23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
Homeविविधलकडाउनका कारण विपन्न वर्गका मानिसहरुको जनजीवन कष्टकर/राज्य-संयन्त्र भने मौन.

लकडाउनका कारण विपन्न वर्गका मानिसहरुको जनजीवन कष्टकर/राज्य-संयन्त्र भने मौन.


लेखक-बिनिता गुरुङ-विश्व परिवेशलाई नै आतंकित बनाउदै आएको कोरोना भाइरस(कोभिड-१९)को कारण विश्वका करिब २ सय १० राट्रहरु यति बेला लकडाउनको चपेटामा परेका छन्।त्यसमध्यको नेपाल पनि एक हो।विश्वव्यापी रुपमा आतंकको रुपधारण गर्दै आएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर अहिलेसम्म मृत्यु हुनेको संख्या २ लाख ३९ हजार ९ सय १३ छ भने संक्रमितको संख्या ३४ लाख १७हजार ८सय ८२ जना रहेका छन्। यसमध्ये निको हुनेको संख्या भने १०लाख ८९ हजार ९१ जना रहेका छन्।नेपालको सन्दर्भमा भने अहिलेसम्म जम्मा संक्रमितको संख्या ५९ जना छन् भने निको हुनेको संख्या १६ जना र मृत्यु हुनेको संख्या भने शुन्य छ।यो नै नेपाल र नेपालीहरुका लागि खुसीको कुरा रहेको छ।कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउन सुरुमा एक-साताको लागि भनिए तापनि संक्रमितको संख्यामा वृद्धि भएसंगै पटक-पटक थप गर्दै आज ४०औं दिन बितिसकेको छ।तर सरकारले जारी गरेको लकडाउनको प्रकृया कहिले देखि अन्त्य हुन्छ भन्ने विषयमा भने अझै पनि अन्यौल नै रहेको छ।जुन परिस्थितिमा सरकारले लकडाउन गर्ने निर्णय गर्यो सोही निर्णय नेपाल र नेपालीहरुका लागि भने निकै प्रभावकारी नै बन्न सक्यो।जसको प्रतिफल नेपालले अमेरिका,इटाली,स्पेन,चीन जस्ता विकसित मुलुकको जस्तो अवस्थामा गुज्रनु परेको छैन।जुन हाम्रो लागि सुखद पक्ष हो।

सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन गरेको लकडाउन प्रश्चात नेपालको होटल व्यावसाय,पर्यटन व्यावसाय,औंधोगिक कल कारखाना,सहकारी तथा बैकिङ क्षेत्र,निजी तथा सरकारी काम कारबाही,स्कुल,कलेज विमानस्थल र सवारीसाधन लगायत सम्पूर्ण क्षेत्र यति बेला ठप्प छन्।अत्यावश्यक दैनिक उपभोग्य सामानहरू बाहेक अन्य सामानहरूको आयात-निर्यात पनि ठप्प छ।जसले गर्दा नेपालको अर्थतन्त्रमा प्रभाव त परिरहेको छ।त्यस्तै आम-सर्व-साधारणको जनजीवनमा पनि प्रभाव परिरहेको छ।सबै भन्दा बढीत विपन्न वर्गका मानिसहरुको जनजीवन दिन -प्रतिदिन झन कष्टकर बन्दै गइरहेको छ।आफ्नो दैनिक कार्यलाई थाती राखी मानिसहरू घरभित्र बन्दाबन्दी अवस्थामा बस्न बाध्य छन्।दैनिक ज्याला मजदुरी गरि जीविकोपार्जन गर्ने मजदुर वर्गको घरमा चुल्हो निभ्ने अवस्थामा पुगिसकेको छ,भने कयौं मजदुर वर्ग सहरमा भोक भोकै मर्ने डरले ३-४ सय किलो-मिटरसम्म टाढा रहेको आफ्नो गृह-जिल्ला पैदलै हिडेर ७-८ दिनको कष्टकर यात्रापछि घर पुगेको अवस्था छ।दिन-रात सडकमा गुड्ने सवारी-साधन,आन्तरिक तथा बाह्य हवाई पनि उडान ठप्प छ।आफन्त,इष्टमित्र,साथी-भाइवीचको भेटघाट पनि सामाजिक दुरीमा कायम गरिएको छ।आज-भोलि बिहान बिहानै मठमन्दिर,गुम्बा तथा स्पुतामा बज्ने शंख-घण्टीहरू बज्न समेत छोडेका छन्।सभा सम्मेलन,गोष्ठी लगायत धार्मिक तथा सामाजिक कार्य गर्न रोक लगाएको छ।अध्ययन तथा रोजगारीको लागि विदेशीएका नेपालीहरूको जनजीवन कष्टकर बनिरहेको छ।विभिन्न देशबाट दैनिक भित्रिने रेमिटेन्स समेत रोकिएको छ।आज मानिसहरू अति-आवश्यक दैनिक उपभोग्य सामानको अभावमा तड्पिरहेका छन्।त्यसै गरी विभिन्न समय तालिका अनुसार हुने परीक्षाहरू समेत रोकिएका छन्।मानिसहरू शहर छोडी गाउँका खेतबारीमा रमाउन थालेका छन्।हिजो-आज दैनिक रुपमा सयौं शव जलाउने आर्यघाट समेत सुनसान देखिएको छ।यससंगै अहिले शहरी क्षेत्र गाउँको रुपमा परिणत भएको छ भने उता गाउँ शहरको रुपमा परिणत भएको देखिन्छ।अर्थात काठमाण्डौं शहर सुनसान गाउँ झलमल भएको देखिन्छ।हजारौं नेपालीहरू महाकाली नदीको पारी मित्र-राट्र भारतको सिमानामै रोकिएकाछन्।एक देशबाट अर्को देश,एक जिल्लाबाट अर्को जिल्ला,एक गाउँबाट अर्को गाउँ,एक घरबाट अर्को घरमा आवतजावतमा प्रवेश गर्न समेत सरकारले रोक लगाएको छ।मानव देखि मानवनै त्रसित भइरहेको अवस्था छ।

