काठमाडौं । स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पतालमा आइसोलेसन वार्डमा रहेका एक विरामीको निधन भएको छ। अस्पतालका निर्देशक डाक्टर विष्णुप्रसाद शर्माले आइसोलेसनमा एक विरामीको निधन भएको पुष्टि गर्दै उनको निधन कोरोनाका कारण नभएको स्पष्ट पारेका छन् । उनले निधन भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको उनले जनाएका छन् ।
सम्भावित कोरोना संक्रमितलाई आइसोलेसन वार्डमा राखेर उपचार गरिँदै आएको भए पनि उनको निधनको कारण भने कोरोना नभएको अस्पतालको भनाई छ ।
अस्पतालको आइसोलेसन वार्डमा अहिले १२ जना उपचाररत छन्। काठमाडौंमा र आसपासमा देखिएका कोरोना संक्रमितका सम्भावितलाई पाटन अस्पतालमा उपचार गरिदै आएको छ । चीनमा कोरोना संक्रमित बढ्दै जान थाले पछि नै पाटन असपतालाई आइसोलेसनका रुपमा विकास गरिएको थियो । अस्पतालले सुरु देखि नै पीपीईसमेत उत्पादन गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षित रुपमा काम गर्ने वातावरण बनाएको छ । नेपालमा अहिलेसम्म कोरोनाबाट ३ जनाको निधन भइसकेको छ भने संक्रमितको संख्या आज बिहानसम्म ४ सय ८७ जना पुगेको छ।