23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
HomeUncategorized'बहु-धार्मिक मार्गमा लम्कँदै चुम्लुङकाे जहाज'- अमित याक्थुङ्बा मिहाङ

‘बहु-धार्मिक मार्गमा लम्कँदै चुम्लुङकाे जहाज’- अमित याक्थुङ्बा मिहाङ

प्रारम्भ :

कियाचु नेपालले भर्खरै २०७६ फागुन १६ र १७ गते आफ्नाे राष्ट्रिय चुम्लुङ बैठक सम्पन्न गरेको छ । लिम्बुवानकाे बिर्तामोडमा चुम्लुङले करिब साढे दुई दर्जन निर्णयहरू पारित गरेर सार्वजनिक पनि गरिसकेको अवस्था छ । निर्णय सार्वजनिक भएलगत्तै सबैभन्दा पेचिलाे प्रतिक्रियाहरू भने ‘धर्म’काे विषयमा आइरहेकाे छ । अहिले याक्थुङ समाजमा सबैभन्दा बढी धर्म र सँस्कृतिकै मुद्दाले प्रधानता पाएकाे छ ।

१. के छ निर्णयमा ?

चुम्लुङले गरेको निर्णय सबैभन्दा बढी अाउन लागेको जनगणनामा केन्द्रित देखिन्छ । १२ अाैँ राष्ट्रिय जनगणना वि.सं. २०७८ मा हुँदैछ । ०४६ भदाै १७ गते चुम्लुङ स्थापना भएको हाे । त्यस्तै, अन्य चार जातीय संस्थासँग मिलेर चुम्लुङले ०४८ जनगणनादेखि धर्मकाे महलमा ‘किरात’ लेखाउँदै आएकाे छ । राष्ट्रिय चुम्लुङले ०७८ मा पनि ‘किरात’ धर्म लेखेर निरन्तरता दिने निर्णय गरेको छ । ३० बुँदेकाे सिरानमा लेखिएको छ, ‘आगामी राष्ट्रिय जनगणना २०७८ मा जात/जातिको महलमा लिम्बु, भाषाको महलमा लिम्बु, थरकाे महलमा आ-आफ्नाे थर, धर्मको महलमा किरात लेख्न लेखाउन याे राष्ट्रिय चुम्लुङ सम्पूर्ण लिम्बुहरूलाई हार्दिक अनुराेध गर्दछ ।’ यसअघि, चाैबिसे धनकुटामा सम्पन्न २२ औं राष्ट्रिय बैठकले पनि ‘किरात’ धर्म लेखाउन उल्लेख गरेको छ ।

२. किन र कसरी हुँदैछ विवाद ?

याक्थुङ जातिमा पछिल्लो समय धर्मकाे बहस चरमविन्दूमा पुगिरहेकाे छ । चाैथाे ठूलो धर्मका रूपमा ‘किरात’ लेखिदै आए पनि अहिले याक्थुङ(लिम्बु) समुदाय धर्मकाे विषयले रन्थनिएकाे छ । पछिल्लो समय माैलिकताकाे विषयका आधारमा दुई कित्ता प्रष्ट देखिन्छ । ०३६ सालमा स्थापना भएको किरात धर्म तथा साहित्य उत्थान सङ्घ र फाल्गुनन्द समाजले ‘किरात’ धर्मकाे नेतृत्व गरिरहेकाे छ । त्यस्तै, ०७४ मा सङ्गठित भएको युमा साम्याे महासभाले युमा धर्मकाे वकालत गरिरहेकाे छ । ‘किरात’ धर्मले युमा साम्याेलाई पन्थकाे रूपमा स्वीकार्न चाहेकाे छ । तर, माैलिक धर्मका रूपमा युमा धर्म/साम्याे रहेको भन्दै महासभाले लारूम्बामा अभ्यास भइरहेको कर्मकाण्ड र सँस्कारलाई हिन्दू प्रभावित ‘जाेसमनी’ पन्थ या शैव सम्प्रदायकाे संज्ञा दिएको छ । यसबीच, चुम्लुङले ‘किरात’ धर्मकाे वकालत गरिरहेकाे छ ।

