22.1 C
Kathmandu
Wednesday, September 27, 2023
HomeUncategorizedलोसर एक चर्चा (सन्दर्भ २१४७ लोसरको)

लोसर एक चर्चा (सन्दर्भ २१४७ लोसरको)

पृष्ठभुमी:
नेपाल बहुजाति,बहुधार्मी,बहुसांस्कृतिक भएको रगिन फुलबारी जस्तै भएको देश हो।नयाँ वर्षलाई नै लोसर भनिएको हो।नेपालमा रहेका हिमाली आदिवासीहरुले लोसर भब्य रुपमा मनाउने गरिन्छ।`लो´ भनेको वर्ष र `सार´को अर्थ नयाँ भन्ने हुन्छ। नेपालका हिमाली आदिवासी बोन तथा बौद्धमार्गीले मनाउने गरिन्छ।लोसर नेपालमा मात्र नभएर चीन,भारत,भुटान,थाईलेन्ड लगायतका देशमा समेत मनाउने गरिन्छ।

नेपाली छापा मिडियामा पछिल्लो समयमा लोसर शब्दलाई केही अपभ्रंस बनाएर ल्याउने गरिएको छ त्यो ठिक होइन। लोसर शब्द आफैमा पुर्ण छ ।जहासम्म `ल् +ह = ल्हो´ लेखिने चलन ल्याए त्यसको उच्चारणको आधारमा अर्थ लगाउदा दक्षिण हुन्छ अनि सार जोड्ने हो भने नयाँ वर्ष होइन `नयाँ दक्षिण´ भनेर अर्थ लाग्छ। `लोसर´ शब्द आफैमा पुर्ण भएकोले `ल्होसर´ लेख्नु जबर्जस्ति गल बनाउनु हो।लोसर शब्द भोटवर्मेली भाषा परिवारमा सम्बोटा लिपिमा लेखिएको शब्दलाई स्थान विशेषको उच्चारणका कारण ज्यालो लोसर तथा ग्याल्पो लोसर हुन गएको हो तर सम्बोटा लिपिमा लेख्दा भने साझा नै हुन्छ्न।

लोसर १२ वर्षको पुर्ण एक चक्र हुन्छ।१२ वर्षमा हरेक एक वर्षमा एक प्राणी प्रतिकको रुपमा रहेको हुन्छ।त्यसलाई `लोखोर´ भनिन्छ।पहिलो वर्ष झिव ( मुसा),हुदै क्रमश लाङ( गोरु),ताघ(बाघ),योइ(खरायो),ड्रुक(गरुँड),डुल(सर्प),ता (घोडा),लुक (भेँडा),टि(बाँदर),झ्य (चरा),खि( कुकुर),फाक(सुँगुर) गरि एक चक्र हुन्छ।यसमा लौह,काठ,माटो,आगो,पानीग गरि पाँच तत्व र स्त्री पुरुष गरि दुई लिंग हुन्छ।प्रत्येक तत्वको स्त्री र पुरुष लिङ्ग पालो पालो हुनेहुन्छ।

यस वर्ष १२ चक्र पुरागरि पुनः नयाँ चक्र शुरु हुँदैछ।यस वर्ष च्या- फो- झिव – लो अर्थात लौह-पुरुष – मुसा – बर्ष हो। शास्त्र अनुसार जुन प्राणीको वर्ष अर्थात जुन बर्षमा मानिस जन्मिन्छ त्यो ब्यक्तिले त्यस्तै खालको आनिबानी ब्याबहार देखाउछ भन्ने भनाई छ।

लोसरका प्रकार :
लोसर नामका आधारमा मुख्य गरेर ३ प्रकारका हुन्छ्न।तर एउटै समुदायले सानो लोसर र ठूलो लोसरको रुपमा मान्ने गरिन्छ।
१) तोल लोसर,

२) सोनम लोसर,

३)ज्यालो/ग्याल्पो लोसर

१)तोल लोसर –

तोल लोसरलाई तिब्बतमा उपल्लो क्षेत्रमा मान्ने गरिन्छ।र उनिहरुले अन्य लोसर पनि मान्ने नै गरिन्छ।तर त्यो कुनै जाती बिशेष भने हुँदैन।र तोल लोसर चन्द्र पात्रो अनुसार नै मनाउने गरिन्छ।नेपालमा तोल लोसर भनेर गुरुङ समुदायले मनाउने गरिएको छ।गुरुङ समुदायले नेपाली सुर्य पात्रो अनुसार पौषको १५ गते मनाईन्छ।

