एकै दिन नेपालगन्ज नाकाबाट तीन हजार र धनगढीमा दुई हजारले प्रवेश पाए, स्वास्थ्य जाँचविनै भित्र्याइँदा कोरोना संक्रमणको जोखिम बढ्यो
लकडाउनकै समयमा भारतबाट फर्कने नेपालीको सीमानाका भिड लागेको छ । झन्डै दुई महिनादेखि दुई देशबीचको नाका सिल भए पनि नेपाल फर्कने र भारत फर्कने सीमानाकामा जम्मा भएका छन् । भारतका विभिन्न सहरबाट सीमानाकामा आएकामध्ये बुधबार नेपालगन्ज नाकाबाट तीन हजार बढी र भारतको गौरीफन्टा नाकाबाट कैलालीमा दुई हजार बढी भित्रिएका छन् । स्वास्थ्य जाँचविनै उनीहरूलाई प्रवेश गराउँदा कोरोना संक्रमणको जोखिम बढेको छ ।
नेपाल–भारत नाका सिल गरे पनि नेपालगन्ज नाकाबाट एकै दिन झन्डै तीन हजार नेपाली प्रवेश गरेका छन् । लकडाउन र सीमानाका सिल भएकै अवस्थामा भारतका विभिन्न ठाउँबाट आएका नेपालीलाई जिल्ला प्रशासन, बाँकेको अनुमतिमा नेपाल प्रवेश गराइएको हो । नेपालगन्ज नाकाबाट बिहीबार राति दुई हजार नौ सय १३ जना भित्रिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । सीमा सिल र लकडाउनबीच एक हप्ताअघि नेपालगन्ज नाकाबाट सात सय ६६ जना नेपाली भित्रिएका थिए । नेपाली भित्र्याउने र भारतीयलाई आफ्नो देश पठाउने काम सँगसँगै भइरहेको उनले बताए । उपाध्यायका अनुसार बिहीबार राति तीन हजार एक सय ५८ जना भारतीय स्वदेश फर्किएका छन् ।
नेपाल प्रवेश गर्नेमा सबैभन्दा धेरै दैलेखका
सहायक प्रजिअ उपाध्यायले दैलेखका आठ सय १९, बाँके पाँच सय १०, सुर्खेत चार सय ९७, सल्यान चार सय ६२, अछाम ८४, जाजरकोट ८१, दाङ ५५, बर्दिया २३, प्युठान ११, जुम्ला ११ र अन्य जिल्लाका तीन सय सातजना रहेको जानकारी दिए । उनीहरूलाई राति नै सम्बन्धित जिल्लामा पठाइएको छ । सम्बन्धित जिल्लाका स्थानीय तहको क्वारेन्टाइनमा बस्ने गरी उनीहरूलाई पठाइएको उनले बताए । सीमामा अलपत्र पर्न थालेपछि सम्बन्धित जिल्लाका जिल्ला प्रशासन र स्थानीय तहसँग समन्वय गरेर पठाउने व्यवस्था मिलाइएको उपाध्यायले जानकारी दिए ।
भारतबाट फर्कनेको ओइरो लागेपछि व्यवस्थापनमा समस्या
भारतबाट घर फर्कने नेपालीको सीमानाकामा भिड लागेको छ । भारतीय गौरीफन्टा नाकाबाट दुई दिनयता दुई हजार आठ सय ६० जना भित्रिएका छन् । सीमा क्षेत्रमा खटिएका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बिहीबार मात्र दुई हजारभन्दा बढी भित्रिएको जानकारी दिए । भारतबाट फर्कनेहरूसँगै कोरोना संक्रमण भित्रिन सक्ने भए पनि उनीहरूको स्वास्थ्य जाँच र व्यवस्थापनमा ध्यान दिइएको छैन । धनगढीबाट नजिक पर्ने भारतीय बजार पलियामा पुगेका आठ सय ५८ जनालाई बुधबार उद्धार गरिएको थियो । भारतबाट आउने क्रम बिहीबार बेलुकीसम्म पनि जारी रहेको जोशीले बताए । भारतबाट फर्कनेको ओइरो लागेपछि व्यवस्थापनमा समस्या भएको छ ।
अधिकांशको स्वास्थ्य जाँच गरिएको छैन । दुई दिनको अवधिमा फर्किएकामध्ये ६ सय ७० जनाको आरडिटी जाँच गरिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख ललित धामीले जानकारी दिए । आठ सयवटा आरडिटी किट लगिएकोमा स्वास्थ्यकर्मीको अभावले पूरै जाँच गर्न नसकिएको उनले बताए । जाँच गरिएकामध्ये २० जनामा पोजेटिभ देखिएको धामीले जानकारी दिए । तीमध्ये ११ जना मात्र सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएका छन् । पोजेटिभ देखिएका केही व्यक्ति भिडभाडमा सम्पर्कविहीन भएको जानकारी आएको प्रदेशको सामाजिक विकास मन्त्रालयका कोरोना फोकल पर्सन नरेन्द्रसिंह कार्कीले बताए ।
भारतका विभिन्न ठाउँबाट आएका नेपालीलाई जिल्ला प्रशासन बाँकेको अनुमतिमा नेपाल प्रवेश गराइँदै ।
स्वास्थ्य परीक्षण गर्न जनशक्ति अभाव
भारतबाट फर्केकाको स्वास्थ्य जाँचका लागि आरडिटी किट र जनशक्तिको अभाव देखिएको छ । स्वास्थ्य जाँचका लागि पर्याप्त कर्मचारी खटाइएको छैन । दुईजना स्वास्थ्यकर्मी र दुईजना स्वयंसेवक मात्र परिचालन गरिएका थिए । ‘जनशक्ति कम छ, चारजनाले सयौँको संख्यामा रहेकाहरूको जाँच गर्न सकिँदैन । किटको पनि कमी छ,’ निमित्त प्रमुख धामीले भने । आरडिटी किट अभावले बुधबार फर्किएकाको स्वास्थ्य जाँच गरिएन । कैलालीमा करिब ६ सय किट मौज्दात रहेको मन्त्रालयका कोरोना फोकल पर्सन नरेन्द्रसिंह कार्कीले बताए ।
भारतबाट फर्कनेलाई ३० वटा बसमा राखेर बिहीबार बेलुकी विभिन्न जिल्लामा पठाइएको जिल्ला प्रशासनले जनाएको छ । केही बस प्रदेश सरकार र केही स्थानीय तहले पठाएका हुन् । कैलाली र कञ्चनपुरका स्थानीय तहले ट्रिपर र ट्र्याक्टरमा लगेर क्वारेन्टाइनमा राखेका छन् ।
बुधबार फर्केकाहरूले विद्यालय प्रांगणमै रात बिताएका थिए । सामाजिक दूरीसमेत कायम गरिएको छैन । भारतको राजस्थानबाट फर्किएका अछामको ढकारीका टंक शाहीले तीन–चार दिनदेखि राम्ररी खान नपाएको बताए । गाउँपालिकासम्म लगेर आफूहरूलाई क्वारेन्टाइनमा राखिनुपर्ने उनले माग गरे । ‘सबै एकै ठाउँमा कोचिएर बसेका छौँ । कोही एकजनालाई कोरोना भए हामी सबैलाई सर्ने अवस्था छ,’ उनले भने, ‘सरकारले कम्तीमा खानाको व्यवस्था गरोस् ।’ यसअघि २ र ३ जेठमा गौरीफन्टा नाका भएर सात सय ५८ जना स्वदेश फर्किएका थिए ।
कर्णालीमा १२ सय भित्रिए
भारतबाट बुधबार एक हजार दुई सय सातजना कर्णाली प्रदेश प्रवेश गरेका छन् । भारतका विभिन्न ठाउँबाट उनीहरू बबई आइपुगेका हुन् । जसमा दैलेखका पाँच सय, सुर्खेतका तीन सय २०, सल्यानका दुई सय ६६, जाजरकोटका ७७ र कालिकोट जिल्लाका ४४ जना छन् ।
भारतबाट ठूलो संख्यामा नागरिक आउने क्रम बढेपछि उनीहरूलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्थाका लागि स्थानीय सरकार, प्रशासन, सुरक्षा निकायलगायत सम्बद्ध पक्षलाई अनुरोध गरिएको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बताए । ‘आवश्यक सहयोगका लागि राजनीतिक दल, नागरिक समाज, बौद्धिक व्यक्तित्वलगायतलाई अपिल गरिएको छ,’ उनले भने, ‘भारतबाट आउनेलाई अनिवार्य क्वारेन्टाइनमा बस्न अनुरोध गरेका छौँ ।’ भारतबाट एकैपटक ठूलो संख्यामा नागरिक आएपछि कर्णाली प्रदेश सरकारले तत्काल आरडिटी परीक्षणका लागि आवश्यक किटसहित स्वास्थ्य जनशक्ति बबईमा राखेको छ । तत्काल सात सय किटसहित १६ जना कर्मचारी परिचालन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले भारतबाट २० हजार नागरिक कर्णाली भित्रिने अनुमान गरेको छ ।