नबिन रम्तेल
मंसिर १,बिराटनगर । धरानका मेयर हर्क साम्पाङ्गको अभियानबाट प्रभावित भै सहयोग गर्दै आउनुभएकी ठुली चन्द्रकला कोयी राईद्वारा उपचारमा आर्थिक अभाव झेलेका ९ महिने बालकलाई १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । मोरङ जिल्ला उर्लाबारी मंलबारेका श्यामनन्द गिरिका बिरामी छोराको उपचारको लागि प्रदान गरेका हुन । उक्त रकम डेंगु र निमोनियाले थलिएर उपचाररत नाबालकका अभिभावकलाई धरान-११ घर भै ईजरायलमा रहनु भएकी राईले पठाउनु भएको हो । चलचित्रका प्राबिधिक कलाकार श्याम नन्द गिरीले आफ्नो छोराको उपचारमा कठिनाइ भएको भनि सामाजिक संजाल फेसबुकमा पोष्ट गरेपछि चलचित्र निर्माता,निर्देशक भिम लामा मार्फत १० हजार रुपैयाँ र छायांकार सुमन तामाङ्गबाट १ हजार ५ सय रुपैयाँ सहयोग प्रदान गरिएको हो।
रकम हस्तान्तरण गर्न बिराट नगरस्थित नोबेल मेडिकल अस्पतालमा चलचित्र निर्माता निर्देशक लामा र छायांकार तामाङ्ग बिहान ७ बजे नै जानुभएको थियो।रकम हस्तान्तरण पछि बालकका पिताले आफ्नो आर्थिक अवस्थाको बारेमा जानकारी गराउंदै आफ्नै छोरा सम्झेर सहयोग गरेकोप्रती गहभरी आँसु पार्दै कहिल्यै भुल्न नसक्ने बताउनु भयो।परदेशमा रहेर पनि एउटा नेपालीको पिडामा मल्हम लगाउन सधैं तत्पर ठुली चन्द्रकला कोयी राईको विशाल मनको प्रशंसा समेत गर्नुभयो।
स्मरण रहोस् धरानका मेयर हर्क साम्पाङ्गले थालेका हरेक अभियानमा आर्थिक,भौतिक सहयोग पुर्याउदैं आउनु भएकी धराने चेली ठुली चन्द्रकलाको नाम आउँछ।गिरिको अवस्था बारे अबगत गराउँदै यो सहयोग पछि बालकको सहयोगमा रकम जुट्न थालिसकेको निर्माता निर्देशक भिम लामा बताउनुहुन्छ।