काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा आकस्मिक उपचारका लागि आएका बिरामीलाई फर्काउन नमिल्ने चेतावनी दिएको छ।आइतबार दिउँसो मन्त्रालयको तर्फबाट भएको लाइभमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले सरकारी,गैरसकारी सबै अस्पतालले संक्रमणकालीन अवस्थामा मिलेर नगए मन्त्रालयले आवश्यक कदम चाल्ने बताए।उनले भने सबै अस्पतालले मिलेर काम गर्नुपर्छ,दायित्व पूरा गर्नुपर्ने अवस्था छ। यस्तो संक्रमणकालीन अवस्थामा कडा कदम चाल्न नपरोस्। त्यसैले उपचारका लागि आएका बिरामी नफर्काउनुस्।
उनले मन्त्रालयले तोकेको प्रोटोकल अनुसार उपचार गरौँ भन्दै अस्पतालहरुलाई आग्रह गरे। भिडियोमा देवकोटाले नागरिकको तर्फबाट आएको गुनासोको सम्बोधन गर्दै कोभिड १९ को उपचारका लागि तोकिएको अस्पतालहरुले आकस्मिक सेवा पनि दिनुपर्ने बताएका हुन्।
उनले (कोभिड१९) को उपचारको लागि नतोकिएका अस्पतालले शंकास्पद बिरामीलाई रिफर गरेपनि अन्य सेवा भने प्रदान गर्नुपर्ने बताएका छन्।
सरकार भन्छ, स्थिति सामान्य छ।स्वास्थ्य मन्त्रालयले नेपालमा स्थिति सामान्य भएको बताएको छ। अहिलेसम्म नेपालमा कोभिड – १९ को ९१७ परिक्षण भएकोमा ९१२ नेगेटिभ ५ वटा पोजेटिभ देखिएको छ। मन्त्रालयको तथ्यांक अनुसार १२ जना आइसोलेशनमा छन्। यी मध्ये टेकुमा ५ जना, पाटनमा ६ जना, कान्तिमा १ रहेका छन्।योसँगै मन्त्रालयको कन्ट्याक्ट ट्रेसिङमा दुईओटा कल सेन्टरमा हजारौँ कल आउने गरेको र १ घण्टामा ३० वटा फोनको जवाफ दिने गरेको मन्त्रालयले जनाएको छ।स्वस्थ्यकर्मीले कोरोना भाइरस उपचारको लागि लगाउन पर्ने पिपिइ–व्यक्तिगत सुरक्षाका उपकरण र कोरोना भाइरस संक्रमणको टेस्ट गर्न आवश्यक सामग्रीहरु रहेका बताएको छ। हिजो मात्र नेपालबाट चीनतर्फ उडेको विमानले सिचुहान प्रदेश र अलिबाबा फाउनडेशनको ज्याक्मा फाउनडेशन,चाइनिज एम्बेसी लगायतबाट चाइनाबाट अनुदान प्राप्त सामान र स्वास्थ्य मन्त्रालयले लिस्ट बनाएर सामान खरिद गर्न पठाएको विमान दुवै विमान नेपाल आइसकेको जनाएको छ।