26 C
Kathmandu
Saturday, June 10, 2023
E Sewa
Homeविविधकोरोनाको कहर: लकडाउन, सर्वसाधारण, राज्यसत्ता र नेता

कोरोनाको कहर: लकडाउन, सर्वसाधारण, राज्यसत्ता र नेता


कारोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ, जसले आम नागरिकमा थप त्रास पैदा गरिरहेको छ, त्यसमाथि ‘लकडाउन’का कारण घरभित्र बस्नु पर्ने बाध्यता । नबसौँ पनि कसरी ? कारोनाबाट बँच्नुको अरु बिकल्प पनि त छैन ।
तर रातदिन घरभित्र बस्नु पर्दाको पीडा हुने खानेका र हुँदा खानेहरुको बिल्कुल फरक छ ।
हुनेखानेहरुलाई घरभित्र बस्दाको छटपटाहट, खाद्यन्न, अतिआवश्यकीय बस्तु अभाव हुने डर होला तर, हुँदा खानेहरुलाई छाक कसरी टार्ने, साना लालाबालाहरुको भोक कसरी मेटाउने ? अनि दैनिक ज्याला मजदुरी गर्न कहाँ जाने ? जस्ता छटपटाहट छ ।
त्यसमाथि सबैको एक मात्र भरोसा र आशाको केन्द्र मानिने सरकारको कार्यशैली, उफ कति असहज दिनहरुको सामना गर्नु पर्ने ।
सरकारले दिएको आदेश पूर्णरूपमा पालना पनि गरिरहेका छौँ र हामी पूर्ण रुपमा ‘लकडाउन’मा नै छौँ सरकार ! तर निदाएका भने छैनौँ । सरकारको नेतृत्वमा हुनेहरुले गरेका र गर्न खोजेका हरेक काम, कारबाहीलाई नजिकैबाट नियाँल्दै बसेका छौँ । जनताका आवाज सुन्दै पनि छौँ । पर्यो भने आवश्यक भौतिक सहयोगमा पनि खटिने छौँ । हामी जस्ता युवालाई खटाउ र वातावरण तयार गर । यस्ता आपतकालीन र विपद्को घडीमा जरुरी पनि छ । तर खै वातावरण ?
ती मजदुर जो दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउँथे । अहिले उनीहरुको चुलोमा आगो बलेको छैन । उनीहरुको चुलो नबल्दा तिमीहरुको छातीभित्र आगो दन्किनु पर्ने हो । तर लकडाउनको यतिका दिन हुँदा पनि राहतको फारम मात्र आयो, राहत आएन भन्ने पीडितहरुको आवाज पनि सुनिरहेका छौँ ।
महामारीको यो विषम परिस्थितिमा पनि हाम्रा मन्त्री ज्यूहरु जनताको राहतमाभन्दा आफ्नै भकारी भरिपूर्ण गर्नमा लागेको कुरा पनि सुनिरहेका छौँ । यो सब थाहा पाएर जनताले खबरदारी गर्दा जनआवाजमाथि धम्किदिने सल्लाहकार ज्यूहरुको रबैया पनि हेरिरहेका छौँ ।
अहिलेको युग विज्ञान प्रविधिको युग हो । संसार निक्कै साँघुरो भइसकेको छ भन्ने कुरामा कोही पनि अनभिज्ञ छैन । जुन सुकै चिज लुकाउन, दवाउन खोजेर दबिने वाला छैन । यो विज्ञानले पनि प्रमाणित गरिसकेको छ । जुन न्यूटनको नियमले भन्छ, यदि कुनै चिजलाई दबाउन खोज्यो भने त्यसको रियाक्सन बिपरित दिसामा फैलन्छ । हो यहाँ यस्तै भएको छ ।
केहीलाई लाग्छ होला काम गर्न सजिलो काहाँ छ र ? हो काम गर्न कहीँ सजिलो छैन तर, नियत र ईच्छा शक्ति सही भयो भने जुनसुकै कुरा असम्भव पनि छैन ।
बरु काम गर्न सकिने अवस्था नै छैन भने जबर्जस्ति टाँसिनुभन्दा त्यहाँबाट निस्किनु नै राम्रो । जनतालाई दोष दिएर वा अरुलाई गाली गरेर राज्यको ढुकुटी दुरुपयोग गरेर बस्ने छुट् कसैलाई छैन र त्यो सैह्य पनि हुन्न ।
लामो संघर्ष र संक्रमणबाट गुज्रिएर आएका हामीसँग स्थायी र बहुमत प्राप्त सरकार छ भन्ने आम जनताको धारणा छ । स्वभाविक रुपमा हिजो बिजेता दलका नेताहरुले चुनावी मैदानमा गरेका बाचाहरु ताजै छन् । जन अपेक्षा असाध्यै धेरै छ । तर जनताको त्यो अपेक्षा, विश्वास र भरोसामाथि कुठाराघात गर्ने अधिकार शक्तिमा रहेकाहरुको छँदै छैन ।
यूवाहरु त यहाँको बिकृति र बेथिति सहन नसकेर पलाएन हुने क्रम त छनै तर, याहीँ सम्भावनाको झिनो आशा देख्ने धैर्यवान नागरिकहरुको पनि अब धैर्यताको बाध फुट्ने देखिन्छ । हिजो जसले अनेक सपना देखाएर आशाको दियो जगाइदिएको थियो आज त्यो फगत झुठा आश्वासनमा मात्र सिमित हुँदै गएको छ ।
सार्वभौम नागरिक हुँ भनेर गर्व गर्ने म जस्ताहरुले आज आफ्नै देशको राजनितीको शिकार हुनु पर्दाको पीडा सानो छैन । चुनावी मैदानमा बाँडिएका चिउरा मासु र पैसासँग साटिएको म जस्ता हरेक नागरिकको हजारौँ भोटको हैसियत निकम्मा सावित हुँदै गएको छ ।

कसरी गर्व गरौँ सार्वभौम नागरिक हुँ भनेर । अनि अब के गर्ने त ? के छ हामीसँग बिकल्प ? के नेपालमा बहुदलीय संसदीय व्यवस्थाको औचित्य समाप्त भयको हो त ? प्रश्ज उब्जिएको छ ।
किनकि हिजो सबैखाले आन्दोलन, कठोर त्याग, बलिदान र संघर्षबाट आएका भनिएका सबै नेताहरुको ल्याकत, कार्यशैली परीक्षण गरिसकियो । अब कसैमाथि आशा भरोषा बाँकि छैन तर समस्याहरु अनेकन रुपमा देखा परिरहेका छन् । गरिबि, अशिक्षा, बेरोजगारी, भ्रष्टाचार जस्ता कुराहरु नेपालको परिचय नै हुन थालिसक्यो ।
यीभन्दा जटिल सामाजिक न्यायका प्रश्न, समावेशिताका मुद्दा, महिला हिंसाका मुद्दा, जातीय बिभेद र अनगिन्ती सामाजिक, साँस्कृतिक प्रश्नहरुको हल गर्नु पनि त्यतिकै आवश्यक छ । यी जटिल प्रश्नको हल खोज्ने ल्याकत बर्तमान सत्तासंग छैन भन्ने कुरा विस्तारै प्रष्ट हुँदै गएको छ ।
स्वदेशको कमजोर शिक्षा र स्वास्थ्य प्रणालीबाट जोगिन बिदेशिनेहरु पनि आज संकटका बेला आफ्नै देश भित्रिन पाउँ भनेर चिच्याईरहेका छन् । यसले हामीलाई राम्रो पाठ सिकाएको मात्रै होइन कि आफ्नो देशलाई गाली गरेर बिदेश पलायन हुनुभन्दा आफ्नै देशलाई सबल र उन्नत बनाउन लाग्नु नै बेश रहेछ भन्ने कुरामा आँखा खोलिदिएको छ ।
आधुनिक युगमा बैज्ञानिक पद्धति अँगाल्दै हरेक चुनौतिको समाना गर्ने हो भने देशको मुहार फेरिन समय लाग्ने छैन भन्ने तर्फ अबका युवा पीढिँले सोच्ने बेला आएको छ ।
हिजो संघर्ष गर्ने हरेक नयां पुराना भनाउँदाहरुले आफ्नो लगानीको व्याज उठाईसकेका छन् । अझ पनि यहि सोँच र प्रवृत्तिबाट आएकालाई राजनिती र शासन सुम्पेर मुकदर्शक बन्ने हो भने भोली अर्काे रक्तपात नहोला भन्न सकिन्न ।
यसर्थ बेलैमा अबका पुस्ताले आफ्नो भविष्य र देशको भविष्यको नक्सा आफैँ बनाउन अघि सर्नुको बिकल्प छैन । किनकी कारोनाले विश्वको अर्थतन्त्रमा गम्भीर असर पारेको छ । त्यसमाथि हामी जस्तो विकासोन्मुख देश, रेमिट्यान्सले धानेको हाम्रो अर्थतन्त्रमा कोरोनाले गम्भीर समस्या खडा गर्नेछ ।
संसार पीडाले छटपटाईरहेका बेला पनि आफ्ना नागरिकको सारथी र साहारा बन्न नसक्ने हाम्रा कथित सरकार, दल र नेताबाट वर्तमान पुस्ताले केही पाउनेवाला छैन । जनताबाट बिश्वास र भरोशा गुमाईसकेकाहरुबाट राहत र समृद्धिको आशा गर्नु नै बेकार छ ।
त्यसैले म भन्छु, यसबेला सचेत देशभक्त युवा पुस्ताले देशको बारेमा नसोच्ने हो भने कसैले हल गर्दिने छैन हाम्रो समस्या । विश्व परिवेश, समयको आवश्यकता र नागरिकका आकांक्षालाई केन्द्रित गरेर समाज बदल्ने जिम्मेवारी लिन आम युवा अघि सर्नै पर्छ ।
प्रदिप घताल
संयाेजक , यूथ फर नेपाल

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments