रोग, भोक र शोक , कोरोनाको कारण बिजोग -नविन रम्तेल
मृत्यु हुनु अघि “अब म बाँच्दिनहोला गरी खानु है भनेको कसरी बिर्सनु खै!” धरान–८,सभागृहका कमल सुब्बा बरर आँशु झारेर भक्कानिए । सुब्बाकी ३४ बर्षिय श्रीमती पद्मा सुब्बा कोरोना लागेर गत बैशाख ३० गतेका दिन संधैभरिकोलागि टाढिएकी थिइन । बैशाख २९ गते हल्का ज्वरो पछि शरीरमा एक्कासी अक्सिजनको मात्रा कम महसुस भएपछि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी पुरयाईएकी पदमालाई उहिदिन कोभिड अस्पताल लान भनियो। पिसिआर रिपोर्ट र ईमरजेन्सीबाट खबर नआएको कारण देखाई बिरामी भर्ना गर्न नमान्दा दिनभर चौरमा राखेर साँझ घरै फर्काउनु पर्यो। राति सास लिन गाह्रो भई पुनःईमर्जेन्सी लगेपछि त्यहीँबाट कोभिड अस्पतालमा लान तयार गर्दागर्दै ढिला भएर श्रीमतीको ज्यान गुमाउनु परेकोमा अस्पतालको ब्यबहारदेखि कमल सुब्बाको मन कुडिएको छ ।
धरान–८ आराधना चोकका ५६ वर्षीय लोकबहादुर विश्वकर्मा र अपांग श्रीमतीलाई जेठ १ गते राती देखि रुघा र ज्वरोले सतायो। पिसिआर गर्दा दुबैमा कोरोना पोजेटिभ देखियो। बिस्तारै सास फेर्न गाह्रो भएर अक्सिजन सिलिन्डरकोलागि आफन्तहरुलागेर धुंईंपाताल खोजे । कहींकतैबाट फेला पार्न नसकेर ज्यान माया मारेका बिश्वकर्मा दम्पती सिकिस्तै भएर हाल बल्लबल्ल तंग्रिन पाएका छन्। भन्छन् “हामी मरेर बाँच्यौं अरुलाई यस्तो नहोस् ।”
धरान –७,बुद्धमार्गमा सैलुन व्यवसाय सञ्चालन गरी बसेका सन्तोष साहले आफुलाई जिउ दुख्ने,टाउको दुख्ने र रुघाले धेरै दिन सताएपनि कोरोना पोजेटिभ आउने डरले निशुल्क एन्टिजेन परीक्षणबाट कोरोना टेस्ट गर्न पाउने अबसर पाउंदा पनि गएनन । अस्पताल भर्ना हुन पर्दाखेरी अरुले खेप्नु परेको भुक्तमान संझिएर कोरोना परीक्षण गर्न नरुचाउने साह जस्ता थुप्रै जना बिरामी गाउँघर जताततै रहेका छन् ।
सोहि वडा संगम टोल धरानका साहिला तामाङ गाडीका सहचालक हुन्।लकडाउन सँगै उनको रोजगारी खोसियो। बलको काम गर्न नसक्ने उनी आजकल जंगलको च्याउको भरमा बाँचेका छन्। जङ्गल भरि च्याउ खोज्नेहरूको भिडमा धेरैजसोको हात खाली फर्कने गर्छ।च्याउ भेटिहाले बेचेर चामल किन्छ्न्।उनको घरमा न अन्नको जोहो छ न कतैबाट राहत ।मुख छोप्ने माक्स लगाउन नमान्ने साहिलाले“यस्तो कहालिलाग्दो अवस्थामा बाँच्नु र कोरोना लागेर मर्नुमा खासै फरक नपरे जस्तो गुनासो गरे ।
नगरवासीको स्वास्थप्रति आफु चिन्तित रहेको बताउंदै धरान उपमहानगरपालिकाका मेयर तिलक राईले सरकारले धरानलाई पर्याप्त खोप दिनुपर्ने कुरामा जोड दिएका छन्। उनले १ लाख २० हजार डोज धरानको लागि खरिद गर्न अनुमति दिनुपर्ने बताएका छन्।
धरान उपमहानगरपालिका ८ नम्बर वडा अध्यक्ष रुद्र लिम्बूका अनुसार अघिल्लो वर्षमा झैं वडाबासीलाई राहतको व्यवस्था गर्न नसकेपनि निषेधाज्ञा कठोर बनाइएको, होम क्वारेन्टाइनलाई प्राथमिकतामा राखिएको, धरान –१९ हरियाली बनको आईसोलेसनमा २५ जनासम्म राख्ने व्यवस्था भएको बताए।हाल त्यहाँ रहेका१३ जना संक्रमितलाई खाजा,खाना,औषधि र खेलकुद लगायतका सामग्रीहरु उपलब्ध गराएको बताए। ८ नं वडाबासिको लागि सिलिन्डर सुरक्षित रहेको जानकारी समेत दिए।
धरान उपमनपा न्यायिक समिति सदस्य शाबित्रा परियारका अनुसार होम आईसोलेसनमा रहेकालाई कुनै माध्यमबाट सम्पर्क गरी सान्त्वना दिने, समस्या सुनि सहजता बताइदिने, सहानुभूति दिने मात्र नभई औषधि र खाद्यसामग्री पूराई दिने समेत गरेको बताएकी छन्।
