्या रहेको याम गोलेले बताएका छन् । धरान ८ शहिररत्न मार्गको अस्था पनि नाजुक रहेको युनी गोले मोक्तानले बताएकी छिन् ।
धरान ९ को आचार्य लाईनमा धेरै समस्या भएको कविता ढकालले बताएकी छिन् । त्यस्तै धरान ९ कै पुतली लाइनमा पनि पानीको चरम अभाव भएको समिर जोशीले बताएका छन् ।
धरान १० को विशाल पथमा ४ महिनादेखि पानी नआएर टंकीनै फुट्न थालेको बताउदै एडिवीको भन्दै संस्थानको पानीलाई एडिवीको प्लाष्टिक पाईपमा हालेपछि हाहाकार भएको गंगार राई बताउछिन् । त्यस्तै राम चापागाई भन्छन् धरान १० कै देवीथान लाईनमा एकदम कम पानी आउंछ सम्बन्धित निकायको ध्यान जाओस् । केतन श्रेष्ठले बदभद्र पथमा हात धुने पानी पनि छैन । क्विक टास्क फोर्स लगाएर पानी आउने बनाइदिनु पर्यो भनि लेखेका छन् । १० नं. वडा समितिको लाइनमा धेरै कम पानी आउंछ । कहिले कहीं आउंदैन पनि । संस्थानलाई भन्यो भने नसुने जस्तो गर्छ भनि कल्पना सुवेदी पोखरेल लेख्छिन् ।
धरान ११ मंगलबारे चौक नजिकैमा ३ वर्षदेखि ई. राजु पोखरेलाई भनिएको भएतापनि १० वहाना गर्छन् भन्दै पाइप छ पानी छैन के हामीले पानी नखाने? के भो हाम्रो लगानी? भनेर सोध्छन् । त्यस्तै धरान ११ कै ऐश्वर्य मार्गमा दुईजनाको परिवारलाई पनि पुग्दैन भनि रिता मोक्तान बताउंछन् । धरान ११ कै सयपत्री चौक, गोदावरी चौक, किसान पथमा सरकारी धारा, निजी धारा तथा पुरानो पाइप जडान भएको घरहरुमा कार्तिक देखि पानी नचुहेकोे जगन्नाथ दाहाल र राजु श्रेष्ठले बताएका छन् । त्यस्तै धरान ११ कै भवानी मार्गमा खै? भनि आनन्द राईले प्रश्न गरेका छन् । धरान ११ कै साम्यक मार्गमा पनि हाहाकार रहेको भद्र सेनिहाङले बताएका छन् । धरान ११ को माथिल्लो भेगमा पनि समस्या रहेको गंगा राईले बताएकी छिन् । त्यस्तै धरान ११ को आवास मार्गमा पनि समस्या रहेको के.वी. गुरुङले बताएका छन् ।
धरान १२ को चतरा लाईनमा १ दिन विराएर सानो फोर्समा १ घण्टामात्र आउंछ । कहिले कहीं १५÷२० मिनेट मै बन्द हुन्छ भनि पुर्णकाजी शाक्य बताउंछन् । धरान १२ को महेन्द्रपथमा पनि समस्या भएको विवेक अग्रवालले बताएका छन् । त्यस्तै निशु अग्रवालले धरान १२ को अभिनन्दन मार्गमा समस्या भएको बताएकी छिन् ।
त्यस्तै धरान १४ मा पनि बिजोग भएको सरोज बरालले बताएका छन् ।
ब्लाष्ट राष्ट्रिय दैनिकका प्रधान सम्पादक राजकुमार कार्की र सुनिल पोखरेलले धरान १५ को पुष्पलाल मार्गमा पानीको समस्या रहेको बताएका छन् । त्यस्तै राजिव दाहालले अमारज्योति पथमा पानी नआएर भन्दा भन्दा वाक्कै भईसकेको बताएकाछन् । धरान १५ कै देउराली पथमा हावा मात्र आउने गरेको रिमेश श्रेष्ठ बताउछन् भने ४÷५ दिनमा १६ मिनेट मात्र पानी आउने गरेको मेवाहाङ हाङ बताउंछन् । त्यस्तै भानुमार्ग देखि बुढासुब्बा चौकसम्म पानी अभाव भएको विजय श्रेष्ठले बताएका छन् । त्यस्तै अर्का विजय श्रेष्ठ भन्छन् अमरज्योति पथको समस्या आजको होइन तर कयौं पटक ध्यानाकर्षण गराउंदा पनि समाधान भएन । धरान १५ कै सयपत्री मार्ग विजोग छ भनि सरोज कोइराला लेख्छन् । त्यस्तै धरान १५ कै भिममणि राई लेख्छिन् हाम्रो टोलमा विजोग छ । ३ तल्लासम्म चढ्छ भन्थ्यो ३ दिनमा मरेर आउंछ । धरान १५ कै देविका तामाङले ३ दिनदेखि पानी नआएको बताएकी छिन् । मदन आश्रित मार्गमा पनि धेरै समस्या भएको संदिप थापाले बताएका छन् । धरान १५ कै दिपराज लिम्वु भन्छन् भानुमार्गमा १ दिन विराएर आउंछ भन्थ्यो त्यो पनि आउंदैन । धरान १५ पिण्डेश्वरी चौक बाटो मुनि समस्या रहेको हिमाल दाहालले बताएका छन् । धरान १५ का सन्तोष कोइरालाले पानी नआएको भन्दै उपभोक्ताले उपमेयरको घर घेरेको न्युज पोष्ट गरेका छन् ।
धरान १६ का तिर्थ कार्कीले जोरसखुवा अगाडिको लाइनमा धेरै समस्याको भएको बताएका छन् । त्यस्तै एक दिन विराएर आउने भिमसेन पथमा पानीको फोर्स नभएको कारण ५ सय लिटर पानीले चित्त बुझाउनु पर्ने अवस्था रहेको फणिन्द्र निरौला बताउंछन् । लेखेर के गर्नु संधै डेड घण्टा आउंथ्यो आज ४५ मिनेट बन्द भयो भनेर मदन चेम्जोङ भन्छन् । धरान १६ कै भगवती मार्गमा पनि पानी कम आउने गरेको शैलेन्द्र श्रेष्ठ र मदन चेम्जोङले बताएका छन् । त्यस्तै प्रतिक्षा मार्गमा पनि विजोग रहेको रंजित मार्सेलीले बताएका छन् । धरान १्६ कै सम्मित राईले मुस्कान चौकमा पानी आउंदै भनि लेखेका छन् । त्यस्तै धरान १६ कै भूपिमार्गमा पनि समस्या रहेको अन्जना राईले बताएकी छिन् । धरान १६ को चन्द्रसंस्कृत मार्गमा दुई दिन विराएर हजार लिटर भन्दा कम आउने गरेको हरी दाहालले बताएका छन् ।
धरान १७ स्थित दियालो मार्गमा पानी नआएको २४ दिन भईसक्यो भनेर पत्रकार तारा लाम्गादे भन्छन् ।
धरान १८ का धिरेन्द्र कुमार मण्डलले बुद्धचौक मास्तिर समस्या रहेको बताएका छन् ।
धरान १९ को प्रगति चौक देखि दक्षिण पूर्व एक दिन विराएर धेरै सानो भुईको टंकीमा समेत नचढ्नेगरी आउने गरेको नरप्रसाद लुम्फुङ्वा लिम्वुले बताएका छन् ।
स्थानीय मनोज श्रेष्ठ भन्छन् कुन टोलमा कति पानी आउछ भन्नु भन्दा सुख्खायाममा पुरै धरानलाई काकाकुलको स्थितिवाट कसरी बचाउने भन्ने विषय महत्वपूर्ण हुन आउंछ । त्येतातिर पहल थाल्नुपर्छ । हुन त एडिवी आयो भन्दाखेरी खुशीको सीमा थिएन तर यो आयोजना पनि तुहिएको अनुभव हुन थाल्यो ।
त्यस्तै स्थानी मनोज वस्ती प्रश्न गर्छन् धरानमा एडिवी प्रोजेक्ट किन ल्याएको? २४सै घण्टा पानी आउंछ भन्थ्यो नि त ! पैसा जति सबै पाइपलाइनमा सिध्यायो । पानी उत्पादन चाहिं शून्य भयो । खै त १ करोड ५२ लाख पानी कहां छ? सम्बन्धित निकायले किन ध्यान दिएन?
चारकासे जंगलवाट ल्याएको त्यत्रो पानी छ कसरी अभाव होला त हौ भनेर लोकबहादुर खड्का व्यङ्ग गर्छन् ।
लक डाउनको वेला त खानेपानीको यस्तो वेहाल अवस्था छ झन् सकृय जीवनशैली भएको वेला कस्तो अवस्था होला? भन्दै धरान उपमहानगरपालिका, बोर्ड, संस्थान र सरोकारवाला निकाय वीच अविलम्व संवाद शुरु गरी समस्याको समाधानतर्फ अघि बढ्न गोलेले आग्रह गरेका छन् ।