३. धर्मकाे विवादकाे चुराे

याक्थुङ समुदाय नेपालकाे ११ औं ठूलो जाति हाे । नेपालमा करिब साढे चार लाख जनसंख्या रहेको याक्थुङ समुदायमा पहिचानको प्रश्न सबैभन्दा घनीभूत रूपमा उठ्ने गरेको छ । राजनीतिक स्वायत्तताकाे आन्दोलनमा याक्थुङ सबैभन्दा क्रियाशील छ । लिम्बुवान आन्दोलन त्यसैको उदाहरण हाे ।  पहिचानकाे एउटा आयाम साँस्कृतिक पहिचान पनि हाे । सँस्कृति र आचरणहरूकाे पुञ्ज या समष्टिगत रूप धर्म हाे । फेरि, याक्थुङ समुदाय खाजाेङ(कर्मकाण्ड/सँस्कार)मा अाधारित समुदाय पनि हाे । ५० देखि ६० काे दशकसम्म चुम्लुङले पनि ‘किरात’ धर्म भन्दै आएपनि परम्परागत सँस्कार सँस्कृतिलाई नै प्राथमिकता दिँदै आएकाे थियाे । तर, पछिल्ला नेतृत्वहरूले ‘धर्म’ लाई गम्भीरतापूर्वक लिएर हाकाहाकी निर्णय लिएपछि विवाद सुरु भयो । राजारानीको बैठक(२०७५)ले परम्परागत संस्था फेदाङ्मा, साम्बा, येबा/येमा र सेवा साम्बालाई समान मानेर ‘किरात’ धर्मकाे पक्षमा उभिने निर्णय गरेपछि समुदायभित्र तिक्तता बढेको छ । वि.सं. १८७५ काे नीति मान्ने र स्मृति मान्ने, वि.सं १९८८ काे सत्यधर्म मुचुल्कापछि याक्थुङ समाज अन्देखा विभाजनमा गइसकेको थियाे । भलै दुवै पक्षले अ-आफ्नाे ठाउँमा कर्मकाण्डकाे अभ्यास गरिरहेका थिए ।

४. धर्मबारे के भन्छ संविधान ?

गाेरखाली राजा पृथ्वीनारायण शाहकाे असली हिन्दुस्तान, जङ्गबहादुर राणाकाे मुलुकी ऐनले नेपाललाई हिन्दूहरूकाे मुलुक करार गरेको थियाे । संवैधानिक रूपमा नेपाल वि.सं. २०६५ जेठ १५ मा सङ्घीय लाेकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्ष मुलुक घाेषणा भयाे । जनसाङ्ख्यिक हिसाबले अझै पनि हिन्दू धर्मावलम्बीहरू बहुमत छन् । तर, संवैधानिक हिसाबले मुलुक धर्मनिरपेक्ष भएको छ । ०७२ काे संविधानले पनि यसैलाई सदर गरेको छ । भाग-१ काे धारा ४ मा भने प्रष्टीकरणमार्फत् सनातनी पालादेखिकाे धार्मिक साँस्कृतिक चलन तथा स्वतन्त्रता भनेर धर्मनिरपेक्षकाे व्याख्या गरेको छ । हिन्दूहरूले सनातनलाई प्रारम्भकाे आफ्नाे धर्म बुझ्दछ । ठीक यस मेसाेमा आदिवासी समूहहरूले अाफ्नाे परम्परागत र आदिम समयकाे सँस्कार, मूल्यमान्यता र आस्था बुझ्दछ । याक्थुङ समुदायमा अहिले चर्किएको बहसकाे विन्दू पनि यहीँ हाे ।

५. चुम्लुङकाे नीतिगत अस्थिरता

सिद्धान्त: चुम्लुङ अादिवासी याक्थुङ(लिम्बु) समुदायको जातीय सामाजिक सङ्गठन हाे । ३० वर्षकाे दाैरानमा उसले आफूलाई अधिकारमुखी र आन्दोलनकारी शक्तिका रूपमा पनि उभ्याएको छ । नेपाल आदिवासी जनजाति महासङ्घले आफ्नाे घटक संस्थाका रूपमा चुम्लुङलाई मानेको छ । भाषिक आन्दोलन, स्वायत्तताप्राप्तिको आन्दोलन, अादिवासी जनजाति अधिकारकाे आन्दोलनकाे मामिलामा चुम्लुङ अन्य जातीय संस्थाभन्दा अगाडि छ । तर, पछिल्लो समय घरभित्रकै संवेदनशील मुद्दामा छिप्लिँदै गइरहेको छ ।

लिम्बुवानप्राप्तिको कार्यनीतिक नारा लिएर चुम्लुङ आन्दाेलित भएको २०६३ काे महाधिवेशनदेखि हाे । संयुुक्त लिम्बुवान माेर्चा नेपाल, सङ्घीयता कार्यान्वयन लिम्बुवान सङ्घर्ष समिति, आदिवासी जनजाति संयुक्त सङ्घर्ष समिति, संयुक्त लिम्बुवान सङ्घर्ष समिति, लिम्बुवान किरात सङ्घर्ष समितिसम्म आइपुग्दा लिम्बुवान प्राप्तिकाे आन्दोलनमा खाेट लाउने ठाउँ छैन । तर, ‘धर्म’काे बहस भइरहेको बेला चुम्लुङ माैन या तटस्थ रहेको भए विवादले सिर्जनात्मक रूप लिन्थ्याे । आखिरमा याक्थुङ समुदायले राज्यबाट सुविधा धर्मकाे जनसंख्याका अाधारमा नभएर समुदायकाे सङ्ख्याका आधारमा लिने हाे । समावेशी समानुपातिकाे आधार जातीय जनसंख्या हाे । आस्था हाेइन ।

