24.9 C
Kathmandu
Monday, September 25, 2023
Homeविचारराजनीतिक दुरुत्साहनको शिकार युबा - हर्क साम्पाङ्

राजनीतिक दुरुत्साहनको शिकार युबा – हर्क साम्पाङ्

देशको सबै भन्दा ठुलो शक्ति नै युवा शक्ति हो । सामान्यतय १८ बर्ष देखि ४० बर्षको बयस्क अवस्थाको मानिसलाई युवा भनिन्छ ।यही उमेर समूहको जनशक्तिमा हुन्छ देश परिवर्तन गर्न सक्ने क्षमता ।राजनीतिक सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तनमा युवाको भूमिका अग्र स्थानमा रहन्छ । तर यही महत्वपूर्ण सकारात्मक युवा शक्ति दुरुपयोग भएको खण्डमा महा-बिनाशक बन्न जान्छ । राजनीतिक दाऊपेच र सत्ता प्राप्तिको स्वार्थको लागि धाक धम्की, झैँ झगडा, आतंक, हस्तक्षेप र दमनका लागि आर्थिक, सामाजिक, पदीय या अन्य कुनै किसिमको प्रलोभनमा पारेर बिना कुनै सही सत्य नीतिगत प्रशिक्षण युवालाई राजनीतिमा प्रयोग गर्नुलाई राजनीतिक दुरुत्साहन भनिन्छ ।

नेपालमा युवालाई राजनीतिक दुरुपयोग गर्ने क्रम बढ्दो छ । पार्टीका सिद्धान्त, नीति तथा कार्यक्रम बारे पर्याप्त जानकारी नदिइकनै हुल हुज्जत गर्न दादागिरी शैलीको राजनीतिमा युवालाई तान्ने होड चलेको छ । पार्टीका सांगठानिक विधि विधान तथा अवधारणा बारे अन्तरक्रियामा पर्याप्त सहभागी नगराइकनै झण्डा बोकाएर जिन्दावाद र मुर्दावादको नारामा युवालाई विलय गराउने कृत्य बढिरहेको छ । देशको रक्षा र उन्नतिको लागि नभएर नेताले आफ्नो पेट र पार्टीको लागि युवालाई आफ्नो पछि दौडाएर सत्ता हत्याउन दङ्गा गराउने देखि लिएर चुनावमा बूथ कब्जा गर्ने सम्मको अपराध गराउँछन् । कतीपय युवाहरुलाई त अपहरण र हत्या गर्न समेत उक्साउँछन् पार्टीहरुले । यसरी दुरुपयोग गरेर युवालाई सामाजिक नैतिक पतनको खाल्डोमा धकेलेर आफु कुर्सीमा पुग्ने र कुर्सीमा टिकिरहने खेलमा प्रयोग गर्छन् र यदी आफ्नो निर्देशन विपरीत कोही जान खोजे उसलाई अनेकौं अपराधका मुद्दा लगाएर फसाउँछन् भने कतीपयलाई त इन्काउन्टर समेत गरेर सिद्ध्याउँछन् । सृजना, उत्पादन, सेवा र सुरक्षामा लगाउनु पर्ने युवालाई बिनाश, कालाबाजारी, दलाली र दादागिरीमा लगाएर समाजको समृद्धि, अमन चैन र देशको भविष्य बिगार्न तिर युवालाई धकेलिएको पाइन्छ ! राष्ट्र निर्माणमा लाग्नु पर्ने युवा बिनाशको बाटोमा लगाएर रक्षक बन्नु पर्ने युवालाई भक्षक बनाउन खोजिएको छ ।

नेपाली समाजमा व्याप्त राजनीतिक कु-संस्कारले यति आक्रान्त बनाएको छ कि राम्रो सँग कलेजको संघार टेक्न नपाउँदै अनेक थरी पार्टीहरुको तानातानमा परेर च्यातिएको युवा मस्तिष्कले सही निर्णय गर्न सक्दैन, अनेक प्रलोभनमा पर्दा सही राजनीति बुझ्न पाउँदैन ।पढाइ छोडेर बसेका बेरोजगार युवाहरुको दिशाहीन अवस्थाको फाइदा उठाएर कुटिल राजनीति साह्रै मौलाउँछ फेरि ! पढाइ सकेर जागिरको लागि र उद्दोनत्ति चाहिने जागिरेको लागि त झन् पार्टीको सिफारिस अनिवार्य प्राय बनेको छ । जिविका सँग राजनीतिलाई जोडेर निर्वाहमूखी भौतिक राजनीतिमा युवालाई फसाएर आदर्श र निष्ठावान बन्न दिइंदैन । देश र जनता, राष्ट्र र राष्ट्रियताका लागि सच्चा राजनीति गर्न दिइंदैन ।अनेक थरी समितिहरुमा अल्झाएर यति सम्म मानसिक घात र शोसन गर्छन् कि उनीहरु पार्टीका दास झैँ बन्न बाध्य बन्छन् । उनीहरु सत्य असत्य, राम्रा नराम्रा पार्टीका जस्ता सुकै ह्वीप स्वीकार गर्छन्, दायाँ बाँया गर्न सक्दै सक्दैनन् ।पार्टी निर्देशन नै सर्वोपरि बन्दछ र जुनसुकै हालमा पनि मान्नै पर्ने वाध्यता रहन्छ । फरक मतलाई हरहालमा दवाउने काम हुन्छ । निष्कासन सम्मको कारवाही गरेर तह लगाइन्छ । यसरी युवालाई नियन्त्रण र आफ्नो अनुकुल परिचालन गरेर फोहोरी राजनीति मौलाएको छ ।