२) सोनम लोसर :
सोनम लोसर पनि बौद्ध मार्गी समुदायले नै मान्ने चलन छ।तर प्रायः खेती किसान गर्ने किसान समुदाय मान्ने भएकोले सोनम लोसर भनिएको हो।त्यही सोनम लोसरलाई पनि तोला लोसर मनाएको एक महिनापछि ज्यालो लोसर/ ग्याल्पो लोसर मनाउने प्रचल छ।नेपालमा सोनम लोसर तामाङ समुदायले मनाउने गरिन्छ।यो चन्द्र पात्रो अनुसार नै मनाईन्छ।तामाङ समुदायले मन्जुश्री सम्बतलाई मानेर सोनम लोसर मनाउने गरिन्छ।

३)ज्यालो/ग्याल्पो लोसर:
यो लोसर भोट पात्रो तथा भोट सम्बत अनुसार मनाईन्छ।शिङ्साबा समुदायले ज्यालो भनिन्छ भने अन्यले ग्याल्पो लोसर भनिन्छ।भोट पात्रो यहि लोसरबाट फेरिने भएकोले पनि बिश्वब्यापी रुपमा यहि लोसरलाई व्यापक तथा सर्वब्यापी रुपमा मनाउदै आएका छन।चन्द्र पात्रो खगोल शास्त्र अनुसार तयार हुने भएकोले यो पात्रो बिश्वभरका बौद्ध मार्गिले प्रचलनमा ल्याउने गरिन्छ। साथै यहि पात्रो अनुसार संपुर्ण कार्य गर्नेगरिन्छ।
ज्यालो/ग्याल्पो लोसर बारे ङागुर ङिङ्मा ङिउने गुम्बा धरानका राजेन्द्र लामा स्याङ्बोका अनुसार लोसर बुद्धकालमा भारत वर्षमा छ जना तैतृक साधुहरुमा बिजय भएको खुशिमा मानिएको बिजय उत्सब हो।उहाँका अनुसार त्यही समयलाईआधार मानेर पछि चन्द्र पात्रो समेत निर्माण भएर लोसरको रुपमा मानिदै आएको बताउनुहुन्छ।भारतबाट बौद्ध धर्म प्रचारको क्रममा तिब्बत हुँदै लोसर मान्ने प्रचल नेपालमा रहेका बौद्ध मार्गिले समेत मान्न थालिएको बताउछ्न।भोटबर्मेली भाषामा बिजयलाई `जेब´भनिने भएकोले पछि `जेब´ शब्दबाट ज्यल्पो भएको भन्ने कुरा लामा राजेन्द्र स्याङ्बो बताउछन।नेपालमा आदिवासीलाई फुटाउने हिसाबले नै तोला लोसर गुरुङको सोनम लोसर तामाङको शेर्पा शिङ्साबा लगायतले ग्याल्पो/ ज्यालो लोसर भनेर मनाउने गरेको बताउनुहुन्छ।

पछिल्लो समयमा नेपालमा  लोसरलाई गुरुङको तामाङको शेर्पाको भन्ने प्रचलनमा आएको छ।तर त्यो सरासर गलत हो।गाउँघरमा तोल लोसरलाई सानो लोसरको रुपमा हेरिन्छ।त्यो लोसरमा खासै तामझाम ब्यापकता हुदैन।त्यही तोल लोसर र सोनम/ज्यालो/ ग्याल्पो लोसर दुईटै एउटै समुदायले मानिरहेका हुन्छ्न।त्यसैले पनि छुट्टाछुट्टै जातिको छुट्टाछुट्टै लोसर होइन भन्ने प्रमाणित हुन्छ।धेरै वर्ष अगाडि शिङ्सा क्षेत्रमा त्यहाँक समुदायले यहि प्रक्रियाले लोसर मान्ने गरिन्थे।तर शहरमा अहिले तोल लोसरलाई गुरुङ समुदायले अङिकार गरिदै आएको छ।गुरुङ समुदायले चन्द्र पात्रो अनुसार नभै सुर्य पात्रो अनुसार पौष १५ गतेलाई मनाउन थालिएको छ।सोनम लोसरलाई तामाङ समुदायले अगाल्न थालिएको छ भने अन्य समुदाय शेर्पा,शिङ्साबा लगायतले ज्यालो/ ग्याल्पो लोसरलाई अंगाल्दै आएको छ।

