पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा २ करोड रुपैयाँ दिने घोषणा गरेका छन् ।पूर्वराजा ज्ञानेन्द्र शाहले एक विज्ञप्ति जारी गर्दै कोरोना कोषमा २ करोड रकम दिनका लागि हिमानी कोषमा बुझाइसकेको जानकारी दिएको छन् । पूर्वराजा शाहले लकडाउन बाध्यात्मक परिस्थिति भएको बताउदै यसप्रति अनुशासित बन्न पनि सबैसँग अनुरोध गरेका छन् ।‘विश्वमा अहिले देखा परेको कोरोना भाइरसको महामारीले सिंगो मानव सभ्यता र विकासलाई नै गम्भीर चुनौती दिएको उनको तर्क छ । देश र जनतामा यस महामारीले भय र सन्त्रास पैदा गराएको उनको भनाइ छ । मानव अस्तित्व रक्षाका निम्ति भइरहेको पहल प्रति संवेदनशील हुँदै हामी सबैले आ–आफ्नो ठाउँ र क्षमताबाट केही न केही योगदान पुर्याउनु अनिवार्य भइसकेको विज्ञप्तिमा भनिएको छ ।यस्तो संकट पूर्ण घडीबाट मुक्त हुन लकडाउन नै बाध्यात्मक अनिवार्यता भएको भन्दै यसको पालनामा गैरजिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्न जरुरी रहेको पनि उल्लेख विज्ञप्तिमा उल्लेख गरिएको छ । महामारीको यस क्षणमा ज्यानको पर्वाह नगरी खट्ने चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी सेना प्रहरीलगायत सबै सुरक्षाकर्मीप्रति आभार प्रकट समेत गरेका छन् ।पूर्वराजा शाहले राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैरसरकारी सबै पक्षबाट समन्वयकारी ढंगमा मानवीय सेवा सहयोगमा काम भइरहेकोमा प्रशंसा गर्दै यसलाई अझै प्रभावकारी बनाउन आग्रह समेत गरेका छन् ।