भारतमा कोरोना संक्रमितको संख्या १० दिन मै दोब्बर भएको छ । यस अघि भारतीय स्वास्थ्य मन्त्रालयले १२ दिनको अवधिमा संक्रमितको संख्या दोब्बर भएको बताएकोमा अब त्यो घटेर १०.२ कायम भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

स्वास्थ्यमन्त्री हर्ष बर्धनले संक्रमित मध्ये ३.३ प्रतिशतको मृत्यु भएको र यो विश्व कै कमदर भएको दाबी गरेका छन् । उनका अनुसार कुल संक्रमित मध्ये केवल १.१ प्रतिशतलाई भेन्टिलेटरको आवश्यता परेको, ३.३ प्रतिशतलाई अक्सिजन आवश्यक परेको र ४.८ प्रतिशत आईसीयुमा रहेको बताए ।
उनले भारतको कोरोना परिक्षण गर्ने क्षमता अघिलू हप्ता प्रति दिन ७५ हजार रहेकोमा अब बढेर ९५ हजार भएको बताएका छन् । उनका अनुसार हाल भारतमा ३२७ सरकारी प्रयोगशाला र ११८ निजि प्रयोगशालाबाट परिक्षण भईरहेका छन् ।
हालसम्म भारतमा ५६ हजार ३ सय ४२ जनामा संक्रमण देखिएको, ति मध्ये १६ हजार ५ सय ४० जना निको भएको र १८ सय ८६ को मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।