
नेपालमा कोरोनाभाइरस महामारीको जोखिम कम गर्न घोषित लकडाउनको मौका छोपेर वन्यजन्तुको अवैध सिकार तथा काठ तस्करी बढेपछि निकुञ्ज तथा आरक्षमा सुरक्षा निगरानी बढाइएको अधिकारीहरूले जनाएका छन्।
लकडाउनको समयमा सुरक्षा निकाय र प्रशासनको आँखा छलेर अवैध सिकारी तथा काठ र वनपैदावार तस्करी गरिरहेको अवस्थामा दर्जनौँ व्यक्ति पक्राउ परेको वन मन्त्रालयमातहत रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।
विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले भने, ”लकडाउनको पहिलो हप्तादेखि नै सिकारी तथा तस्करहरू गैरकानुनी रूपमा निकुञ्ज प्रवेश गरेपछि सबै निकुञ्जमा सुरक्षा थप गर्न निर्देशन दिइसकेका छौँ।”
भिडन्तमा सिकारीको मृत्यु
लकडाउनका बेला गस्तीमा रहेका सुरक्षाकर्मीको टोलीसँग भिडन्त हुँदा एक जनाको सन्दिग्ध सिकारीको मृत्यु भएको र सुरक्षाकर्मीसहित केही अन्य घाइते भएको श्रेष्ठले बीबीसीलाई बताए।
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनका अनुसार निकुञ्जको भित्री भागमा अवैध सिकारीहरूको एउटा टोलीमा ११ जना थिए। तीमध्ये एक जनाको ज्यान गयो भने अर्का एक व्यक्तिलाई हतियारसहित पक्राउ गरिएको छ।
त्यहाँ नेपाली सेनाका जमदारको दाहिने खुट्टामा गोली लागेको छ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत महर्जनले भने, ”पक्राउ पर्ने एक सिकारी काठमाण्डूमा रङ्गरोगन लगाउने काम गर्ने व्यक्ति भएको र लकडाउनका बेलामा घर फर्किएको हुनाले सिकार गर्न आएको बुझिएको छ।”
लकडाउनका बेला घाँसदाउरा गर्न निषेधित क्षेत्रमा प्रवेश गर्ने व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको छ।
चितवनमा ड्रोनबाट निगरानी
लकडाउनको अवधिमा सिकारी र तस्करहरू सक्रिय हुन थालेपछि चितवन राष्ट्रिय निकुञ्जले विभिन्न ६१ स्थानबाट पैदलगस्ती गर्न थालेको छ।
निकुञ्जमा जोखिममा भएका स्थानमा ड्रोनबाट पनि निगरानी हुन थालेको छ।
तर लकडाउनकै बेलामा गम्भीर चोटसहित मृत भेटिएका दुई घडियालको विषयमा भने अहिलेसम्म अनुसन्धान टुङ्गोमा पुग्न सकेको छैन।