काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान संशोधन (दोस्रो संशोधन) विधेयक २०७७ माथिको छलफल जारी छ । छलफलमा शीर्ष नेताहरुले बोलिसकेपछि अहिले अन्य सांसदहरुले बोलिरहेका छन्।
संविधान संशोधनको पक्षमा बोल्दै सांसदहरुले आजको दिन गौरवपूर्ण र ऐतिहासिक दिनको रुपमा रहने बताए । अब नक्शा अनुसारको भूमि वार्ताकै माध्यमबाट फिर्ता गर्नुपर्नेमा जोड दिँदै उनीहरुले आम नेपालीले गौरवको महसुस गरेको बताएका छन्।
संसद बैठकमा बोल्दै नेकपाका महासचिव विष्णु पौडेलले ऐतिहासिक तथ्यका आधारमा पनि नयाँ नक्शा अनुसारको भूमि नेपालकै देखिएकाले भूमि फिर्ता गर्न अप्ठ्यारो नहुने बताए।
नेकपाकै अर्का नेता भीम रावलले आज सबैको गौरवपूर्ण दिन भएको भन्दै व्यक्तिगत रुपमा पनि आफूले गौरव महसुस गरिरहेको बताए।
कांग्रेस सांसद प्रकाशमान सिंहले अब नक्शा अनुसार जमिन फिर्ता ल्याउन सबै दल एक हुनुपर्ने बताए।
राप्रपाका सांसद गोपाल किराती, नेमकिपाका प्रेम सुवाल, जनमोर्चाका सांसद दुर्गा पौडेललगायतले सरकारले नक्शा जारी गर्नु महत्वपूर्ण काम भन्दै अब भूमि फिर्ताको लागि पहल गर्नुपर्ने सुझाव दिए । अहिले पनि सांसदहरुले बोलिरहेका छन्।
प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले पेश गरेको सो विधेयक सर्वसम्मतिले स्वीकृत गरेपछि छलफल शुरु भएको हो।
सो विधेयक आजै पारित गरिने कार्यसूची छ।