स्थानीय तहमा क्रियाशिल संस्था र विभिन्न सञ्जालहरुले यस महामारी विरुद्धमा सहयोग गरिरहेको अरुण टोल बिकास संस्था धरानकी अध्यक्ष सिता राईले बताईन्। कोरोना संक्रमण विरुद्ध जनचेतना अभियान, लगत संकलन, क्वारेन्टाइन निर्माण, औषधी उपचारको सहज व्यवस्थामा सरोकारवाला निकायको पर्याप्त ध्यान जानु पर्ने राईको भनाई छ ।
नेपालको संविधान २०७२को धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आधारभुत स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनिएको छ तर मानिसहरु अस्पतालसम्म जाने एम्बुलेंस नपाएर, अस्पतालमा बेड नपाएर र अक्सिजन नपाएर आँखै अगाडि मरेको बताउँछन् धरान –१६ का ब्यवसायी कुमार रोका।
महिला सञ्जाल धरान, राईट फर राईट, मातृभूमि संस्थाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा कोरोना संक्रमितहरूको कुरुवाकोलागि टहरा निर्माण गरिदिए।त्यसैगरी होप धरान जस्ता संस्थाहरुले कुरुवाहरूकोलागि स्वच्छ खाना वितरण गरे जसले आफूले गर्नुपर्ने कर्तव्यबाट स्थानीय निकायलाई निकै राहत पुगेको थियो।
हालसम्म विश्वमा ३८लाख भन्दा बढी मानिसहरूको मृत्यु यही महामारीबाट भएको छ भने नेपालमा हालसम्म साढे आठ हजार बढीले ज्यान गुमाइ सकेका छन्। बिश्व भरि नै हाहाकार मच्चिएको कोरोना भाइरसको दोस्रो लहरबाट जोगिन नेपाल सरकारले बिश्व स्वास्थ्य संगठनको आधारभुत मापदण्डको पालना साथै देशैभरि निषेधाज्ञा जारी गराएको सय दिन पुग्न लागेको छ । आमनागरिकमा असन्तुष्टि पनि उत्तिकै छदैंँछ।विश्व मानव जगतलाई तहसनहस बनाउँदै अघि बढेको कोभिड–१९महामारीले नेपाललाई नराम्ररी गाँजेको छ। धरान लगायत घना बस्तीका सहर बजारहरु गाउंबस्तिको तुलनामा त्राहिमाम छन्।
धरान उपमहानगरले कडाईका साथ लकडाउन गर्दैआत्मबल उच्च बनाउन सल्लाह दिने गरेको छ।संक्रमण भै मरेकाको लागि धरान-१५ ,बाँझगरा सामुदायिक बन स्थित सेउति खोलाको डिलमा दाहसंस्कार स्थल समेत निर्माण गरेको छ।अक्सिजनको अभाव पूरा गर्न नसक्नु, अस्पतालको उपचारमा ढिलाइ गर्ने प्रणालीले संक्रमितको मृत्युदर बढ्दै गरिरहेकोले गुनासोप्रति स्थानीय निकायले चासोका साथ निर्देशन र सहयोग पुर्याउनु पर्ने जरुरी रहेको छ। धरान उपमहानगरपालिकाले जेठ २५गतेदेखि ३ दिन कोभिड १९ विरुद्धको खोप भेरोसिलअभियान सञ्चालन गरेको थियो। सुनसरीभर ४ हजार ५ सयले खोप लगाएका थिए।
सरकारको आ.ब.०७८/०७९ को बजेटमा स्वास्थ क्षेत्र प्राथमिकतामा परेको छ। खोप ब्यबस्थापन,अक्सिजन प्लान्ट , औषधिको सहजआपूर्ति गर्ने भनिएको छ ।प्रदेश १ ले समेत स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै ३ अर्ब २५ करोडको बजेट छुट्याएको छ।
अक्सिजनको अभाव पूरा गर्न नसक्नु, अस्पतालको उपचारमा ढिलाइ गर्ने प्रणालीले संक्रमितको मृत्युदर बढ्दै गरिरहेकोले गुनासोप्रति स्थानीय निकायले चासोका साथ निर्देशन र सहयोग पुर्याउनु पर्ने जरुरी रहेको छ।स्थानीय निकायले कोरोना पिडितहरूको लागि उल्लेख्य काम गरेको बताइरहँदा जनस्तरबाट असन्तुष्टि पनि देखिएको छ।यति हुँदाहुँदै पनि नगर र वडाले सबै नगरवासिहरुसंग सहकार्यको हात बढाउने र कोरोना महामारी विरुद्ध लड्न, सबै बांँच्न र सबैलाई बचाउन हातेमालो गर्नुपर्ने, अहिलेको जटिल परिस्थिति कोरोना महामारीको चोटमा स्थानीय निकाय साँच्चै मल्हम बन्नुपर्ने कर्तव्य टढ्कारो रुपमा रहेको छ ।