वि.सं. २०७१ बैशाख ११ देखि १३ गते चुम्लुङ नेपालकाे अायाेजनामा लिम्बुवानकाे धरानमा भएको प्रथम अन्तर्राष्ट्रिय लिम्बु सम्मेलनले धर्मबारे बहस गरेको थियाे । १५ राष्ट्रहरूकाे याक्थुङहरूकाे सहभागिता भएको सम्मेलनले धर्मबारे निर्देशनात्मक घाेषणापत्र जारी गरेको थियाे । पहिलाे बुँदामै सनातनी मूल्यमान्यतामा आधारित याक्थुङ मुन्धुमले निर्दिष्ट गरेकाे सँस्कार सँस्कृति र कर्मकाण्ड मान्ने भनेर सम्मेलनले धर्मबारे सहजतापूर्वक ट्ङ्ग्याएकाे छ । धर्म व्यक्तिकाे आस्था र  नैसर्गिक अधिकारसँग सम्बन्धित कुरा हाे । चुम्लुङ सबै राजनीतिक र साँस्कृतिक आस्था, पेशा, पृष्ठभूमिकाे प्रतिनिधित्व गर्ने संस्था हाे भने धर्मकाे विषयमा तटस्थ रहनुपर्छ ।

६. अबकाे विकल्प

धर्मनिरपेक्ष भए पनि नेपाल हिन्दू मूल्यमान्यताबाट निर्देशित संविधान र कानूनबाट शाषित देश हाे । ०७२ काे संविधान गैरहिन्दू आदिवासी जनजाति समुदायमैत्री छैन । बाँझिएका ऐन कानूनहरू प्रशस्तै छन् । संविधान संशोधनको मुद्दा अहिले चर्को रूपमा उठिरहेको पनि छ । साझा साँस्कृतिक आन्दोलनका लागि पनि चुम्लुङले सबै आस्थाहरूलाई ख्याल गरेर अघि बढ्नुपर्छ । जाति र भाषाको स्थिति निर्णायक तत्व हाे । धर्म त मान्छेले स्वेच्छिक हिसाबले परिवर्तन पनि गर्न सक्छ । तर, रक्त सम्बन्ध र साँस्कृतिक अनुवांशिकताचाहिँ सक्दैन । चुम्लुङ याक्थुङ इतिहाससँग रक्त सम्बन्ध राख्ने समूहरूकाे सङ्गठन हुनुपर्छ ।

यदि, धर्मबारे नबाेलेर धरै नपाउने स्थिति हाे भने तटस्थ नीति या बहुधर्मकाे अवधारणा लिनुपर्ने हुन्छ । उदाहरणका लागि नेवार समुदाय । जहाँ बाैद्ध र हिन्दू धर्मावलम्बीहरू समान छन् । नेवा:देय दबु, नेवा: मङ्क खल:ले ‘धर्म’ बारे उर्दी जारी गर्दैन । भाषा र सँस्कृतिले जाेडिरहेकाे छ । मगर समुदायमा समेत हिन्दू, बाैद्ध र बाेन धर्म लेखाउनेहरू छन् । याक्थुङहरूकाे आफ्नै मात्रै जातीय धर्म हुन सक्ने जिकीर युमा साम्याेवादीहरूकाे छ । यहूदी, शिख धर्म पनि जाति या सम्प्रदायकै धर्म हाे । ‘किरात’ मान्नेहरू हुन् या युमा धर्म मान्ने धार्मिक सहिष्णुताचाहिँ राख्नुपर्छ । आस्थालाई आँकडामा हेर्नुहुन्न । उसाे त विश्वकाे ठूलाठूला धर्महरू भनेका इसाई र इस्लाम नै हुन् । विश्वकाे धर्मकाे कुरा गर्ने हाे भने प्रकृतिपूजक धर्म मान्नेहरू गाैण रूपमा छन् ।

चुम्लुङले धर्मकाे नाममा भन्दा पनि समुदायको साँस्कृतिक मूल्यमान्यता, माैलिक दर्शन, कर्मकाण्ड, भाषिक साँस्कृतिक जागरण, प्राग-ऐतिहासिक मुन्धुमी स्थलहरूकाे संरक्षणमा ध्यान दिनु श्रेयस्कर हुन्छ ।

नाेगेन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments