निमा पोङ्स्युवा धरान । लिम्बु याक्थुङ समुदायको आस्थाको धरोहर मुकुम्लुङ्लाई हिन्दुकरण गरि पाथिभरा नामकरण गरि त्यस नामबाट गतिविधि गरेको भन्दै यातायात बन्दसंगै ताप्लेजुङ बन्दको आयोजना गरिएको छ ।
पाथिभरा क्षेत्र बिकास कोषले यहि अशोज १३ देखि पाथिभरा म्याराथन पर्यटन महोत्सव लगाउने भएपछि मुकुम्लुङ बचाओ संघर्ष समिति र किरात याक्थुङ चुम्लुङले अशोज १० गतेदेखि १३ गतेसम्म बन्दको आह्वान गरेको छ ।
सोमबार ताप्लेजुङ जाने चारैतिरको यातायातलाई बन्द कर्ताहरुले अवरोध गरिएको छ । धरान धनकुटा हुदै तमोर करिडोर भएर ताप्लेजुङ जाने संपुर्ण यातायातलाई लाबोरबोटेमा रोकेको कुरा प्रदिप नेयोङले जानकारी दिए । त्यहाँ धरानबाट गएका लिबि मंचका विद्यार्थी चुम्लुङका सदस्य लगायत गएर यातायात रोकेको बताए । उनले ताप्लेजुङमा वार्ता भैरहेको भन्दै वार्ता सफल नभए त्यहि बसेर निरन्तर यातायात अवरोध गर्ने जानकारी दिए ।
झापाबाट पान्थर हुँदै ताप्लेजुङ जाने संपुर्ण यातायातलाई मुकुम्लुङ बचाओ संघर्ष समितिले बाटोमा रोकिएको छ ।
पाथीभरा क्षेत्र बिकासले यहि अशोज १३ गतेदेखि पाथिभरा म्याराथन पर्यटन महोत्सव लगाउने भएपछि मुकुम्लुङ बचाओ संघर्ष समितिले बन्दको आह्वान गरेको हो । आयोजकलाई पटकपटक स्थगन गर्न आह्वान गरिए पनि ताप्लेजुङ जिल्ला प्रशासनले नै भयरहित रुपमा महोत्सव संचालन गर्न आदेश दिएपछि मुडभेटको स्थितिमा पुगेको छ ।
मुकुम्लुङलाई हिन्दुकरण गरि पाथिभरा नामाकरण गरिएको प्रति आपत्ति जनाउदै मौलिक नाम यथावत राख्न संघर्षरत पक्षले पाथिभरा बिकास समितिलाई आह्वान गर्दै आएको छ । तर समिति भने मुकुमलुङ सच्याउन नचाहेको देखिन्छ । आजको बन्दको बिषयमा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ,फुङ्लिङ नगरपालिकाको उपलब्ध टेलीफोन नम्बरमा संपर्क गर्दा सम्परक हुनसकेन ।
यो समाचार तयार पार्दासम्म कुनै अपृय घटना भने भएको छैन ।अहिले वार्तामा दुबैपक्ष बसेको र ताप्लेजुङ बजार पनि बन्द रहेको कुरा श्री लिम्बुले जानकारी दिए ।
संघर्ष समिति र किरात याक्थुङ चुम्लुङले प्रेस बिज्ञप्ति जारि गरेपछि प्रतिरक्षा गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पनि भयरहित महोत्सव संचालन गर्न प्रेस बिज्ञप्ति जारि गरेका थिए । त्यसपछि भने राजनीतिक दलले थप आन्दोलनरत पक्षलाई समर्थन गर्दै प्रेस बिज्ञप्ति जारि गर्दै वार्ता मार्फत समाधान गर्न अन्यथा आयोजक जिम्मेवार हुन भनेपछि यसले थप मुडभेटको स्थितिमा पुर्याएको हो ।