मुख्य तीन तिथि-(१) गिदोङ ( चतुर्दशी),(२)नाङ्गाङ (औसि),(३)छे च्यिक (प्रतिपदा)

(१)गिदोङ (चतुर्दशी)-
लोसरमा मुख्य तीन दिन महत्वपूर्ण हुन्छ।पुरानो वर्षको अघिल्लो दुई दिनबाट लोसर शुरु हुन्छ।चन्द्र पात्रो अनुसार कृष्ण पक्षको चतुर्दशिको दिन पहिलो दिन हुन्छ।त्यस भन्दा अगाडि नै घर गुम्बा सबै सरसफाइ गरिसकेको हुन्छ।चतुर्दशिको दिनलाई `गिदोङ´ भनिन्छ।यस दिन विभिन्न किसिमका खाद्य पदार्थ मिसाएर बनाएको खोले पकाईन्छ।जस्लाई `गुथुक्प´ `गुथुक´ भनिन्छ।यसमा नौ वटा खानेकुरा सिमि, आलु,भटमास मकै लगायतको अनाज समेत मिसाएर पकाईन्छ।गुथुक्पामा पिठोको डल्लो बनाएर हालिन्छ।त्यसलाई `इरि´ `भाक्री´ भनिन्छ।यसरी इरि भाक्रीमा विभिन्न चिज हालेर हाँसी मजाक गरिन्छ। कोइला हालिन्छ जस्लाई त्यो कोइला निस्कन्छ उ कालो मन भएको भनिन्छ।नुनको डल्ला हालिन्छ नुन पाउने धनी हुन्छ भन्ने जनबिश्वास छ। त्यो दिन सबैले अनिवार्य गुथुक खानुपर्छ।यदि गुथुक नखाए अर्को जुनिमा भोगी बाँदर अनिकालेको जुनि हुन्छ भन्ने जन बिश्वास छ।

(२)नाङ्गाङ( औसिँ)-
पुरानो वर्षको अन्तिम दिन औसि हो।यसलाई नाङ्गाङ भनिन्छ।नाङ्गाङ साङ्न तेङ्गाङ साङ अर्थात औशिको दिन जति शुभ समृद्धि  हुन्छ त्यति नै अरु दिन पनि शुभ,सुख,समृद्धि हुन्छ भन्ने जनबिश्वास छ।औंसिको दिन जाँड अनिवार्य खानुपर्ने हुन्छ।यदि त्यो दिन जाँड खाएन भने अर्को जुनिमा नागको जुनि लिन्छ भन्ने बिश्वास छ।छिप्पेको जाँड छनिन्छ र डिम्मा भुटेर हालिन्छ।त्यसरी बनाएको परिकारलाई `छ्याङ्गु´भनिन्छ। छानेको जाँडमा सातु समेत हालेर खाने चलन छ।गिल्लो सातु हालेर खाए `एन्दोक´ भनिन्छ त्यही पिठो अलि कडा हालेर बनाए `पाक´ भनिन्छ।

