काठमाडाैं । चीनले अन्तरिक्षमा पठाएको एक रकेट सोमवार धर्तीमा खस्दा त्यसको एक ठूलो टुक्रा आन्ध्र महासागरमा खसेको छ । केही मिनेटअघि मात्र त्यो खसेको भए त्यो न्युयोर्क शहरमै बज्रिने थियो ।

लंग मार्च ५बी रकेट १५ मिनेट अगाडि मात्र वायुमण्डलमा पुनः प्रवेश गरेको भए न्युयोर्क शहरमा रकेटको अवशेष खस्ने थियो ।
चिनियाँ रकेटले परीक्षण गर्ने क्राफ्ट अन्तरिक्षमा मे ५ मा पठाएको थियो । एक हप्तासम्म अन्तरिक्षमा रहेपछि त्यसले काम गर्न सकेन अनि अनियन्त्रित तरिकाले पृथ्वीमा खस्यो ।
बीस टन तौल भएको रकेट वायुमण्डलमा हुर्रिँदै आयो । एक मिनेटमा हजारौं किलोमिटरको गतिमा रकेट आएको थियो ।
वायुमण्डलमा प्रवेश गर्ने क्रममा रकेटको अधिकांश भग्नावशेष ध्वस्त भएको थियो तैपनि बसको आकार जत्रो टुक्रा आन्ध्र महासागरमा खसेको दी इन्डिपेन्डेन्ट पत्रिकाले लेखेको छ ।
अन्तरिक्ष वैज्ञानिकहरूले खसेको त्यो टुक्रो ९३ फीट लामो भएको र २० टन तौल भएको बताए । यति विशाल वस्तु अन्तरिक्षबाट अनियन्त्रित तवरले हुर्रिंदै आएको कैयौं दशकपछिको घटना भएको उनीहरूको भनाइ छ ।
विशाल टुक्रा पश्चिम अफ्रिकाको तटबाट अलि पर आन्ध्र महासागरमा खस्यो भने साना टुक्राहरू आइभोरी कोस्टमा खसे । कसैलाई पनि चोटपटक लागेको खबर छैन ।