कोरोना भाइरसको विश्वब्यापी महामारीको कारण यो साझा भू-मण्डलका बहुसंख्य मानव जाति करिब ४ महिना देखि साझा मानवीय संकटबाट निसास्सिएको,आक्रान्त भैरहेको,ज्यान गुमाइरहेको र आकुल व्याकुल भइरहेको कहाली लाग्दो दर्दनाक अवस्थामा रहेका छन्।संसार भरि फैलिएको कोरोनाको युद्ध विराम बाट नेपाल पनि अछुतो रहन भने सकेको छैन।नेपालमा पनि सुरुमा केही आयातित केसहरु देखिएपनि समयमै तिनीहरुको उचित पहिचान-नियन्त्रण फलो अप र व्यवस्थापन नगरिए यसले ल्याउने परिणाम भयावह हुनेछ।यसैको परिणामस्वरूप यो भाइरसको लक्षण अन्य स्थानीयमा पनि देखिएको छ-थप बढ्न सक्ने सम्भावना पनि उतिकै छ।पछिल्लो समयमा राज्य संयन्त्र एदमै मौन बसेको जस्तो देखिएको छ।यदि सरकार अहिले मौन बसेको खण्डमा आगामी दिनमा कोरोना भाइरसलाई नियन्त्रण गर्न ठूलो चुनौती हुने छ।त्यसकारण सरकारको ध्यान कोरोना भाइरस भन्दा दाया-बाँया कतै नजाओस्।अहिले विपन्न वर्गको लागि न धैर्यता हुन्छ न कुनै भविष्यको चिन्ता उनीहरुलाई त केवल वर्तमानमा रमाउने र बाच्ने बानी परिसकेको हुन्छ जहाँ अहिले वर्तमान निस्पट्ट अन्धकार छ।मजदुरवर्ग जो वर्तमान सरकारलाई अभिभावक मान्थे,बर्गीय आधारमा नजिकको नातेदारी ठान्थे उनैले बेवास्ता गर्दा हीनताबोध गर्दै के रात के दिन निरन्तर यात्रा गरिरहेका छन् भने कोहिखुल्ला आकाशमुनि कैयौं दिनदेखि सरकार आउने बाटो कुरिरहेका छन्।तर देशका करिब एक चौथाइ जनसंख्या जो निरपेक्ष गरिबीको रेखामुनि छन् जो श्रमजीबी सर्बहारा वर्ग भनेर चिनाइएको छ।देशका विभिन्न स्थानहरुमा काम गर्ने नेपालीहरु कैयौं दिन काखमा र कोखमा अबोध बच्चा,काँधमा कुम्लो कुटुरो,दोपाटे चप्पल लखतरान शरीर लिएर अन्जान र अज्ञात बाटो हजार किलोमिटरसम्मको भोको र प्यासी यात्रातय गरिरहेका छन्।जसको ज्वलन्त प्रमाण अहिले सामाजिक संजाल हरुमा फोटो सहित छ्यास्छ्यास्ती भेट्न सकिन्छ भने कतिपय ठाउँमा त कौसीबाटै यस्तो मनै कुडिने दृश्य देख्न सकिन्छ। अनि मनमा प्रश्न उठ्छ राज्य अहिले कुन राजनैतिक विचारधाराले नेतृत्व गरिरहेको छ रु उसको राजनैतिक दर्शन के हो र के आम-जनता भोटका लागि मात्र हुन् त रु अथवा जनता क्यारमबोर्डका गोटी सरह हुन्रु राज्यको दायित्व के हो रुबिचरा१ ती श्रमजिबी बर्गहरुले ठेकेदार,स्थानीय प्रतिनिधि,सरकारको बाटोपनि नहेरेका भने होइनन् तर संबन्धित निकायबाट कुनै पनि सुनुवाई नहुने अनि संकट ब्यबस्थापनको कुनै व्यवस्था नहुने देखेर मर्नु भन्दा बौलाउन निको-अर्थात् भोकले मर्नु भन्दा रोगले मर्ने प्रण गरेर अनिश्चित लामो गन्तब्य तय गरेका हुन्।
दशकौ देखि गरिब,निमुखा,महिला,निर्धन,असहाय,पिछडा आदि वर्गको हक र हितका नाममा लड्दै आएका भनिने पात्र जो अहिले सरकारको नेतृत्वमा रहेका र बालुवाटारदेखि सिंहदरबारसम्म हर्ताकर्ता रहेका छन्।उनीहरुले बिचार गर्नुपर्छ।यदि गरिबले खान पाएनन् न्युनतम सामाजिक सुरक्षाको प्रत्याभूति सम्म हुनसकेन भने लकडाउन जुन उद्देश्यको लागि गरिएको हो।त्यसको प्रभावकारिता र प्रतिफल उल्टो आउनसक्ने सम्भावना देखिन्छ।कसैलाई काखाकसैलाई पाखा अथवा नेपाली उखान सौताका छोरा छोरीको जस्तो व्यवहार यदि सरकारले देखायो भने त्यसको हिसाब-किताब पक्का पनि चुनाबको बेलामा जनता आफैले गर्नेछन किनकि खुकुरीको चोट अचानोलाई थाहा हुन्छ नकी चोट दिनेहरुलाई।समग्र राज्यलाई नै फाइदा पुर्याउँछ।महान् दार्शनिक कार्ल मार्क्सले भनेको जस्तो जब मजदुर र श्रमिक बर्गहरु शक्तिविहीन-मूल्यबिहिन-आदर्शविहीन र पृथकताको महसुस गर्छन वा अनागरिक भएको महसुस गर्छन् वा उनीहरुको जीवन संकटमा पर्छ वा मानवता-दया अधिकार सबै कुरा कुण्ठित हुन्छन्।अनि यो खालको अवस्थाले उनीहरुमा आक्रोशको ज्वाला पैदा गराउँछ।जसको रापले शोषक वर्ग भष्म हुने कुरा असम्यमभावी छ।ठिक यसैगरी यदि काम लगाउने ठेकेदार बेखबर हुने,खान पिउन नपाइने खुल्ला आकाशमा सुत्नुपर्ने,भोकले पटुकी कसेर हिँड्नुपर्ने,पुलिसको लाठी खानुपर्ने उचित उपचार नहुने संकटमा उद्दार नहुने,बिना विकल्प बीच बाटोबाट फर्काइने,राहतमा हेराफेरी हुने जस्ता प्रवृति सरकारले गर्दै गर्यो भने भोलिका दिनमा यो दशा नेपाली समाजमा पनि नआउलान भन्न सकिदैन।

