चैत २२, २०७६- नेपाल मुस्लिम संघका सभापति अब्दुल सत्तारले भारतको नयाँदिल्लीस्थित निजामुद्दिनमा मुस्लिम संस्था तबलिगी जमातको हेडक्वार्टरमा आयोजित धार्मिक सभामा सहभागी फर्केकाहरुमा कोरोना भाइरसको संक्रमण हुन सक्ने भएकाले स्थानीय सरकारको सम्पर्कमा आउन उनीहरुलाई अनुरोध गरेका छन्।
अध्यक्ष सत्तारले धार्मिक सभामा सहभागी भएर फर्किएका मुस्लिमहरुमा पनि संक्रमण हुन सक्ने खतरा भएकोले परिवार, गाउँ टोल र राष्ट्लाई नै यो संक्रमणबाट जोगाउन स्थानीय सरकारको सम्पर्कमा तुरुन्त आउन आग्रह गरेका हुन्। साथै उनले स्थानीय सरकारको सम्पर्कमा आएपछि १४ दिनसम्म क्वारेन्टाइनमा बस्न पनि उनीहरुलाई अनुरोध गरेका छन्।
यसैबीच, भारतको धार्मिक सभामा सहभागी भएर फर्केका तीन जना नेपाली सप्तरीमा भेटिएका छन्। घर फर्की लुकेर बसिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई फेला पारेको हो। बुधबार राजविराज नगरपालिका ४ स्थित मिनी मार्केट अगाडि घर भेटिएका तीनै जनालाई क्वारेन्टाइनमा पठाइएको छ।
दिल्ली जमातमा सहभागी भएर आएका आठ जनामध्ये अन्य पाँच जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
सप्तरीको बोदे बर्साइन नगरपालिकामा गत फागुन ३ देखि ५ गतेसम्म भएको मुस्लिम धार्मिक सभा सकिएलगत्तै मुस्लिम समुदायका व्यक्तिहरु जमातमा सहभागी हुन दिल्ली गएका थिए।