लेखक-बिनिता गुरुङ
-विश्व जगतलाईनै कोरोना भाइरसले यति बेला आतंकित बनाउदै आएको छ।विश्व भरका सम्पूर्ण मानिसहरुलाई कोरोना भाइरसले घरभित्र थुनि राखेको छ। तर कोरोना भाइरस भने युद्ध विराम गर्दै विश्वव्यापी रुपमा घुम्ने अवसर पाइरहेको छ।यो प्रताडित बनिरहेको विषम परिस्थितिमा नेपाल पनि अछुतो रहन भने सकेको छैन।सरकारले यस्तो अवस्थामा कोरोना भाइरसको आक्रमणबाट सुरक्षित रहनका लागि आन्तरिक र बाह्य रुपमा यसको तीव्र संक्रमण रोक्नको लागि सबै देशहरूले आफ्नो क्षमताले धानेसम्मको पहल र प्रयास गरिरहेका छन्।विश्व परिस्थितिलाई मूल्यांकन गर्दा अहिलेको अवस्थामा कोरोना रोकथामको मुख्य उपाय भनेको एक अर्का बीचको सामाजिक दुरी कायम गर्नु नै हो।बढी भन्दा बढी नमूना संकलन तथा परीक्षण गर्ने,लक्षणहरू देखिएकालाई आइसोलेसनमा राख्ने तथा सामाजिक दुरी कायम राख्ने देशहरूले यसको तीव्र संक्रमणको रोकथाममा सफलता पनि पाइरहेका पनि छन्।एक अर्का बीचको भौतिक तथा सामाजिक दुरी कायम गर्ने मुख्य आधारको रुपमा लकडाउन मानिएको छ।विश्वका उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने भनेर दाबी गर्नेहरूले पनि आफ्नो सेवा भन्दा लकडाउनलाई नै विश्वास मानिरहेको अवस्थामा हामीसँग त झन् कुनै अर्को तर्क र विकल्प नै छैन्।प्रत्येक दिन कोरोना भाइरस(कोभिड-१९)को संक्रमितको संख्यामा वृद्धि भएपछि सरकारले संक्रमण नियन्त्रण तथा रोकथाम गर्नका लागि देशव्यापी लकडाउन गरेको छ।लकडाउन प्रश्चात विभिन्न पेशा-व्यवसायमा आवद्ध भएका पेशाकर्मीहरु मात्र हैन,बालबालिकादेखि बृद्ध-बृद्धासम्म घरभित्रै थुनिएर बस्न बाध्य भएका छन्।सरकारले लकडाउन गरेसंगै हामी सबैको दैनिकी यसरी फेरिएको छ।समय बिताउने शैलीमा परिवर्तन भएको छ।एक-अर्काबीचको आपसी भेटघाट सामाजिक दुरीमा परिणत भएको छ।दैनिक विद्यालय जान व्यस्त बालबालिकाहरु भने यति बेला घरमा नै व्यस्त हुन थालेका छन्।आफ्नै पेशा वा व्यवसायमा सधै दौड-धुप गर्नेहरूका लागि अहिले परिवार र आफ्ना बालबालिकाहरुसंग समय बिताउने सुवर्ण अवसर पनि मिलरहेको छ।
अहिले हामी नेपाल सरकारले गरेको लकडाउनको पाचौं हप्ताको अन्तिम चरणमा छौं।लकडाउनको वास्तविक अर्थ जो जहाँ जसरी बसेको छ सोही रूपमा बस्नु हो।तर तत्काल भोग्न परेको विषम परिस्थितिबाट पार पाउनको लागि अधिकार प्राप्त निकायले लकडाउनको आदेश दिने गरेको पाइन्छ।अहिले हामी यस्तै अवस्थाको कारणले लकडाउनमा छौं र यस्तो लकडाउनलाई प्रिभेन्टिभ लकडाउन भनिन्छ।व्यस्त जीवन शैलीबाट एकै पटक लकडाउनमा बस्नु पर्दा हामीलाई समय बिताउन गाह्रो भइरहेका छ र त्यस्तो हुनु स्वभाविक पनि हो।