सरकारले विदेशबाट आएका व्यक्तिले कोरोना भाइरस (कोभिड–१९) अरु व्यक्तिमा सारे कडा कारबाही गर्ने भएको छ । भारत या तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बस्न नमान्ने,भाग्ने,कोरोना संक्रमित भएको थाहा हुँदाहुँदै पनि रोग लुकाएर अरु व्यक्तिमा सारे त्यस्ता व्यक्तिलाई कडा कारबाही गरिने भएको हो ।आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले क्वारेन्टाइनमा बस्न नमान्नेलाई संक्रामक रोग ऐनअनुसार कारबाही गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवम् समिति सदस्य सचिव नारायणप्रसाद बिडारीले बताए ।कतिपय विदेशबाट आएका मानिस क्वारेन्टाइनमा बस्न इन्कार गरेको खबर आइरहेको छ, कतिपय गाउँमा लुकेर बसेका छन् भन्ने सुनिएको छ । कतिपय क्वारेन्टाइनबाटै भागेको भनेर पनि आएको छ, यस्तो हर्कत गरे कानुनअनुसार कारबाही हुन्छ यसलाई गृह प्रशासनले कारबाही अगाडि बढाउँछ बिडारीले भने ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को १ अनुसार संक्रामक रोग फैलाउन नहुने उल्लेख छ । यसरी रोग छ भन्ने थाहा हुँदाहुँदै नियत वश वा जानीजानी संक्रामक रोग फैलाउने व्यक्तिलाई १० वर्ष कैद र १ लाख जरिमाना,लापरबाहीपूर्वक संक्रामक रोग सारेमा ५ वर्ष कैद र ५० हजार जरिमाना र हेलचेक्र्याइँपूर्वक संक्रामक रोग फैलाए ३ वर्ष कैद र ३० हजार जरिमानाको व्यवस्था छ ।