अन्तराष्ट्रिय गैरसरकारी संस्था संघ (एआइएन) ले कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एकमुष्ट रुपमा मेडिकल सामग्री हस्तान्तरण गरेको छ । एआइएनले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको समन्वय तथा समाज कल्याण परिषद्को सहयोगमा उक्त सामग्री हस्तान्तरण गरेको हो ।
१६ वटा संस्थाले संयुक्त रुपमा खरिद गरेको उक्त सामग्री झण्डै ४ करोड ५३ लाख नेपाली रुपैयाँ बराबरको रहेको एआइएनले जनाएको छ । एआइएन, एक्सन एड, आड्रा नेपाल, केयर नेपाल, फेयरमेड, गुड नेभर्स इन्टरनेशनल नेपाल, आइएनएफ नेपाल, आइपास नेपाल, लुथरन वल्र्ड फेडेरेसन, माउन्टेन चाइल्ड, वन हर्ट हेल्थ, अक्सफाम, प्लान इन्टरनेशनल, प्राक्टिकल एक्सन, युएमएन र वाटर एडसहित गैसस न्याय हेल्थ नेपालको संयुक्त आर्थिक सहयोग उक्त सामग्री प्रदान गरेको जनाइएको छ ।
हस्तान्तरण गरिएको सामग्रीमा पीपीइ सेट, सेफ डेलिभरी किट, इन्फ्रारेड थर्मोमिटर, वाटर एण्ड एयर प्रुफ एप्रोन, सर्जिकल स्टेरिल ग्लोब्स, युटिलिटी ग्लोब्स, केएन९५ मास्क र सर्जिकल मास्क, सर्जिकल गगल्स तथा खासगरी कोरोना भाइरस नियन्त्रणका लागि पहिलो पंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने स्वास्थ्य, स्यानिटाइजर र किटनाशक लगायतका वस्तुहरु रहेको एआइएनले जनाएको छ ।