तर अहिले हामीसँग लकडाउनको कुनै विकल्प नभएको यथार्थलाई स्वीकार गर्दै सोही अनुसार आफूलाई व्यवस्थापन गर्नु पर्ने गहन जिम्मेवारी आएको छ।जस्तो सुकै अवस्थालाई पनि आत्म सात गर्दै अगाडि बढ्नु मानव जातिको विशेषता नै हो।तर अहिले सामाजिक सञ्जालका भित्ताहरू हेर्दा लाग्छ यो लकडाउनको समय बिताउन हामीहरूलाई धेरै नै कठिनाइ भएको छ।वर्तमान परिस्थितिलाई नियाल्दा यो लकडाउन कम्तीमा पनि नयाँ वर्ष वैशाख महिना सम्म लम्बिने देखिन्छ।अब यो समयलाई एउटा अवसरको रूपमा उचित सदुपयोग गर्नु नै उत्तम र अन्तिम विकल्प हो।यो समयमा योग,साधना,ध्यान,शारीरिक कसरत गरेर आफूलाई शारीरिक र मानसिक रूपमा तन्दुरूस्त राख्न पनि सकिन्छ।अहिले मानिसहरू धेरै फुर्सदिला भएका छन्।यो समय हामीसँग आफू र आफ्नो परिवारका लागि प्रशस्तै समय छ।यो समय परिवारका लागि समय दिने एउटा सुनौलो अवसर पनि बनेको छ।सदुपयोग गर्न सकिन्छ।विगत लामो समयदेखि परिवारसँग सुख-दुःखका विषयमा एक-आपसमा संवाद गर्ने समय पनि मिलेको छ।विगतका वर्षहरुमा अध्ययन गर्न भनेर थन्किएका पुस्तकहरुका पानाहरू अहिले पल्टाएर पढ्ने समय समेत मिलिरहेको छ।यसका साथै विभिन्न अनलाइन माध्यमको पनि सहयोग लिन सकिन्छ।सामान्य समयमा हामी विभिन्न काममा व्यस्त हुने भएकोले हामीसँग हामी आफैंले गरेको कामको मूल्यांकन गर्ने समय पनि हुँदैन त्यसकारण यो समयलाई आफ्नो स्व-मूल्यांकनको लागि छुट्टयाएर अब आउने दिनहरूमा आफ्नो कार्यलाई थप व्यवस्थित र संगठित बनाउन यो समयलाई सदुपयोग गर्न सकिन्छ।त्यसकारण सम्पूर्ण कुरालाई मध्यनजर गर्दै लकडाउनको सदुपयोग गर्न सकेको खण्डमा आगामी दिनका लागि ठूलो अवसर पनि बन्न सक्छ।नेपाल सरकारले गत चैत ११ गतेदेखि देशव्यापी रुपमा लकडाउन गरेको करिब १ महिना नाघि सकेको छ।
# सरकारले गरेको लकडाउनसदुपयोग कसरी गर्ने भन्ने विषयमा ९ बुँदाहरू तल उल्लेख गरिएको छ:
१) प्रत्येक व्यक्ति र उसका उपलब्धिहरू निजका विगतका कार्यको प्रतिफलको रूपमा रहेका हुन्छन्।तपाईं पनि यो समयमा आफ्नो विगत सम्झिने,रमाउने विगतबाट सिक्ने र विगतबाट सिकेका कुरालाई वर्तमानमा सामान्यीकरण गर्न पनि सक्नु हुन्छ।
२) घरको दराजमा थन्किएर बसेका किताब पढ्ने,कोठाको भित्तामा झुण्डिएका वाद्यवादनका साधन बजाउने,घरको आन्तरिक सजावट परिवर्तन गर्ने वा मिलाउने,घरमा सम्भव हुने तथा मनपर्ने परिकार तयार पार्ने,साहित्य लेखन तथा लेख रचना सिर्जना गर्ने आदि क्रियाकलाप गरी यो समयलाई सदुपयोग गर्न सकिन्छ।
३) विपत्ति जहिले र जसरी पनि आउन सक्दछ अब आउने विपत्तिलाई कसरी सामना गर्ने र विपत्तिमा पनि दैनिकीलाई कसरी सहज भन्ने विषयमा पूर्वतयारी गर्नको लागि यो समय सदुपयोग गर्न सकिन्छ।
४) आफूलाई रुची भएका विषयको अध्ययन गर्ने,समान रुची भएका साथीहरूको अनलाइन बुक क्लबको सदस्य बन्ने तथा गुगल आदिको प्रयोग गरी विभिन्न युनिभर्सिटीका छोटो समयमा पूरा गर्न सकिने अनलाईन कोर्स अध्ययन गर्न यो समयलाई सदुपयोग गर्न सकिन्छ।
आफ्नो पेशा वा व्यवसायसँग सम्बन्धित विभिन्न अनुसन्धान प्रतिवेदनहरूको खोजी र अध्ययन गरी आफ्नो पेशालाई झन् परिस्कृत रूपमा अगाडि बढाउन यो समय सदुपयोग गर्न सकिन्छ।
५) आफूसँग भएका महत्वपूर्ण कागजपत्र,शैक्षिक प्रमाणपत्र,पुराना तस्विरहरूलाई एक एक गरी हेर्ने,मिलाउने र त्यसको डिजिटलप्रति बनाएर सुरक्षित राख्न यो समयमा सदुपयोग गर्न पनि सकिन्छ।
६) वर्ष २०७६ कसरी बित्यो मूल्यांकन गरी २०७६ मा आफ्ना सबल र सुधार्नु पर्ने पक्षहरू के-के रहे केलाउने र सोही अनुसार आफूलाई परिमार्जित गरी अर्को वर्षको सुन्दर र पूरा गर्न सक्ने योजना बनाउन सकिन्छ।
७) लकडाउनले हामीलाई सीमित पहुँचमा राखिदिएको छ,यसबाट निराश हुनु भन्दा पनि यसलाई आफ्ना खराब बानी भएको खण्डमा हटाउने अवसरको रूपमा प्रयोग गर्न पनि सकिन्छ।
८) वर्तमान समय सूचना र प्रविधिको समय हो। यदि तपाईं प्रविधिसँग अभ्यस्त हुनुहुन्न भने तपाईंको दैनिकी सहज नहुन सक्दछ। त्यसकारण परिवारका सदस्यको सहयोग लिएर आफूलाई प्रविधिमैत्री बनाउन यो समयलाई सदुपयोग गर्न सकिन्छ।
९) परिवारका सदस्यबीच केही असमझदारी भएमा छलफल गरी सहज बनाउने,तथा पारिवारिक एकतालाई थप मजबुत बनाउने कार्य गर्न सकिन्छ।यसका अतिरिक्त घरायसी काममा परिवारका सदस्यलाई सहयोग गर्ने,बालबालिकासँग अन्तर्क्रिया गर्ने उनीहरूका भविष्यका लक्ष्य तथा उद्धेश्यहरू भन्न लगाउने,आवश्यक सुझाव तथा सल्लाह गर्ने,सबै सदस्यको धारणा बुझेर पारिवारिक योजना बनाउने,आफन्तजनसँग फोन तथा सामाजिक सञ्जालमार्फत् कुरा गर्ने,खुसी रहने र बनाउने प्रयत्न गरी लकडाउनलाई समस्याबाट अवसरमा बदल्न पनि सकिन्छ।सरकारले गरेको लकडाउनलाई यदि हामीले सदुपयोग गर्न सकियौं भने आगामी दिनमा ठूलो अवसर अवश्य बन्छ।
यससँगै विश्वव्यापी रुपमा आतंकको रुपधारण गर्दैं आएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ३ हजार नाघ्यो/संक्रमितको संख्या भने २९ लाख ४०हजार भन्दा माथि।त्यसकारण शान्त भएर घरमै बसौं आफु पनि बचौं र अरुलाई पनि बचाऔं।सरकारले गरेको लकडाउनको सम्पूर्ण नेपालीहरुले एउटा सभ्य र सचेत नागरिको रुपमा पालन गरौं।सोही लकडाउनलाई हाम्रै सुरक्षाको लागि गरेको हो भनेर पनि बुझऔं।देशका लागि दिन-रात नभनिकन खट्टिरहेका राष्ट्रसेवक सुरक्षाकर्मीहरुलाई हामी सबैले सहयोग गरौ।
प्रकाशित मिति: आइतबार,वैशाख १४,२०७७,