युवालाई दिशा, गन्तब्य र मार्ग देखाउनु पर्ने हाम्रो समाज र सरकारले निरुत्साहित र दुरुत्साहित गरिदिनाले उनीहरुले सही बाटो पैलाउन सकिरहेका छैनन् । सरकारले उत्पादनको नीति अपनाउन नसक्नाले बढेको बेरोजगारी समस्याले गर्दा अध्ययन गर्दा गर्दै छोडेर आवारा बन्ने, दिन भरि उत्पादनहीन, महत्वहीन र अनावश्यक क्रियाकलापमा भुल्ने युवाहरुको संख्या बढ्दो छ । कुनै बिशेष काम नहुँदा आर्थिक तथा नैतिक संकटका कारण कुलतमा फस्ने, चोरि डकैती, अपहरण, दलाली र तस्करीमा लाग्ने युवायुवतीहरुको संख्या दिनानुदिन बढिरहेको छ ! बलात्कार र हत्या जस्ता जघन्य अपराधहरुमा समेत संलग्न हुने गरेका छन् । जे परेको पार्टीले बेहोर्छ भन्ने बिश्वास दिलाएर राजनीतिक संरक्षणमा उनीहरु काटमारमा प्रयोग भएकाछन् । युवाको काँधमा टेकेर सत्तामा पुग्न गरिने पार्टीहरु बीचको अस्वस्थ्य प्रतिष्पर्धाको शिकार बनेका नेपाली युवाको भविष्य अन्धकारमा पर्दा देशनै पछिल्तिर धेकेलिएको छ । समाजलाई एकताको मालामा गाँसेर देशको मुख्य चुनौती गरीवी, अशिक्षा, बिकृति विसंगतिको अन्त्य गर्ने नेक कार्य तिर भन्दा धेरै यो देशको समग्रतालाई दलीय, जातिय, धार्मिक, सांस्कृतिक तथा बर्गीय गुटहरुमा विभाजन गर्ने काममा उनीहरु प्रयोग भएकाछन् ! यो ठुलो दुर्भाग्यको कुरा हो ।

राजनीतिक विभेद र विचलनको भुमरीमा फसेका युवाहरु सही र गलत, नैतिक र अनैतिक र असल र खराब बीचको सामान्य भिन्नता छुट्याउन समेत नसक्ने बनेका छन् । आफ्ना नेताले देश बेच्ने निर्णय गर्दा सम्म पनि ताली बजाउने सम्मोहित बनेका उनीहरुले पार्टीको निर्देशनको पालना गर्नु नै राजनीतिको सार सम्झेर जीवन बिताउन लागेका युवा अरु पार्टीले राम्रै काम गर्दा समेत पनि अस्तित्व लोपको खतरा महशुस गरी बिरोधमा उत्रन्छन् । यी सब गलत प्रशिक्षणको दुष्परिणाम हो। युवालाई देशको लागि एकजुट हुन सिकाउनुको साटो सत्ताको होडमा एक अर्का सँग भिडाएर पूरै समाजलाई विखण्डन तिर लैजाने खेलले गर्दा हाम्रो देशमा राजनीतिको लागि राजनीति बाहेक अरु केही हुन सकेको छैन । देशको रक्षा र उन्नतिको लागि सबै मिलेर भ्रष्टाचार, अन्याय, अत्याचार र विभेदको बिरोध गर्नुको साटो उनीहरु आफै त्यस्ता गतिविधिहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष सम्लग्न बनेका छन् ।देशलाई गरीवी र बेरोजगारीको चपेटामा पारेर आर्थिक प्रलोभन देखाएर युवालाई प्रयोग गरी अराजकता र गुण्डा गर्दी गर्न उक्साउने राजनीतिक नेतृत्वले देशको भलो चाहेका छैनन् । साहित्य, शिक्षा, सृजना, उत्पादन, सेवा, रक्षा र उन्नतिमा लगाउनु पर्ने युवालाई सत्ताको अस्वस्थ्य खेलमा मुछेर एक अर्कासँग लडाएर भिडाएर समाजलाई विकृति र बिनाश तर्फ उन्मूख गराउने राजनीतिक कु-संस्कारलाई त्याग्न नसक्नु नै सम्पूर्ण दु:खको कारण बनेको छ ।