(३)छे च्यिक( प्रतिपदा)-
लोसर अर्थात नयाँ वर्षको पहिलो दिन नै छे च्यिक हो।यो चन्द्र पात्रोको पहिलो दिन परेवा तिथि अर्थात प्रतिपदाको दिन हो। छेजिक साङ्न छिगाङ साङ अर्थात प्रतिपदा वा पहिलो दिन शुभ हुनु भनेको नै सँधै शुभ हुनु हो भन्ने सर्व मान्यता छ।यस दिन ब्यापार ब्याबसाय तथा सरसफाइ गर्न पुर्णरुपमा बन्देज हुन्छ।`फो गेच्याङ डि मज्याक मेन छर्च्याङ टा मास्सिक´ अर्थात पुरुष जत्तिसुकै ब्यापारमा निपुण भए पनि यात्रा नगर्नु महिला जतिसुकै सुन्दरी भए पनि कपाल नकोर्नु भन्ने भनाई छ। जेजस्तो सरसफाइ गर्नु छ अघिल्लो वर्षमा गरिसक्नुपर्छ भन्ने मान्यता अनुसार सबै सरसफाइ गरिसक्नुपर्छ भन्ने मान्यता छ। यो पहिलो दिन जति चाँडो कस्ले धाराको पानी ल्याउने भन्ने होड चल्छ।खादा बोकेर घिउ बोकेर सके १०८ नसके कम्तिमा ३ वटा धाराको पानी थाप्ने गरिन्छ।यसलाई लोछ्यु भनिन्छ।यो पानी अर्को एक वर्षसम्म राखिने भएकोले यस्लाई लो छ्यु भनिएको हो।धारामा पानी थाप्नु अगाडि घ्युको टीका धारामा लगाई खादा समेत बाँधिन्छ।त्यो पानी पुजामा कोठामा राखिन्छ।लोसरको पहिलो दिन घर सजिसजाई गरेपछि ध्वजा लगाउने गरिन्छ।यस्लाई ल्हाप्से भनिन्छ।यो दिन मासु भात खानुपर्ने हुन्छ।कोहि भोकै बस्नुहुदैन भन्ने मान्यता अनुसार भरिपुर्ण खानुपर्छ नत्र यमराज आएर बाटो मुनि फाल्छ भन्ने भनाई छ।राम्रा नयाँ लुगा लगाईन्छ अनि ठुला बढाबाट आशिर्वाद थापिन्छ।त्यो दिन घर तथा गुम्बामा पनि सामुहिक ल्हाप्से पुजा गरिन्छ।लोसरमा मासु खाने प्रचलन भए पनि बलि चढाउने कहि कतै उल्लेख तथा मान्यता छैन। दोस्रो दिन देखि भने आफन्तकहाँ आशिर्वाद ग्रहण गर्न गैन्छ।यो क्रम पुर्णिमासम्म रहन्छ।

खाप्से रुरुक:
लोसरमा बनाइने प्रचलित परिकारलाई `खाप्से´ भनिन्छ।यो मैदाबाट तेलमा पकाईन्छ।मैदालाई मोलेर पास उठाएपछी नरम र लचकदार तन्किने बनाईन्छ ।रोटी आकारमा बेलेर दुई छेउबाट जोडेपछि तन्काएर खाप्से बनाईन्छ।

पिठो मुछेर तेल दूध चिनी मिसाई केही गुलियो स्वादमा बनाएको अर्को परिकारलाई रुरुक भनिन्छ।यसमा विभिन्न बुट्टा कलाहरु समेत कुँदेर बनाईन्छ।घरको पुजा कोठामा सजाएर राख्नको लागि विभिन्न बुट्टाले भरेर आकर्षक बनाईन्छ।यसरी खाप्से र रुरुक बनाईसकेपछी पुजा कोठामा फलफुल समेत राखेर सजावट गरिन्छ।यसरी सजावट गरिनुलाई `दिर्क´भनिन्छ।

दच्ची( तिर हान्ने),(पारास्यु/स्यो)खेल:
लोसरमा विभिन्न किसिमको खेल समेत खेलेर मनोरञ्जन गर्ने गरिन्छ।त्यसमध्ये तिर हान्ने खेल पनि खेलिन्छ।यसरी खेल्दा नयाँ वर्ष र पुरानो वर्ष पक्ष विपक्ष भएर खेलिन्छ।अर्को तरिकामा धर्म पक्ष छ्योसोङ र राजनीति पक्ष ज्यासोङ भएर पनि खेलिन्छ।धर्म पक्षले जिते देशमा शान्ति आउँछ भन्ने जन बिश्वास गरिन्छ भने राजनीति पक्षले जिते देशमा अशान्ति हुन्छ भनिन्छ।

अर्को खेल पारास्यु/ स्यो पनि खेलेर मनोरञ्जन गरिन्छ।लुडोको जस्तो दुई गोटि हुन्छ । जम्मा ४५ वटा कौडी वा सिमिको दाना वा मकैको दाना एकल वा जोडि बनाएर २ देखि छ जनासम्म खेल्न सकिन्छ।यसरी खेदा एकल वा युगल खेलाडीको नौ वटा गोटि/ सिन्का हुन्छ।त्यो आपसमा लुडोको गोट्टि मारामार गरेजस्तै गरि मारामार गरि जस्ले पुरै नौ वटा गोटि/ सिन्का ४५ वटा कौडी वा सिमिको दाना वा मकै पार गर्छ उसैको जित हुन्छ।

