20.1 C
Kathmandu
Wednesday, November 29, 2023
Homeअन्तरराष्ट्रियमालबाहक रेलगाडीले ठक्कर दिँदा १६ जना मजदूरको मृत्यु

मालबाहक रेलगाडीले ठक्कर दिँदा १६ जना मजदूरको मृत्यु

औंरगाबाद । महाराष्ट्र राज्यको औरंगाबादमा मालबाहक रेलगाडीले रेलको लिकमा आराम गरिरहेका प्रवासी मजदूरहरुको एक समूहलाई शुक्रबार बिहान ठक्कर दिँदा १६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


सवारी साधनको अभावमा हिँडेरै आआफ्ना घरतर्फ गइरहेका प्रवासी मजदूरको एक समूहलाई मालबाहक रेलले जालना र औरंगाबादबीच बिहान ६.३० बजे किचेको थियो । उक्त दुर्घटनामा अन्य केही मजदूर पनि घाइते भएका छन् ।


घाइतेहरुलाई औरंगाबादस्थित स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घटनालगत्तै प्रहरी र उद्धारकर्मी घटनास्थल पुगेका थिए । भारतीय रेलवेले मजदूरहरु रेलमार्गमा आराम गरिरहेको समयमा दुर्घटना भएको जनाएको छ ।

भारतीय रेलमन्त्री पियुष गोयलले उक्त घटनाको जाँचको आदेश दिएका छन् । संचार माध्यमहरुका अनुसार यी सबै मजदूर मध्यप्रदेशका थिए । प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले मृतक मजदूरका प्रत्येक परिवारलाई भारतीय रुपैयाँ पाँच लाख दिने घोषणा गरेका छन्  ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालगत्तै ट्वीट गरी महाराष्ट्रको औरंगाबादमा भएको घटना अत्यन्त दुःखद भएको र आफू घटनाबाट मर्माहत भएको जनाउँदै आफूले रेलमन्त्रीलाई उक्त घटनाबाट पीडितलाई जतिसक्दो चाँडो सहयोग गर्न निर्देश दिएको बताएका छन् ।


भारतमा देशव्यापी लकडाउन घोषणा गरेपछि मुम्बई, नयाँ दिल्ली समेतका ठूला शहरबाट लाखौं मजदूर पैदलै हिँडेर आआफ्ना घर फर्किरहेका छन् । पछिल्लो पटक भारतमा भएको यो दुर्घटना लकडाउनको अवधिको सबैभन्दा भयानक हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments