काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बन्दाबन्दीमा हराएका ३० वटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।
महाशाखाबाट सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीको टोलीले विभिन्न समयमा हराएका सवारी साधनहरु बन्दाबन्दीको समयमा खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ।
उपत्यकाका म्हैपी, बालकोट, कीर्तिपुर, ठमेल, सिनामंगल, बसुन्धारा, नयाँ बजार, बानियाटार, चोभार, कपन, बुढानिलकण्ठ, गोकर्णेश्वर, ठमेल, कुमारीपाटी, नयाँ बसपार्क, केशरमहल, न्यूरोड, टोखा, पुरानो बानेश्वर, ठमेल, ट्रामा सेन्टर, न्युरोड, महाराजगञ्ज, नयाँबस्ती, पशुपति पार्किङ, मण्डिकाटार, भिमसेनगोला र चावहिल लगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई यस महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जिम्मा लगाएका हुन्।
महाशाखाका प्रमुख ढकालले भने “पार्किङ स्थल, समारोह, अस्पताल लगायत एकान्त ठाउँका पार्किङ स्थल, घरको कम्पाउण्ड तथा गेट बाहिर, लामो समय सम्म पार्किङ गरिने स्थानहरुमा असुरक्षित पार्किङ गरेर, अतिरिक्त लक प्रयोग नगरेर, जुनसुकै साँचोले खोल्ने अवस्था भएका सवारी मर्मत नगर्दा र घरमा पार्किङ गरेको भनी लापरवाही गर्दा मोटरसाइकल बढी चोरी हुन्छन्।”
सवारी साधनलाई चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलार्म लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ गरेको भनी ढुक्क नपर्न, एकै छिन हो भनी अतिरिक्त लक लगाउन अल्छी नगर्न ढकालले सुझाव दिए।
महाशाखाले आइतबार श्यामबहादुर खाती, बालकृष्ण श्रेष्ठ, दीपेन्द्र कुँवर, रिना मगर, सञ्जय महताे, धन कुमार चेम्जोङ, विश्व कुमार बस्नेत, रोजन श्रेष्ठ, अनिल थापा, पुरन राई, राम कुमार थापा, मिलन सुनुवार ‘सिन्धुली’, संघर्ष स्वर्णकार, मिमांसा महर्जन, बमबहादुर विश्वकर्मा, अन्तप्रसाद श्रेष्ठ, रामकुमार शाही, बेलबहादुर सिजाली, दिपेन्द्र प्रधान, नेश थापा, राधा कृष्ण थुवाजु, ओम कृष्ण खड्गी, राजकुमार कार्की, अनिल लामा, आशीष साउद, राज कुमार मगर, बिक्रम केसी, गणेश कुमार गिरी, वोजराज श्रेष्ठ र कुमार तामाङका मोटरसाइकलहरु जिम्मा लगाएको हो।
महाशाखाले यस आव ०७६र०७७ मा मात्रै चोरी भएका ३०८ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ भने ३६ जना व्यक्तिलाई चोरीमा संलग्न भएको कसुरमा पक्राउ गरी आवश्यक कारवाही गरिसकेको छ।