चर्चित बलिउड संगीतकार, निर्देशक तथा गायक वाजिद खानको निधन भएको छ। ४२ वर्षको उमेरमा सोमबार बिहान उनको निधन भएको इण्डिया टुडेले जनाएको छ।
संगीतकार सलीम मर्चेन्टले वाजिदको मृत्यु भएको पुष्टि गरेका हुन्। स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि वाजिद केही दिन अगाडि मुम्बईको चेम्बुरस्थित सुराना अस्पताल भर्ना भएका थिए। केही दिन अगाडि उनमा कोरोना पोजेटिभ पुष्टि भएको थियो।
किड्नीको समस्या थियो, केही महिना अगाडिमात्र त्यसको प्रत्यारोपण भएको थियो। हालैमात्र उनले मृगौलामा संक्रमण भएको थाहा पाएका थिए। अवस्था बिग्रदैं गएपछि विगत ४ दिनदेखि भेन्टिलेटरमा थिए।
साजिद–वाजिदको जोडी बलिउडमा खुब लोकप्रिय थियो । उनीहरु दाजुभाइ हुन् । उनीहरु प्रख्यात तबलावादक उस्ताद शराफत अली खानका छोरा हुन् । उनीहरुले सन् १९९८ मा सलमान खानको ‘प्यार किया तो डरना क्या’ बाट करिअर सुरु गरेका थिए । त्यसपछि उनीहरुले ‘गर्भ’,‘तेरे नाम’, ‘पार्टनर’,‘दंबग’ सिरिजजस्ता दर्जनौं फिल्ममा संगीत दिएका थिए । यस वर्षको इदमा यो जोडीद्वारा संगीतबद्ध ‘भाइ भाइ…’ गीत सलमानले गाएका थिए ।
वाजिदले सन् २००८ बाट व्यावसायिक गायन थालनी गरेका थिए । उनका ‘हुड हुड दबंग…’, ‘जल्वा…’, ‘फेभिकोल से…’ जस्ता गीत चर्चित छन् । वाजितको निधनमा संगीतकर्मी र बलिउडकर्मीहरूले शोक व्यक्त गरेका छन्।