खादाको प्रचलन:
पहिले पहिले कपडाको खादा थिएन।त्यस बेला पिठो प्रयोग गरिन्थे।यसरी घरायसी तथा सामुहिक लोसर कार्यक्रममा सेतो पिठो काँधमा लगाउने चलन थिए।पुरुषलाई दाहिने काँधमा र महिलालाई देब्रे काँधमा पिठो लगाईदिने प्रचलन छ।यसरी पिठो लगाई दिँदा लगाईदिनेले टशिदेले फुन्सुम छो भनेर लगाईदिन्छ।त्यसको जवाफमा आम भाक्ट कुखाम साङ भनेर प्रतिउत्तरमा त्यही पिठो लगाई दिन्छ।पछि कपडाको खादाको चलन आए।खादाको अर्थ `खा´ भनेको हिउँ र `ता´ वा `ताक´ को अर्थ हिमाल जस्तो अटल रहेने रेखा भन्ने हुन्छ।सेतो पिठो हिउँको प्रतिकको रुपमा लगाउने गरिन्छ।त्यही पिठोबाट घरको ढोका दलानमा टिको लगाउने तथा स्वस्तिक चिन्ह बनाउने समेत गरिन्छ।औद्योगिक बिकास र कपडाको उत्पादन संगै खादा विभिन्न रंगीनमा आउन थाले।बौद्ध धर्म प्राकृतिक तथा पन्च तत्वको मान्यता अनुसारको रङ मिलाएर बनिएको हुन्छ।ल्हाप्से गर्दा पनि रंगिन कपडामा नै रहेको हुन्छ ।जस्लाई लुन्दर भनिन्छ।लुङदरको माथिल्लो भाग निलो हुन्छ त्यो आकाशको रङ र प्रतीक हो।तल्लो भागमा सेतो रङ हुन्च त्यो बादलको प्रतीक र रङ हो।त्यसपछि हरियो रङको कपडा हुन्छ जुन हरियो जंगलको प्रतिकको रुपमा हुन्छ।त्यसपछि रातो रङ हुन्छ जुन माटोको प्रतिको रुपमा रहेको हुन्छ।यसरी लुङ्दर र खादा पन्चतत्त्वको रुपमा तयार गरिएको हुन्छ।खादामा टसिदेके फुन्सुम छो लेखिएको हुन्छ।साथै ङेट्टे देले,निङ्मोइ देले अर्थात शुभ मंगल शुभ बिहानी शुभ दिन लेखिएको हुन्छ।खादामा आठवटा शुभ चिन्हहरु राखिएको हुन्छ।जस्लाई टासी ताजेत भनिन्छ ।यस्को अर्थ अष्ट मंगल हो।यसमा माछा कलस शंख ऐना लगायतको चिन्ह राखिएको हुन्छ।पन्चरङ्युक्त लुङ्दरमा बाह्र लो सहितको छाप नाम रहेको छुन्छ।लोसरको बेला घरमा मात्र नभएर यस्ता लुङ्दर डाडाकाडामा लगाईन्छ।जस्लाई रिलुङ भनिन्छ।यसमा पनि पन्चरङ नै हुन्छ।यसरी लगाउनको कारण प्राण प्राणिको समेत दिर्घायु होस भनेर लगाईने गरिन्छ।

अन्त्यमा,
यस वर्षको ज्यालो/ग्याल्पो लोसर नेपाल सहित भारत,भुटान,चीन,कोरिया,बर्मा,सिँगापुर लगायत बौद्ध तथा मंगोल नश भएका समुदायले व्यापक रुपमा मनाईरहेका छ्न।यस वर्ष फाग लो (सुँगुर वर्ष)लाई बिदा गरेर २१४७ च्याग-फो- झिव- लो- अर्थात लौह – पुरुष – मुसा वर्ष शुरु हुँदैछ।फागुन १० गते कृष्ण पक्षको चतुर्दशी अर्थात गिदोङबाट शुरु भएको छ भने ११ गते औसि अर्थात नाङ्गाङ परेको छ।यस वर्षको पहिलो दिन छे च्यिक फागुन  १२ गते परेको छ।