इमान्दार र सदाचारीहरुले थोरै कमाउँछन् । बेइमान र भ्रष्टहरुले सोचे भन्दा थोरै समयमा नै धेरै कमाउँछन् भन्ने गलत सोचाइले पनि युवालाई गिद्भ्रमित गरेको छ । काम गरेर खानु भन्दा दलाली र तस्करीमा गरेर ठगेर खानु राम्रो हो भन्ने सोच फैलिएकोले गर्दा समाजमा उत्पादनमूखी काम गर्नेको संख्या घटेकोछ भने बिचौलिया बनेर सजिलै पैसा कमाउने तिर लाग्ने युवाहरुको संख्या बढिरहेको छ । भ्रष्टाचारको अंशियार बन्न चाहने युवाहरुको संख्या बढिरहेको छ । जनतालाई जानी बुझी नै गरीब बनाएर सालै पिच्छे महँगी बढाएर के खाउँ के लाउँको स्थितिमा राखिरहन सके चुनावमा चामल र कम्बल बाँडेर, पेट्रोल, रिचार्ज र पकेट खर्च दिएर जित्न सकिन्छ भन्ने बुझेका पार्टीहरुले काइते राजनीति गरेका छन् । युवालाई माध्यम बनाएर अराजकता फैलाएर समाजलाई राजनीतिक दोहन गर्ने पार्टीहरुलाई जनताले चिन्न सक्नु पर्दछ । युवा आफै पनि सजग रहनु पर्दछ । देश भन्दा ठुलो अरु केही हुन्न भन्ने नबुझी हाम फाल्नु हुन्न युवाले ।

युवाले देशको राजनीति बुझ्नु पर्दछ ।सही राजनीति बुझ्नु र असल राजनीति गर्नु पाउनु युवाको अधिकार हो भने वर्तमानको आवश्यकता पनि ।तर बुझाइ सन्तुलित, निष्पक्ष तथा देश र आम जनताको हित गर्ने किसिमको हुनु पर्दछ । पेट र पार्टीको लागि मात्रै लड्न सिकाइएका युवाहरुबाट देशलाई काम लाग्ने शक्तिको उदय हुन सक्दैन । जिऊपाला राजनीतिमा लागेका नेताहरुले युवालाई भ्रष्टाचारको मतियार बन्न बाहेक अरु केही सिकाएका छैनन् । यो चलनको अन्त्य हुनु पर्दछ ।नेता अगुवा सच्चिएर देश र जनताको लागि असल अनुकरणीय राजनीति गर्न सके युवाले पनि त्यही मूल्यमान्यता सिक्न सक्नेछन् । थोरै बोल्ने अनि धेरै काम गर्ने गरेर नेता आफै उदाहरण बन्न सके समस्त युवाहरुले उन्नति पथ प्राप्त गर्न सक्छन् ।युवा सच्चिए मात्र देशको भविष्य उज्जल बन्न सक्ने कुरामा दुई मत छंदै छैन । युवालाई राजनीतिक स्वार्थपूर्तीका लागि दुरुपयोग गर्नु राष्ट्रिय अपराध हो । राजनीतिक पार्टीहरुले युवालाई अनेक प्रलोभन देखाएर थुन छेक गर्नु हुन्न । ज्ञान र सीप आर्जन गर्ने बेलाका युवाहरुलाई आफ्ना पार्टीका झण्डा र झोला बोकाएर आफ्नै गीत मात्रै गाउन लाउने चलनको अन्त्य हुनै पर्छ । युवा मस्तिष्कलाई स्वतन्त्र रहन दिई सृजना तिर उन्मुख गराउन सके देशले वैज्ञानिकहरुलाई जन्म दिन सक्छ । निष्पक्ष र देश भक्त नेताको जन्म पनि पार्टीको नीति सुगा रटान गराएर हुन सक्दैन । आफ्नो पार्टीले जे गर्दा पनि राम्रो र सही भन्ने मान्यता देखि मुक्त गरेर सत्य, न्याय र समानताका लागि बोल्न सिकाए युवा शक्ति नै यो देशको न्यायलय बन्न सक्छ, रक्षा कवच र कार्यपालिका बन्नसक्छ । हाम्रो जस्तो विविधताले भरिएको समाजमा युवालाई दलीय स्वार्थ देखि टाढा राखेर सामाजिक एकताको माध्यमको रुपमा पनि स्थापित गर्न सकिन्छ । युवालाई अनेक परिका विभाजनका पर्खाल माथि उठेर “हामी एक हौँ र हामी सबै मिलेर देशको बिकासमा जुट्नु पर्छ” भन्ने चेतना दिन सके र युवाको वास्तविक शक्ति र भूमिका बुझाउन सके देशको उन्नतिमा युवा शक्तिलाई अधिकतम प्रयोग गर्न सकिन्छ ।बेरोजगार र बिदेशिएका युवाहरुलाई स्वदेशमा उत्पादन क्षेत्रमा लगाउन सके समृद्ध मात्र होइन सुरक्षाको शक्तिको हिसाबले पनि देश अब्बल बन्न सक्छ ।

– हर्क साम्पाङ्

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments