काठमाडाैं । रातभरि भएको वर्षाका कारण पहिरो खस्दा चितवनको मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ । इच्छामनकामना गाउँपालिका-६ मा पर्ने कालीखोला नजिक पहिरो खसेको हो ।
एकै ठाउँमा आज बिहान करिब ४ः३० र ६ बजे गरि दुई पटक पहिरो खसेको सडक विभागका महानिर्देशक केशव कुमार शर्माले जानकारी दिए । पहिरो हटाउन दुवै तर्फबाट डोजर प्रयोग गरिएको छ ।
थप पहिरो नझरे अहिले बिहान १० बजेसम्ममा यातायात सुचारु हुने उनले जानकारी दिए । मनसुन सुरु भएपछि यो वर्ष पहिरोले सो सडकमा पहिलो पटक पहिरो झरेको हो । नेपालमा ३० जेठबाट मनसुन सुरु भएको हो ।
यो सडक काठमाडौँको मुख्य ‘लाइफ लाइन’ हो । दुई वर्षअघि सडक विस्तार सकिएसँगै बारम्बार पहिरो झर्ने गरेको छ ।