नेपालमा पौष महिनाको १५ गते गुरुङ समुदायले तोल लोसर भनेर भब्य रुपमा देश बिदेशमा मनाए।माघ महिनाको चन्द्र पात्रो अनुसार कारीब १ महिना अगाडि तामाङ समुदायले भब्य रुपमा सोनम लोसर मनाए।ज्यालो/ग्याल्बो लोसर भने नेपालीले मात्र नभएर अन्य देशमा समेत भब्य रुपमा मनाईरहेका छन।यसरी लोसर नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय जगतमा समेत मनाईरहेका छन।

नेपालमा विभिन्न कालखण्डमा विभिन्न राजनीतिक परिवर्तन भए।जहाँनिया राणा शासन,निरंकुश पंचायती ब्याबस्था र बहुदलीय ब्याबस्था,राजतन्त्रको अन्त्यसंगै गणतन्त्र आए ।तर नेपालका आदिमबासी मुलबासिको लागि भने राज्यले गरिने ब्याबहार कहिल्यै परिवर्तन भएन।०४६ सालको बहुदलीय ब्याबस्थापछि आदिवासी आन्दोलन,मधेस आन्दोलन,६२/६३ को आन्दोलन पछि तीन वटै लोसरको सार्वजनिक बिदा दिईदै आएका थिए। तर गणतन्त्र आएसंगै समृद्धिको नाममा एक दिन दिइदै आएको बिदा समेत कटौती गरेर आहात दिने काम गरेको छ।राज्यले नयाँ संविधानको मर्म र भावना बिपरित एकल जातिय धर्म तथा चाडलाई मात्र बिदा तथा सेवा सुबिधा दिने काम भएको छ।

पछिल्लो समयमा लोसर चाडलाई एकत्रित पार्नको लागि छलफल समेत भएका थिए। सामुदायिक रुपमा लोसर नभएर सामुहिक लोसर मनाउने र राज्यले समेत कुनै एक लोसरलाई मान्यता दिएर सार्वजनिक बिदा दिन र माग गर्नको लागि पर्शुराम तामाङ लगायतका ब्यक्तिहरुको छलफल समेत गरेका थिए।तर त्यो निरन्तरता पाउन सकिरहेको छैन।

एकदिन पाईदै आएको बिदा कटौतीले नेपालमा रहेका आदिमबासिको मौलिक संस्कार संस्कृति पुस्तान्तर हुनबाट बन्चित गराई पहिचान नै नामेट गराउने खालको राज्यको विभेद भएको भनेर जातिय संघसंस्थाले बाराम्बार आवाज उठाईरहँदा पनि राज्यले भने सुन्न चाहिरहेको छैन।

देशमा जातिय बिबिधताको बिकास नै समृद्धिको पहिलो खुड्किलो भए पनि देश ठिक त्यस्को बिपरित जातिबादी लान्छनाले थप जटिल बन्दैगैरहेको छ।देश रंगिन फुलबारी बनाउनको लागि गणतान्त्रिक संविधान अनुसार राज्यले भेदभाव रहित समान ब्याबहार गर्नुको विकल्प छैन।त्यसैगरी अन्तर्राष्ट्रिय चाड लोसरलाई तेरो र मेरो अर्थात यो लोसर फलानो जातिको भनेर नगैकन सामुहिक रुपमा मनाउने गरिएको खण्डमा एकताको सन्देश सहित राष्ट्र निर्माणमा थप बल पुग्नेछ।

लोसर मनाउने भनेर स्टेजमा औपचारिक कार्यक्रम भाषण मात्र गर्नाले लोसरको विधि तथा आरधना बारे जबसम्म पछिल्लो पुस्तालाई सिकाईदैन तबसम्म लोसर के हो भन्ने बारेको औचित्य हुँदैन।लोसरको विधि बिधान हराउदै गएकोले ती क्रियाकलाप पुस्तान्तरन गर्न अत्यन्त जरुरत भएको छ।

– निमा पोङ्सुवा धरान सुनसरी pngsuwanima@gmail.com

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments