कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या बढने क्रम नरोकिएपछि भारत सरकारले बन्दाबन्दीको अवधिलाई थप दुई हप्ता थप्ने तयारी गरेको छ। भारतमा अवधि लम्बिएसँगै नेपालमा पनि बन्दाबन्दी लम्बिने निश्चित जस्तै भएको छ।
भारतका प्रधानमन्त्री नरेन्द मोदी र मुख्यमन्त्रीहरूबीच करिब चार घण्टा लामो छलफल भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । भिडियो सम्मेलनमार्फत गरिएको छलफलका निष्कर्षहरूलाई औपचारिक रूपमा घोषणा भने गरिएको छैन । यद्यपि बैठकमा बन्दाबन्दी बढाउने सहमति भएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विटरमार्फत सार्वजनिक गरेका छन्।
नेपालले बन्दाबन्दी कहिलेसम्म गर्ने भन्ने कुरा सुरुदेखि नै भारतको रणनीतिमा निर्भर रहँदै आएकाले त्यहाँ दुई साता थप भएसँगै नेपालमा पनि लम्बिने निश्चित भएको जनाइएको छ।
नेपालमा पनि कोरोनाको कारण मृत्यु भएको पुष्टि भएपछि प्रधानमन्त्री केपी शर्मा ओली आगामी दिनमा कडाईका साथ बन्दाबन्दीको अवधि लम्बाउने निर्णयमा पुगेको उनि निकट स्रोतको भनाई छ। त्यसमा पनि भारतले बन्दाबन्दीको अवधि दुई साता थप गरेपछि नेपालसँग बन्दाबन्दीको अवधि लम्ब्याउनुको बिकल्प नभएको स्रोतको दाबी छ।
बीचमा काठमाडौंमा बन्दाबन्दी केहि खुकुलो गरिएको प्रति प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाउदै आएको बताउदै स्रोत भन्छ, प्रधानमन्त्री हिजोपनि बन्दाबन्दीमा कडाई गरिनुपर्छ भन्नेमा हुनुहुन्थ्यो, अब संक्रमणको संख्या बढेको र कोरोनाको कारण पहिलो मृत्यु भएको घटनाले बन्दाबन्दी झनै कडा र व्यवस्थित हुनेमा कुनै शंका छैन।
नेपाल सरकारको यसअघिको निर्णयअनुसार बन्दाबन्दी गर्ने अवधी जेठ ५ गते सकिदै छ। सरकारले आजभोलि नै निर्णय गरेर बन्दाबंदी लम्बिएको घोषणा गर्ने जनाईएको छ। नेपालमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै चैत ११ देखि बन्दाबन्दी सुरु भएको थियो।