त्यसैले,नेतृत्व तह र तप्कामा बस्ने राजनीतिक दलहरु साथै स्थानीय जनप्रतिनिधिहरुले सम्मले आफ्नो धरातल नबिर्सिकन आफ्नो माटो र परिवेश सुहाउदो नितान्त आफ्नै मौलिक रणनीति अनुसार अहिलेको महासंकटलाइ संबेनशिलतापूर्वक वैज्ञानिक र प्रभावकारी ब्यबस्थापन गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ।अन्यथा,छोटो समयको लागि वर्तमान भिड र स्थिति भड्किन जाँदा यो महाब्याधी भाइरस फैलिने मात्र छैन।जुन-आक्रोशको अर्को आँधीबेरीले वर्तमान सरकारको धोतिटोपी नै उडाइदिनेछ।लामो समयको लागि नेपाल सरकारलाई आर्थिक सँग-सँगै सामाजिक, राजनैतिक,सास्कृतिक,धार्मिक,लैंगिक असन्तुलन आइपर्नुकासाथै समग्रमा फेरि अर्को फरक स्वरुपको बर्ग र समाज निर्माण हुनेछ।किनकि राज्य कमजोर भएको अबस्थामा र सार्वजनिक नियम कानुन फितलो हुँदा र सामाजिक एकतामा तरलता आँउदा पनि समाजमा बिचलित व्यवहारहरू जस्तै:चोरी-डकैती,ठगी,हत्या-हिंसा,बलात्कार आदि बढ्ने हुन्छनजसले समाजलाई हलचल गराउन पनि सक्छ।जसको कारण समाजले आफ्नो काबु भन्दा फरक ढंगले फरक मार्ग तय गर्न पनि सक्छ,जहाँ आर्थिक भन्दा पनि सामाजिक रुपमा समान बुझाई भएका भावानात्मक हिसाबले एकत्रित समुहको जन्म हुन्छ।त्यसैगरी व्यक्तिगत र दलीय भन्दा पनि सामुहिक र मानवीय स्वार्थको बिकास हुन्छ र अन्त्यमा जनताले राज्य नेतृत्वको विकल्पसम्म खोज्ने दिन आउन सक्नेछन्।त्यसकारण भाइरसको परिक्षणको लागि आरडीटी र पिसिआरको गतिलाई अझ द्रूत बनाउनु त छदैछ त्यसको साथमा महासंकटको नियन्त्रण र ब्यबस्थापनको लागि बिज्ञ टोलीको टिमनै बनाएर वैज्ञानिक हिसाबले राज्यका प्रणाली र इकाईलाई सहि ढंगले परिचालित गराउन वर्तमान सरकारको चुनौती र अवसर दुवै रहेको देखिन्छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments